
२६ असार, काठमाडौं । सहकारी संस्थाको बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले जेलमा रहेका सहकारीका सञ्चालकहरुसँग सोधपुछ गर्ने भएको छ ।
बुधबार सहकारी पीडितहरुसँगको छलफलमा बोल्दै सभापति सूर्य थापाले जेलमा भएका सहकारी सञ्चालकहरुलाई पनि सोधपुछ गरी तथ्य प्रमाणहरु खोज्ने बताएका हुन् ।
‘हामीले सबै सहकारीका समस्या बारेमा जानकारी लिने अन्तिमतिर छौं । जेलमा भएका सहकारी सञ्चालकहरुसँग पनि कानुन अनुसार रहेर सोधपुच्छ गर्छौं । विदेशमा भागेर बसेकाहरुलाई पनि नेपालमा ल्याउन प्रधानमन्त्रीलाई भन्छौं’, उनले भने ।
वचत रकम हिनामिना गरेको भन्दै सहकारीका वचतकर्ताले दिएको उजुरीका आधारमा कतिपय सहकारीका सञ्चालक दोषी ठहर भएर र कतिपय पुर्पक्षका लागि थुनामा छन् ।
सभापति थापाले एउटै व्यक्तिले विभिन्न शहरमा छुट्टाछुट्टै सहकारी सञ्चालन गरेको पाइएको भन्दै कानुनमा रहेको छिद्रहरुको पनि खोजी गर्ने बताए ।
‘राज्यका निकायहरुले किन लापरबाही गरे भनेर पनि हेरेका छौं । एउटै मान्छे चितवनमा कोषाध्यक्ष, पोखरामा अध्यक्ष र नेपालगञ्जमा उपाध्यक्ष, अर्को ठाउँमा ऋण समितिको सदस्य भएको छ । यसरी सहकारीको चेन कसरी बन्यो भन्ने बारे गम्भिर भएका छौं’, उनले भने ।
वचत रकम हिनामिना गर्ने उद्देश्यले नै सहकारी सञ्चालन गरेको पनि पाइएको थापाले बताए ।
‘सहकारी समस्या वास्तविक सहकारीको कारणले होइन । सहकारीका माध्यमबाट बचतको अपचलन, ठगी गर्ने नियतका साथ आएका केही सहकारीका कारणले समस्या आएको छ । समितिले पनि यही कुरामा बढी केन्द्रित भएर आएका तथ्यहरुलाई केलाइरहेका छौं’, उनले भने ।
प्रतिक्रिया 4