+
+

इच्छाकामनाका २२ चेपाङ परिवारलाई नयाँ घर उपहार

रासस रासस
२०८१ असार २६ गते ६:४९

२६ असार, भरतपुर । चेपाङ आवास कार्यक्रमअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकामा २२ घर निर्माण भएका छन् ।

सङ्घीय सरकारको एक करोड ५० लाख सशर्त अनुदानबाट विपन्न ती समुदायका आवास निर्माण भएका हुन् ।

मङ्गलबार गाउँपालिकाको वडा नं ७ मा आयोजित कार्याक्रममार्फत गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले सबै वडामा निर्माण भएका घरको साँचो हस्तान्तरण गरे ।

साँचो हस्तान्तरण गर्दै उनले गाउँपालिकाका सात वडामा आर्थिक अवस्था कमजोर भएका चेपाङ समुदाय छनोट गरेर घर निर्माण गरिएको बताए । ‘पालिकाले  चेपाङ समुदायको घर निर्माणको योजना बनाएर  सरकारलाई अनुरोध गरेपछि अनुदान प्राप्त भएको हो’, उनले भने, ‘टोल र वडाको छनोटका आधारमा उनीहरुको घर निर्माण गरेका हौं ।’

अध्यक्ष गुरुङले निर्माण सम्झौताअघि घर र उनीहरुको अवस्थाबारे स्थलगत अनुगमनसमेत गरिएको बताए । ‘घडेरी सम्याउने र जग खनेर ढुङ्गा हाल्ने काम सम्बन्धित लाभग्राहीको हो’, उनले भने, ‘अरु सबै गाउँपालिकाले निर्माण गरिदिएको छ ।’

उनले गाउँपालिकाले खरको छाना भएका र आर्थिक अवस्था कमजोर भएका चेपाङ परिवारलाई टिनको छानाको व्यवस्था गरेको जानकारी दिए ।

गाउँपालिकाको वडा नं १ मा पाँच, वडा नं २ मा दुई, वडा नं ३ मा दुई, वडा नं ४ मा दुई, वडा नं ५ मा दुई, वडा नं ६ मा तीन र वडा नं ७ मा छवटा घर निर्माण गरिएको छ ।

गाउँपालिका उपाध्यक्ष माया सिलवाल धेरैको आकाङ्क्षा भए पनि बिहान-बेलुका हातमुख जोर्न पनि समस्या हुनेको पहिचान गरेर घर निर्माण गरिएको बताइन् । उनले समयमै काम सम्पन्न गर्ने निर्माण कम्पनीलाई धन्यवाद दिइन् ।

गाउँपालिकाले आगामी आर्थिक वर्षमा पनि चेपाङ आवास कार्यक्रमलाई निरन्तरता दिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिए ।

उनले घर नभएका र खरको झुप्रोमा बस्दै आएकाहरूलाई प्राथमिकतामा राखेर घर निर्माण गरिने बताए ।

पालिकाले आगमी आवका लागि तीन करोड ३० लाख बजेट विनियोजन गरेको उनले जानकारी दिए ।

वर्षाैंदेखि खरको झुप्रोमा बस्दै आएका इच्छाकामना-७ सुन्दरबस्तीका अइतराम प्रजा घामपानीमा अन्यको घर ओत लाग्न जानुपर्ने अवस्थाको अन्त्य भएको बताउँछन् ।

उनले पालिकाले दुई कोठाको घर निर्माण गरिदिएपछि खुसी लागेको जनाउँदै अब जीवनयापनमा सहज हुने बताए ।

इच्छाकामना-१ कोलभन्ज्याङका अरसल चेपाङले भूकम्पले पुरानो घर भत्किएपछि छाप्रामा बस्दै आएको बताए ।

उनले बर्खामा पानी चुहिने र हिउँदमा हुरीबतास र आगलागीको डर अब अन्त्य भएकामा खुसी व्यक्त गरे । ‘गाउँपालिकाले घर बनाइदिएपछि निकै खुसी छौँ, छजनाको परिवार एउटै कोठामा बस्नुपर्ने बाध्यता अन्त्य हुने भएको छ’, उनले भने ।

इच्छाकामनामा दुई हजार पाँच सय चेपाङ परिवारको बसोबास छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?