+
+

लेखाको चासोपछि रोकियो रिलायन्स स्पिनिङको आईपीओ

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २६ गते १४:५१

२६ असार, काठमाडौं । अन्ततः नेपाल धितोपत्र बोर्डले रिलायन्स स्पिनिङ मिल्सको आईपीओ निष्कासन कार्य स्थगित गराएको छ । रिलायन्सले भोलि बिहीबारदेखि वैदेशिक रोजगारमा रहेकाहरूका लागि आईपीओ निष्कासन गर्ने तयारी गरेको थियो ।

तर, संघीय संसदको सार्वजनिक लेखा समितिले रिलायन्सको वित्तीय विवरण र आईपीओ निष्कासनबारे केही जवाफ माग गरेपछि बोर्ड सञ्चालक समितिले हाललाई आईपीओ निष्कासन कार्य स्थगित गर्ने निर्णय गरेको हो ।

बोर्डका प्रवक्ता तथा कार्यकारी निर्देशक नवराज अधिकारीले  लेखाको ध्यानाकर्षण भएपछि रिलायन्सको आईपीओ हाललाई स्थगित भएको जानकारी दिए ।

‘लेखाले प्रश्न गरिसकेपछि हाम्रा सबै विभागसँग यसबारे छलफल भयो, सञ्चालक समितिमा जानकारी गरायौं, त्यसपछि सञ्चालक समितिले आईपीओ निष्कासन कार्य हाललाई स्थगित गर्ने निर्णय गरेको हो,’ अधिकारीले भने । यससँगै कम्पनीको आईपीओ निष्कासन कार्य अनिश्चित बनेको छ ।

रिलायन्स स्पिनिङको वित्तीय विवरण शंकास्पद देखिएपछि लेखाले बोर्डसँग ७ दिनभित्र जवाफ मागेको छ । ‘गत आर्थिक वर्षमा प्रतिसेयर आम्दानी ५४ रुपैयाँ ३४ पैसा रहेको कम्पनीले उल्लेख गरेको थियो, तर अहिले एक वर्ष नपुग्दै उक्त आम्दानी घटेर २ रुपैयाँ ८ पैसामा सीमित भएको छ । यसअघि वित्तीय विवरण तयार गर्दा म्यानुपुलेसन भएको अनुमान गर्न किन नसकिने ?,’ लेखाको प्रश्न छ ।

बुक बिल्डिङका लागि बिड गर्न योग्य संस्थागत लगानीकर्ताको उक्त कम्पनी वा कम्पनीका सञ्चालकसँग स्वार्थ बाझिएको छ छैन भन्ने विषयमा लेखाले प्रश्न गरेको छ । साथै संस्थागत लगानीकर्ताले कति मूल्यमा कति कित्ता सेयरका लागि आवेदन दिएका थिए, उक्त विवरण पनि लेखाले माग गरेको छ । यसबारे नेपाल धितोपत्र बोर्डको धारणा समेत माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?