+
+

अर्थमन्त्रीमा एमालेबाट विष्णु पौडेलको सम्भावना

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २६ गते २०:०५

२६ असार, काठमाडौं । कांग्रेसको समर्थनमा बन्न लागेको केपी ओली नेतृत्वको मन्त्रिपरिषद्‍मा को को जाँदैछन् भन्ने टुंगो लागिनसके पनि दुवै पार्टीमा यसबारे चर्चा बाक्लिएको छ ।

एमालेबाट अर्थमन्त्रीमा उपाध्यक्ष विष्णु पौडेल जाने पक्का रहेको पार्टी उच्च नेतृत्वले जानकारी दियो ।

चुनाव जितेको सांसद हुनुपर्ने, अनि अहिले देखिएको संकट टार्न भूमिका खेल्न सक्ने नेता नै मन्त्री बन्ने मापदण्ड बनाएको अवस्थामा एमालेबाट पौडेल निर्विकल्प रहेको पार्टी स्रोतले बतायो ।

पार्टीले व्यक्तिका बारेमा औपचारिक निर्णय भने गरेको छैन । यद्यपि अध्यक्ष केपी ओलीले आफ्नो अनौपचारिक तयारी र परामर्श गरिरहेका छन् ।

पौडेललाई यसअघि एमाले–माओवादी गठबन्धनमा पठाउन खोजिए पनि उनी तयार भएका थिएनन् । यसअघि ओलीकै मन्त्रिपरिषद्मा ०७७ असोजमा पौडेल अर्थमन्त्री बनेका थिए । ०७९ को आम चुनावलगत्तै प्रधानमन्त्री प्रचण्डको मन्त्रिपरिषद्मा उनी फेरि अर्थमन्त्री थिए । कांग्रेससँग माओवादीको समीकरण बनेलगत्तै उनी ६४ दिनमै बाहिरिएका थिए ।

‘सचिवालय बैठकले मन्त्री बन्ने मापदण्ड र प्राथमिकताबारे धारणा बनाएको छ’, एक पदाधिकारीले भने, ‘चुनाव जितेर सांसद भएका, अनि सरकारमा गएर राष्ट्रिय संकटका बेला पर्फमेन्स गर्न सक्ने व्यक्तिकै खोजी भइरहेको छ । अर्थमन्त्रीमा विष्णुजीको नाम आवश्यक र स्वभाविक दुवै हो भनेर पार्टीमा कुरा भएको छ ।’

उपाध्यक्ष पौडेलले भने आफू अर्थमन्त्री बन्ने कुरा थाहा नभएको बताए । ‘कतै चर्चा या आकलन भएको होला, तर मलाई थाहा भएन’, उनले भने, ‘अहिलेसम्म एमालेबाट एउटै मन्त्री पक्का हो, प्रधानमन्त्री । बाँकी समय आएपछि थाहा भइहाल्छ ।’

एमालेबाट अर्थमन्त्री बन्न सक्ने सम्भावित पात्रमा महासचिव शंकर पोखरेल, नेता सुरेन्द्र पाण्डे लगायत भए पनि उनीहरु संसद सदस्य नरहेकाले पौडेल निर्विकल्पजस्तै बन्न गएका हुन् । प्रचण्डको मन्त्रिपरिषद्‍मा एमालेले कम अनुभव र एक्सपोजर भएका पात्रहरु पठाए पनि यसपल्ट त्यसो नगर्ने संकेत गरेको छ । ‘अनुभवी र परिस्थिति झेल्न सक्ने, परिणाम दिन सक्ने पात्र नै जान्छ, कुनै कमजोरी गर्दैनौं’, ती नेताले भने ।

एमाले कार्यालयभित्र विभिन्न केन्द्रीय विभागहरुले आफ्नो भागमा सम्बन्धित मन्त्रालय पार्न लबिइङ बढाएका छन् । बुधबार बैठक राख्दै स्वास्थ्य विभागले एमालेको भागमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पर्नुपर्ने भन्दै नेताहरुलाई अपिल गरेको थियो । अरु विभाग र व्यक्तिहरुले पनि नेतृत्वसँग दबाब बढाउन थालेको पार्टीस्रोतले बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?