+

फाइनल पुग्नका लागि प्रतिस्पर्धा गर्दै नेदरल्याण्ड्स र इंग्ल्याण्ड

२०८१ असार  २६ गते १०:४८ २०८१ असार २६ गते १०:४८
फाइनल पुग्नका लागि प्रतिस्पर्धा गर्दै नेदरल्याण्ड्स र इंग्ल्याण्ड

२६ असार, काठमाडौं । युरो २०२४ को दोस्रो सेमिफाइनलमा नेदरल्याण्ड्स र इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल नेपाली समय अनुसार मध्यराति १२:४५ बजे बर्लिनमा हुनेछ ।

नेदरल्याण्ड्सले क्वाटरफाइनलमा टर्कीलाई २-१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो । उता इंग्ल्याण्डले भने स्विट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमा ५-३ ले हराएर अन्तिम चारमा पुगेको हो ।

यसपटक इंग्ल्याण्ड उपाधिको मुख्य दाबेदार रहेपनि त्यो अनुसारको प्रदर्शन गर्न सकेको छैन । यसअघि २०२१ मा आफ्नै देशमा भएको युरो फाइनलमा इटलीसँग पेनाल्टी सुटआउटमा पराजित भएको इंग्ल्याण्ड लगातार फाइनलमा पुग्ने लक्ष्यमा छ ।

इंग्ल्याण्डले अहिलेसम्म युरो जित्न सकेको छैन ।

उता नेदरल्याण्ड्सले सन् १९८८ मा युरो जितेको थियो । नेदरल्याण्ड्स २० वर्षपछि युरोमा सेमिफाइनल खेल्दैछ । यसअघि सन् २००० र २००४ मा सेमिफाइनल पुगेको नेदरल्याण्ड्स त्यो बेला पराजित भएको थियो ।

मुख्य प्रतियोगिता इंग्ल्याण्ड र नेदरल्याण्ड्स चौथो पटक भिड्न लागेको हो । यसअघि सन् १९८८ को युरोमा नेदरल्याण्ड्सले इंग्लयाण्डलाई ३-१ ले पराजित गरेको थियो भने १९९६ को युरोमा इंग्ल्याण्डले नेदरल्याण्ड्सलाई ४-१ ले पराजित गरेको थियो ।

१९९० को विश्वकपमा यी दुई टोलीले गोलरहित बराबरी खेलेका थिए ।

यी दुई टोली अहिलेसम्म समग्रमा २२ पटक आमने-सामने हुँदा नेदरल्याण्ड्सले ७ खेल जितेको छ भने इंग्लयाण्ड ६ खेलमा विजयी भएको छ ।

यस्तै ९ खेल बराबरीमा सकिएको छ ।

यस्तो छ दुई टिमको सेमिफाइनल यात्रा

इंग्ल्याण्ड

उपाधि दाबेदार इंग्लयाण्ड समूह सी को विजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेको थियो । इंग्ल्याण्डले पहिलो खेलमा सर्बियालाई १-० ले पारजित गर्दै युरो यात्रा सुरु गरेको थियो ।

त्यसपछि भने इंग्ल्याण्डले दुई खेलमा लगातार बराबरी खेल्यो । डेनमार्कविरुद्ध १-१ तथा स्लोभाकियाविरुद्ध गोलरहित बराबरीमा रोकिएको थियो ।

प्रिक्वाटरफाइनलमा स्लोभेनियालाई अतिरिक्त समयमा २-१ ले पराजित गरेको थियो । यस खेलमा इंग्लयाण्ड हार नजिक पुगेका बेला जुड बेलिङघमले अन्तिम मसमया गोल गर्दै खेल बराबरी गरेका थिए भने अतिरिक्त समयमा ह्यारी केनले विजयी गोल गरेका थिए ।

क्वाटरफाइनलमा इंग्लयाण्डले स्विट्जरल्याण्ड पेनाल्टी सुटआउटमा ५-३ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो ।

इंग्ल्याण्डका लागि अहिलेसम्म कप्तान केन र बेलिङघमले समान २ गोल गरेका छन् ।  युवा खेलाडी कोल पाल्मर हेर्न लायक खेलाडीको रुपमा छन् । तर, बेलिङघमको प्रदर्शनमा इंग्लयाण्ड धेरै निर्भर रहेको छ ।

नेदरल्याण्ड्स

नेदरल्याण्ड्स समूह डी मा तेस्रो स्थानमा रहेर नकआउट चरणमा पुगेको थियो । समूह चरणमा डच टोलीको प्रदर्शन मिश्रित रहे ।

पहिलो खेलमा पोल्याण्डलाई २-१ ले पारजित गर्दै राम्रो सुरुआत गरेपनि त्यसपछि भने नेदरल्याण्ड्सले फ्रान्ससँग गोलरहित बराबरी खेल्यो । समूहको अन्तिम खेलमा अष्ट्रियासँग अप्रत्यासित रुपमा ३-२ ले पराजित हुँदा नेदरल्याण्ड्स समूह डी मा तेस्रो भयो । तर तेस्रो हुनेमध्ये उत्कृष्ट चारमा रहँदै नकआउट चरणमा पुगेको नेदरल्याण्ड्सले अन्तिम १६ मा रोमानियालाई सहजै ३-० ले पराजित गर्‍यो ।

क्वाटरफाइनलमा निर्धारित मसमयै नतिजा निस्किएको एक मात्र खेलमा नेदरल्याण्ड्सले टर्किएलाई  २-१ ले पराजित गर्दै २००४ पछि युरोमा सेमिफाइनलमा स्थान बनाएको हो ।

नेदरल्याण्ड्सका कोडी गाक्पोले अहिलेसम्म ३ गोल गरेका छन् । ३ गोल गर्ने अन्य खेलाडीको टोली बाहिरिसकेकोले गाक्पोसामु सर्वाधिक गोलकर्ता बन्ने अवसर पनि छ । त्यसमा गाक्पोलाई इंग्लयाण्डका केन र बेलिङघमले चुनौती दिन सक्छन् ।

युवा खेलाडी जावी सिमोन्स डच टोलीका हेर्न लायक खेलाडीका रुपमा छन् । उनले जारी युरोमा ३ असिस्ट समेत गरिसकेका छ ।

युरो २०२४
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय