+
+

एमालेले केन्द्रीय सदस्यलाई आफ्नै निर्वाचन क्षेत्रको जिम्मा दिने

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २६ गते १४:०२

२६ असार, काठमाडौं । नेकपा एमालेले केन्द्रीय सदस्यहरुलाई आफ्नै निर्वाचन क्षेत्रको जिम्मेवारी दिने भएको छ । बुधबार बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय सदस्यलाई आफ्नै भूगोलमा फर्काउने निर्णय गरेको छ ।

गत वर्ष एमालेले केन्द्रीय सदस्यहरुलाई आफ्नो भूगोल भन्दा बाहिर जिम्मेवारी दिएको थियो । एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार अब केन्द्रीय सदस्यहरुलाई आफ्नै भूगोलमा फर्काइनेछ र सबैभन्दा तल्लो इकाइका रुपमा प्रतिनिधिसभा निर्वाचन क्षेत्रको जिम्मेवारी दिइनेछ ।

‘नयाँ कार्यविभाजनको आधार हामीले केन्द्रीय सदस्यहरुलाई सबैभन्दा तल्लो इकाइका रुपमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रको जिम्मा (त्यो भन्दामाथिको जिम्मेवारी लिनेले जिल्ला वा प्रदेशको पनि लिन सक्ने हुनुभयो) सबैभन्दा आधारभूत इकाइ निर्वाचन क्षेत्र समन्वय  कमिटीलाई आधार बनाएर कार्यविभाजन गर्नेछौं’, उनले भने ।

यो कार्यविभाजन भने आगामी बैठकले गर्नेछ ।

केन्द्रीय सदस्यलाई निर्वाचन क्षेत्रको जिम्मेवारी दिएपछि प्रदेश कमिटीले स्थानीय तहलाई र जिल्ला कमिटीले वडालाई आधार बनाएर नेताहरुको कार्यविभाजन गर्ने उपमहासचिव ज्ञवालीले बताए ।

‘अब प्रदेशले आफ्ना सदस्यको कार्यविभाजन गर्दा पालिकालाई आधार बनाउनेछ, जिल्लाले वडालाई आधार बनाउनेछ, पालिकाले कार्यविभाजनको आधार टोललाई बनाउनेछ र टोल कमिटीले त्यो टोलभित्र रहेको प्रत्येक घरको हिसाबले कार्यविभाजन गर्ने गरी मापदण्ड निर्धारण गरेका छौं’, उपमहासचिव ज्ञवालीले भने ।

त्यस्तै साउन महिनाभित्र पार्टी सदस्यता नवीकरण गरेर भदौसम्म संगठन विभागबाट प्रमणीकरण गरिसक्न एमालेले जिल्ला कमिटीहरुलाई निर्देशन दिएको छ ।

हालसम्म अधिवेशन हुन नसकेका ११ वटा जिल्ला कमिटीलाई कात्तिकभित्र अधिवेशन गरिसक्ने निर्देशन दिएको छ । त्यस्तै निर्वाचन क्षेत्र समन्वय कमिटीलाई प्रभावकारी बनाउन २० प्रतिशत सदस्य मनोनयन गर्न र सचिवालय समिति बनाउन पाउने निर्णय गरेको उपमहासचिव ज्ञवालीले बताए ।

सचिवालय बैठकले पार्टीको सहकारी तथा गरिबी निवारण विभागको सचिवको जिम्मेवारी परितोष पौडेललाई दिएको छ । त्यस्तै भूमि व्यवस्था विभागमा सचिवको जिम्मेवारी विजय सुवेदीलाई दिइएको उपमहासचिव ज्ञवालीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?