+

एन्डोमेट्रियोसिस : महिनावारीको दुखाइदेखि निःसन्तानपनको कारक 

२०८१ असार  २६ गते १६:३१ २०८१ असार २६ गते १६:३१
एन्डोमेट्रियोसिस : महिनावारीको दुखाइदेखि निःसन्तानपनको कारक 

काठमाडौं । काठमाडौंको चाबहिल बस्ने २७ वर्षीया सीता पौडेल (नाम परिवर्तन) लाई महिनावारीमा अत्यधिक पीडा हुन्थ्यो । उनले शरीर दुब्लो र पोषणको कमीका कारण कमजोरीले दुखेको होला भनेर सहेर बस्थिन् ।

उनको अहिले विवाह भएको दुई वर्ष भइसक्यो । पौडेलले कैयौं प्रयास गरेपनि गर्भ नरहेपछि उनी पुगिन्, काठमाडौंको वात्सल्य नेचुरल आईभीएफ सेन्टर । उक्त किल्निकमा लक्षणअनुसारको स्वास्थ्य परीक्षणपछि उनलाई एन्डोमेट्रियोसिसको समस्या भएको पत्ता लाग्यो । अहिले उनको हर्मोनल उपचार भइरहेको छ ।

यता भक्तपुर बस्ने २२ वर्षीया अविवाहित मिनु चौधरी (नाम परिवर्तन) लाई महिनावारीको समयमा चार दिन नै बेड रेस्ट गर्नुपर्ने समस्या थियो ।

उनलाई अत्यधिक पेट दुख्ने, रक्तस्राव पनि अत्यधिक हुने र औषधि खाँदा पनि ठीक नहुने हुन्थ्यो । जसकारण महिनाको चार दिन सधैं कलेज छुट्थ्यो । अति नै भएपछि उनले भक्तपुरस्थित मध्यपुर अस्पतालमा प्रसूति विभागमा देखाइन् । जसमा अल्ट्रासाउन्ड गरेर हेर्दा एन्डोमेट्रियोसिस भएकै पत्ता लाग्यो ।

विश्वव्यापी रूपमा १० प्रतिशत महिला तथा युवतीमा यो समस्या रहेको छ । र, निःसन्तानपनको समस्या हुने ५० प्रतिशतमा पनि एन्डोमेट्रियोसिस भएको देखिने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को तथ्यांकले देखाउँछ ।

वात्सल्य नेचुरल आईभीएफ सेन्टरमा कार्यरत प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. उपमा बस्नेत पनि क्लिनिकमा निःसन्तानपनको समस्या लिएर आउने महिलामध्ये ३० देखि ५० प्रतिशतमा स्वास्थ्य परीक्षण गराउँदा एन्डोमेट्रियोसिसको समस्या देखिने गरेको बताउँछिन् ।

यो समस्याको जति छिटो पहिचान भयो त्यति छिटो उपचार हुनसक्ने भएपनि यो रोगबारे जानकारी नहुँदा आजीवन महिलाहरू पीडादायी जीवन बिताइरहेको उनी बताउँछिन् ।

एन्डोमेट्रियोसिस कस्तो समस्या हो ?

डा. बस्नेतका अनुसार गर्भाशयको भित्री तहलाई रेखा दिने तन्तुलाई एन्डोमेट्रियम भनिन्छ । तर यो अनावश्यक रुपमा गर्भाशयको बाहिर बढ्न थाल्यो भने यसलाई एन्डोमेट्रियोसिस भनिन्छ । यो समस्या किशोरकिशोरी तथा युवतीहरूमा देखिने र लामो समयसम्म सताउन सक्ने उनी बताउँछिन् ।

एन्डोमेट्रियोसिसले नै गर्भ रहेपछि सुरुको चरणमा भ्रूण बन्न सुरक्षा दिन्छ ।

‘जब एन्डोमेट्रियम गर्भाशयको बाहिर फैलिएर एन्डोमेट्रियोसिस बन्छ, तब यो समस्या बन्न सक्छ,’ उनी भन्छिन्, ‘एन्डोमेट्रियोसिस तन्तु एकदम नाजुक र संवेदनशील हुन्छ । र, महिनावारीको समयमा सुन्निन सक्छ । जुन फैलिएर पाठेघर, मूत्राशय वा पेटभित्र यसले ओभरियन सिस्ट (मासुको डल्ला), गहिरो गाँठो बनेर बस्न पनि सक्छ ।’

यो समस्याले २५ देखि ४० वर्ष उमेरका महिलालाई सताउन सक्छ । कसैलाई किशोरावस्थामा पनि सताउन सक्छ । जुन रजोनिवृत्तिपछि केही राहत मिल्न सक्ने डा. बस्नेत बत्ताउँछिन् ।

कारण तथा लक्षण

डा. बस्नेतका अनुसार यो समस्याको कारण अहिलेसम्म पत्ता लागिसकेको छैन । जहाँसम्म लक्षणको कुरा छ, यसको सबैभन्दा मुख्य लक्षण भनेको दुखाइ हो ।

‘मध्यमदेखि तीव्र दुखाइ तल्लो पेट, ढाडमा बढी अनुभव हुन्छ । यद्यपि कतिपय महिलाले यो समस्या भएपनि लक्षण अनुभव गर्दिनन् । जब गर्भधारणमा समस्या आउँछ । तब परीक्षणपछि यो समस्या भएको पत्ता लाग्न सक्छ,’ उनी भन्छिन् ।

केही अन्य लक्षण

– महिनावारीमा अत्यधिक पेट तथा शरीर दुखाइ

– महिनावारीमा रक्तस्राव तुलनात्मक रुपमा बढी हुनु वा महिनावारीको बीचमा हल्का दाग देखिनु

– यौन सम्बन्ध राख्दा दुख्नु

– गर्भ रहन समस्या हुनु

– महिनावारी अनियमित हुनु

कतिको गम्भीर समस्या हो ?

एन्डोमेट्रियोसिसको समस्यालाई गम्भीर समस्याकै रूपमा लिनुपर्ने डा. बस्नेत बताउँछिन् ।

‘यो समस्या भएको महिला वा किशोरीको दैनिकीलाई नै प्रभावित गर्न सक्छ । किनकि यसमा लामो समयसम्म पेट र कम्मरमुनिको भाग दुख्ने, महिनावारी अनियमित हुनेदेखि निःसन्तानपनको समस्यासम्म ल्याउन सक्छ,’ उनी भन्छिन् । तर यो समस्याको समयमा पहिचान भए व्यवस्थापन र उपचार सम्भव रहेको उनी बताउँछिन् ।

पहिचान

यसको पहिचान लक्षण र मेडिकल इतिहासको आधारमा गरिन्छ । शंका भएमा अल्ट्रासाउन्ड गरेर हेरिन्छ । त्यसबाट पनि स्पष्ट नभए एमआरआई गरिन्छ ।

उपचार

यो उपचारका लागि चिकित्सकले उमेर, लक्षण, सन्तानको योजना र एन्डोमेट्रियोसिसको अवस्थाअनुसार अगाडि बढिन्छ । कतिपय अवस्थामा दुखाइ र प्रजनन् क्षमता सुधारका लागि औषधि उपचार र शल्यक्रिया गरिन्छ ।

केही दुखाइ व्यवस्थापन र हर्मोन थेरापीले पनि यसको लक्षण कम हुनसक्छ । जुन चिकित्सकको सल्लाहमा मात्र लक्षणको आधारमा दिइन्छ । एन्डोमेट्रियोसिसको आकारप्रकार बढेको छ भने शल्यक्रिया गरेर निकालिन्छ । जसमा अहिले विना चिरफार ल्याप्रोस्कोपी, इन्टरभेन्सनल पद्धति र शल्यक्रियाको सुविधा नेपालमा छ ।

कतिपय महिलालाई एउटै शल्यक्रियापछि आराम मिल्छ भने कसैलाई तीन-चारवटा शल्यक्रिया गर्नुपर्ने हुन्छ ।

समयमा उपचार नगर्दा के हुनसक्छ ?

यदि यसको उपचार नगरी बेवास्ता गरी बस्दा यसले केही दीर्घकालीन समस्या ल्याउने हुँदा लक्षण देखिने बित्तिकै उपचार गर्नुपर्ने डा. बस्नेत बताउँछिन् ।

उनका अनुसार यदि उपचार नगरी छाडियो भने महिनावारीमा कम्मर तथा पेट दुख्ने र पछि दुखाइ निवारक औषधिले पनि नछुने, बाँझोपन र यौन सम्बन्ध राख्न पनि पीडाकै कारण समस्या हुन्छ ।

सन् २०२० मा अस्ट्रेलियन अनुसन्धानकर्ताले गरेको एक अध्ययनअनुसार महिनावारीमा दुखाइको पीडा त छँदैछ, यसले यौन सम्बन्धमा पनि दक्खल दिन्छ । यो समस्या भएका धेरैजसो महिलाले यौन सम्पर्क राख्दा दुख्ने हुँदा यौन सुख प्राप्त गर्न सक्दैनन् । जसले बिस्तारै यौनइच्छामा कमी ल्याउने र बिस्तारै दुखाइ र प्रजनन् क्षमता कमजोर भएकै कारण मानसिक स्वास्थ्यमा समेत प्रभाव पार्न सक्छ ।

अर्को जोखिम भनेको वर्षौंसम्म उपचार नगरेमा पेट तथा पाठेघरका अंगहरुमा क्षति पुर्‍याउन सक्छ । किनकि पेट तथा पाठेघरसँग यो इन्डोमेट्रियोसिस जोडिएर बसेको हुनसक्छ ।

एन्डोमेट्रियोसिस महिनावारी
लेखक
मनिषा थापा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

बढ्दो उमेरसँगै खानपानमा परिवर्तन गर्नु किन जरुरी छ ?

बढ्दो उमेरसँगै खानपानमा परिवर्तन गर्नु किन जरुरी छ ?

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?