+

फाइनल पुगेपछि अर्जेन्टिनाका प्रशिक्षकले भने : यो गुलाबको ओछ्यान होइन

२०८१ असार  २६ गते १७:२६ २०८१ असार २६ गते १७:२६
फाइनल पुगेपछि अर्जेन्टिनाका प्रशिक्षकले भने : यो गुलाबको ओछ्यान होइन

२६ असार, काठमाडौं । अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले कोपा अमेरिका २०२४ को फाइनलसम्मको यात्रा सजिलो नभएको बताएका छन् ।

बुधबार बिहान भएको पहिलो सेमिफाइनलमा साविक विजेता अर्जेन्टिनाले क्यानडालाई २-० ले पराजित गर्दै लगातार कोपाको फाइनलमा स्थान बनाएको हो । अर्जेन्टिनाका लागि जुलियन अल्भारेज र कप्तान लिओनल मेसीले गोल गरे ।

४८औं वरियतामा रहेको क्यानडाले पहिलो वरियतामा रहेको अर्जेन्टिनालाई स्तब्ध पार्ने योजना बनाए पनि पूरा गर्न सकेन ।

तर अर्जेन्टिनाको खेल खेल सहज नभएको प्रशिक्षक स्कालोनीले बताए । ‘फाइनलसम्मको यात्रा एकदमै कठिन थियो । यो कठिन थियो किनकी त्यहाँ पुग्न कति गाह्रो हुन्छ हामीलाई थाहा थियो’, स्कालोनीले रिपोर्ट्ससँग भने ।

उनले अगाडि भने, ‘सबैले सोच्छन् यो गुलाबको ओछ्यान हो तर त्यस्तो होइन । क्यानडाले कठिन विपक्षी भएको कुरा आज  प्रमाणित गरिसकेको छ’, उनले भने ।

अर्जेन्टिनाका लागि कप्तान मेसीसहित धेरै सिनियर खेलाडीको यो अन्तिम कोपा हुन सक्छ । त्यसैले पनि अर्जेन्टाइन टिम यस पटक जसरी पनि कोपा जित्दै उनीहरुको बिदाइ सुखद बनाउन चाहन्छ ।

३६ वर्षीय एन्जल डि मारियाले गत वर्ष नै कोपा अमेरिकापछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने बताइसकेका छन् । ३७ वर्षीय मेसी र ३६ वर्षीय निकोलस ओटामन्डी पनि करियरको अन्त्यतिर छन् ।

‘तपाईंलाई थाहा छ एन्जल डि मारियाका लागि म के महसुस गर्छु भनेर । हामी उनले आवश्यकता भन्दा चाँडै सन्यास लिउन् भन्ने चाहन्नौँ’, स्कालोनीले भने ।

यस्तै लिओनल मेसीको हकमा पनि स्कालोनीको उस्तै भनाइ छ । ‘लियो (मेसी) को हकमा पनि डि मारिया जस्तै हो । हामीले उसलाई कहिल्यै ढोका बन्द गर्ने गर्ने छैनौँ । उनी जबसम्म चाहन्छन् हाम्रो टोलीसँग रहन सक्छन्’, उनले भने ।

अर्जेन्टिनाले आइतबार हुने फाइनलमा कोलम्बिया र उरुग्वेबीचको खेलको बिजेतासँग खेल्नेछ । कोलम्बिया २७ खेलसम्म अपराजित छ भने उरुग्वेले अर्जेन्टिनासमान सर्वाधिक १५ पटक कोपा जितेको छ ।

‘फाइनलका सम्भावित दुवै टिम उत्कृष्ट छन् । मैले एउटा टिम छान्न उपयुक्त हुँदैन’, स्कालोनीले फाइनल खेल रोमाञ्चक हुने बताए ।

स्कालोनीकै प्रशिक्षणमा अर्जेन्टिनाले सन् २०२१ मा ब्राजिललाई उसैको मैदानमा हराएर कोपा अमेरिकाको उपाधि जितेको थियो । त्यसपछि सन् २०२२ मा कतारमा भएको फिफा विश्वकप पनि अर्जेन्टिनाले जितेको थियो ।

अर्जेन्टिनासँग पराजित भएपछि क्यानडाका प्रशिक्षक जेसी मार्सले भने आफ्नो टिमप्रति गर्व लागेको बताएका छन् । ‘मलाई थाहा छ खेलाडीहरु निराश छन् तर म उनीहरुप्रति गर्व गर्छु’, मार्सले भने, ‘हामीले एकसाथ केही राम्रो प्रदर्शन गर्‍यौँ । यो एउटा प्रक्रियाको सुरुवात हो ।’

क्यानडा कोपा अमेरिकाको पहिलो सहभागितामै सेमिफाइनल पुगेको हो । यसअघि उद्घाटन खेलमा पनि क्यानडा अर्जेन्टिनासँग २-० ले नै पराजित भएको थियो ।

अर्जेन्टिना कोपा अमेरिका
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय