+
+

माधव नेपाल फेरि पनि प्रचण्डकै सारथि

सइन्द्र राई सइन्द्र राई
२०८१ असार २६ गते २१:१६

२६ असार, काठमाडौं । आफ्नो सरकार अल्पमतमा परेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार बालुवाटारमा समाजवादी मोर्चामा आवद्ध दलका नेताहरुसँग छलफल गरेका छन् ।

मोर्चामा आवद्ध दलका प्रमुखहरु बोलाइएपनि जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादव बालुवाटार गएनन् । प्रधानमन्त्री प्रचण्डकै सहयोगमा गत २३ वैशाखमा आफ्नो पार्टी विभाजन गरिएको निष्कर्षमा रहेका उपेन्द्र यो छलफलमा नजानु स्वाभाविक थियो ।

किनकि प्रचण्ड नेतृत्वको सरकारबाट नेकपा एमाले सहितका दलहरुले भन्दा पहिले उपेन्द्रले समर्थन फिर्ता लिइसकेका छन् । ३१ वैशाखमा उपेन्द्रले समर्थन फिर्ता लिने निर्णय गरेपछि प्रधानमन्त्री प्रचण्डले गत ७ जेठमा चौथोपटक विश्वासको मत लिएर बहुमत देखाएका थिए । त्यसैले मोर्चाका एक संस्थापक दलका नेता भए पनि उपेन्द्र यादव बालुवाटार छलफलमा गएनन् ।

तर उनी बाहेक मोर्चाका अरु नेताहरु भने छलफलमा सहभागी भए । प्रधानमन्त्री सचिवालय स्रोतका अनुसार, २८ असारमा प्रधानमन्त्रीले संसदमा लिन लागेको विश्वासको मत र मोर्चाको भावी कार्यदिशाबारे छलफल गर्न नेताहरुलाई बोलाइएको थियो ।

छलफलमा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द लगायत सहभागी थिए ।

फाइल तस्वीर : समाजवादी मोर्चाको कार्यक्रममा प्रचण्ड, माधव नेपाल र विप्लव ।

यो छलफलमा भाग लिएकामध्ये यादव प्राविधिक रुपले मात्रै अलग दलका नेता छन् भने संसदीय मोर्चामा नरहेका चन्दलाई बदलिएको परिस्थितिसँग खासै लेनदेन देखिँदैन । यो छलफलमा सहभागी माधव र झलनाथको उपस्थिति चाहिं अर्थपूर्ण छ ।

किनकि प्रतिनिधिसभामा एकीकृत समाजवादीसँग १० सिट छ, र बेलाबेला प्रचण्डसँग यो पार्टीको असन्तुष्टि सार्वजनिक हुने गरेको छ । प्रचण्ड नेतृत्वको वर्तमान सरकार फेरेर नेपाली कांग्रेस र एमालेले नयाँ सरकार बनाउने निर्णय गरेको अघिल्लो दिन (१६ असारमा) मात्र पनि सार्वजनिक मञ्चबाटै प्रधानमन्त्री प्रचण्ड र एकीकृत समाजवादीबीच रहेको असन्तुष्टि सार्वजनिक भएको थियो ।

प्रज्ञा भवन कमलादीमा एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहबाटै प्रचण्डले माधव नेपालसँग गुनासो गरेका थिए । माधव नेपालले माओवादीलाई अस्थिर र सैद्धान्तिक अन्योलमा रहेको पार्टी भनेर राजनीतिक प्रतिवेदन तयार पारेकोप्रति प्रचण्डको आपत्ति थियो ।

‘त्यो (अस्थिर माओवादी) भन्ने अधिकारमा म प्रश्न उठाउन चाहन्न, हरेक पार्टीले अर्को पार्टीलाई हेर्ने दृष्टिकोण हुन्छ । तपाईंहरुलाई जे बनाउन उचित लाग्छ, बनाउनुहोस्’, उनले भनेका थिए ।

तर एकीकृत समाजवादीले निष्कर्ष निकालेजस्तो माओवादी अस्थिर शक्ति नभएको पुष्टि गर्न प्रचण्डले लामै व्याख्या गरेका थिए । प्रचण्डले सार्वजनिक रुपमै गुनासो गरेपछि कार्यक्रम चलाइरहेका महासचिव घनश्याम भूसालले मञ्चबाटै माओवादी शक्तिको प्रशंसा समेत गरिएको सम्झाएका थिए । भूसालले भनेका थिए, ‘माओवादीलाई अस्थिर भनेको मात्र हेर्नुभयो । तर हामीले गणतन्त्रको मुद्दालाई क्रियात्मक नारामा लगेको पनि प्रतिवेदनमा लेखेका छौं ।’

यसरी असन्तुष्ट प्रचण्डलाई खुशी बनाउने प्रयत्न भूसालले गरेपनि निकट विगतको राजनीतिक घटनाक्रमले भने माधवकै निष्कर्ष सही रहेको टिप्पणी गर्न सकिन्छ । महाधिवेशनबाट पारित माधव नेपालको राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘… नेकपाको विभाजनपछि फेरि माओवाद अँगालेको हुँदा यो पार्टी स्वयं सैद्धान्तिक अन्यौलमा फसेको छ ।’

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग दुरी बढ्न थालेको नेकपाकालीन समय (२०७६ असोज–कात्तिक) यताका घटनाक्रम हेर्दा पनि माधव नेपालले निकालेको निष्कर्ष जस्तै प्रचण्डमा अस्थिर र सैद्धान्तिक अन्यौल रहेकै पुष्टि हुन्छ । तर उनै प्रचण्डप्रति माधव नेपालको विश्वास र भरोसा देखिन्छ ।

प्रष्ट अल्पमतमा परेर सत्ताबाट बाहिरिने पक्का भएका प्रचण्डलाई विना शर्त/सहमति साथ दिने निर्णय गर्नु त्यसैको एउटा उदाहरण हो । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले जतिसुकै धोका र असहयोग गरेपनि उनैलाई साथ दिनु पार्टीको निर्विकल्प निर्णय हुँदै एकीकृत समाजवादीका नेताहरु स्वीकार्छन् ।

‘एकपटक होइन, पटकपटक धोका दिनुहुन्छ, तर केपी शर्मा ओली जति धोकेबाज प्रचण्ड होइनन् भनेर सहयोग गर्दै आएका छौं’, एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडा भन्छन् ।

आफ्नो पदका निम्ति प्रचण्डले पनि सम्बन्ध र साथहरुको दुरुपयोग गर्ने गरेपनि धोकेबाज नरहेको निष्कर्षकै आधारमा साथ दिंदै आएको उनी बताउँछन् । ‘फेरि पनि मित्र शक्ति रहेको निष्कर्षकै आधारमा प्रचण्डलाई हामी विश्वासको मत दिन्छौं । उहाँले आफू कमजोर भएको बेला सम्झने गर्नुभएको छ, तर हामी एउटै मोर्चामा रहेको भूमिका इमान्दारिताका साथ निर्वाह गर्छौं’, खतिवडा भन्छन् ।

बाध्यताको विकल्प

राजनीतिक दस्तावेजबाटै अस्थिर र सैद्धान्तिक अन्योलमा फसेको पार्टी भनेर निष्कर्ष निकालेको माओवादी केन्द्रलाई लगातार पछ्याइरहनु माधव नेपालले खेप्दै आउनुपरेको संकटको उदाहरण पनि हो । जसलाई बुझ्न नेकपाकालीन विवादसम्म पुग्नुपर्छ ।

हुन त माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माधव नेपालसँगको सम्बन्ध र सहकार्य सम्झन पञ्चायतकालकै घटनाहरु सुनाउने गरेका छन् । उस्तै अभिव्यक्ति माधव नेपालले पनि बेलाबखत दिने गर्छन् । तर दुई नेताबीच रहेको पछिल्लो संस्करणको सम्बन्ध भने नेकपाकालीन संघर्षबाटै सुरु भएको हो ।

२०७४ सालको आमचुनाव र त्यसपछि झण्डै डेढ वर्ष प्रचण्डले ओलीसँग राम्रो सहकार्य गरेका थिए । चुनावमा गठबन्धन, पार्टी एकता र राजनीतिक भागबण्डा जस्ता निर्णयहरु प्रचण्डले ओलीसँगै गरेका थिए । त्यसबेला एमालेको संस्थापन इतर समूहको नेतृत्व गर्ने माधव नेपाल भने हरेकजसो निर्णयमा ‘नोट अफ डिसेन्ट’ लेख्थे ।

किनकि ओली र प्रचण्डले बहुमतका आधारमा सत्तादेखि पार्टीसम्मका निर्णयमा भागबण्डा गर्थे । ‘म नेता हुँ, प्रचण्ड र केपीको कार्यकर्ता होइन’ भन्ने माधव नेपालको अभिव्यक्ति त्यसैबेलाको परिस्थितिमा आएको थियो ।

तर जब तत्कालीन सभामुख कृष्णबहादुर महरा यौन दुर्व्यवहारको गम्भीर आरोप लागेर पदमुक्त भए, त्यसपछि नेकपाभित्रको शक्ति संघर्ष फेरियो ।

सभामुख पद माओवादी पृष्ठभूमिकै नेताले पाउनुपर्ने अडानमा माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमसम्मले प्रचण्डलाई साथ दिए ।

तीन नेताको साथ प्रचण्डले पाउँदा माओवादी पृष्ठभूमिबाट आएका अग्नि सापकोटा सभामुख भए । त्यसपछि प्रचण्डले माधव र झलनाथहरुसँग मिलेर ओलीसँग सम्वादमा बस्न थाले, ओली पार्टीभित्र प्रष्ट अल्पमतमा परे ।

ओली भर्सेस प्रचण्ड–माधव समूहको शक्ति संघर्ष बढेर नेकपा विघटनसम्म पुग्यो । प्रधानमन्त्रीको हैसियतमा ओलीले दुईपटक प्रतिनिधिसभा विघटनको निर्णय गरे । दुवैपटक सर्वोच्च अदालतबाट प्रतिनिधि सभा विघटनको निर्णय बदर भएपनि नेकपाको एकता जोगिएन, एमाले पनि फुट्यो ।
२ भदौ २०७८ मा एमाले फुटाएर एकीकृत समाजवादी बनाउँदा माधव–झलनाथलाई साथ दिने नेताहरुको संख्या सानो थियो । १० बुँदे सहमति गरेर ठूलो पंक्ति एमालेमै बस्यो । कतिसम्म भने माधव नेपाललाई पार्टी बनाउन राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याइदिनुपरेको थियो ।

केन्द्रीय कमिटी र संसदीय दलमा ४०/४० प्रतिशत पुगे मात्रै पार्टी विभाजन गर्न सकिने कानून बदल्न तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले अध्यादेश ल्याइदिएका थिए । केन्द्रीय कमिटी वा संसदीय दलमा २० प्रतिशत भए दल विभाजन गर्न सकिने अध्यादेश ल्याएर एकीकृत समाजवादी जन्मियो ।

ओलीसँग रहेको त्यो शक्ति संघर्षको संकटमा प्रचण्डले माधवलाई र माधवले प्रचण्डलाई सहयोग गरे । यी दुवैलाई देउवाको साथ रह्यो । २०७९ मा सम्पन्न तीन तहकै चुनावमा एमालेविरुद्ध कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी सहित पाँच दलले साझा उम्मेदवारी दिए ।

तर चुनावपछि सत्ता नेतृत्वको विषयमा देउवा र प्रचण्डबीच खटपट भयो । देउवाले पहिलो कार्यकालको अडान नछोडेपछि एमालेको समर्थन लिएर १० पुस २०७९ मा प्रचण्ड प्रधानमन्त्री बने, जुन निर्णय माधव नेपालले कल्पना समेत गर्न सक्दैनथे ।

एमाले समर्थनमा प्रचण्ड प्रधानमन्त्री बन्दा केही समय त माधव नेपाल र एकीकृत समाजवादी प्रतिक्रियाविहीन नै बन्यो । पाँचदलीय गठबन्धनबाट चुनाव लड्दा पनि ३ प्रतिशतको थ्रेस होल्ड कटाएर राष्ट्रिय दलको मान्यता पाउन नसकेको नतिजाले बिक्षिप्त माधव नेपालसँग अर्को विकल्प पनि थिएन ।

भलै प्रचण्डले नै एमालेसँग सहकार्य तोडे । फेरि कांग्रेस सहितको सत्ता गठबन्धन भन्दा माधव नेपाल पनि देउवा र प्रचण्डसँगै आलोपालो प्रधानमन्त्री बन्ने सहमति भयो । यस्तो सहमतिले माधव नेपाललाई खुशी नै दिइरहेको थियो ।

तर गत २१ जेठमा प्रचण्डले कांग्रेससँग दोस्रोपटक गठबन्धन तोडे । ओलीसँग आलोपालो प्रधानमन्त्रीको सहमति गरेर सत्ता समीकरण फेर्दा माधव नेपाल संकटमा परे । केही दिनसम्म एमाले नेतृत्वको समीकरणमा सहभागी नहुने अडान लिएका थिए । तर प्रचण्डको जोडबल र पार्टीभित्रै दबाव बढेपछि माधव नेपाल सत्ता समीकरणमै रहे ।

यो समीकरणमा रहँदा प्रचण्ड र ओलीले माधव नेपाललाई पुरापुर बेवास्ता गरेका थिए । लगातार हुने छलफलहरुमा माधव नेपाल हुन्थेनन् । सत्तारुढको बैठकहरुको जानकारी समेत नदिइएपछि माधवले यो समीकरण धेरै नजाने अभिव्यक्ति दिन थालेका थिए । तर माधवको बोली नै बन्द हुने गरी उपेन्द्र यादवको पार्टी फुटाइयो ।

उपेन्द्रको पार्टी फुटेपछि सत्ता समीकरण जोगिएको प्रचण्डको सार्वजनिक अभिव्यक्तिले पनि त्यो बेलाको परिस्थिति बुझ्न सकिन्थ्यो । यसरी सत्ता सहयात्री फेरिरहनेदेखि सत्ता सहयात्री फुटाउने जस्ता खेल खेलिरहेका प्रचण्डलाई नै सरकारको नेतृत्वबाट हटाउने निर्णय कांग्रेस र एमालेले गरेको छ ।

तर सत्ता हेरफेरका निर्णयहरुमा सधैंजसो बेखबर एकीकृत समाजवादीले प्रचण्डलाई विपक्षमा बस्न सहयोग गर्दैछ ।

‘प्रचण्डकै कारण हिजो ओलीविरुद्ध बनेको पाँचदलीय गठबन्धन छिन्नभिन्न भयो । सत्ताका लागि हामीलाई बेवास्ता गरिरहने काम भयो’, एकीकृत समाजवादीका एक नेता भन्छन्, ‘तर हामीसँग अर्को विकल्प छैन । प्रचण्डलाई साथ नदिने भनेर केपी शर्मा ओलीलाई भोट दिने भन्ने पनि त हुँदैन ।’

एकीकृत समाजवादीको यस्तो बाध्यता उसकै राजनीतिक प्रतिवेदनमा पनि देखिएको थियो । अप्ठ्यारोमा पारिरहने प्रचण्ड र माओवादीलाई अध्यक्ष माधव नेपालले सवैभन्दा निकटको शक्ति भएको निष्कर्ष प्रस्तुत गरेका थिए ।

‘जनवादी क्रान्तिका उपलब्धिहरुको रक्षा गर्न (माओवादी) प्रतिवद्ध देखिन्छ । समाजवादी मोर्चामा हामी सँगै छौं’, उनको प्रतिवेदनमा भनिएको छ, ‘समाजवादी मोर्चालाई सुदृढ र क्रियाशील बनाई वामपन्थी शक्तिहरुबीच सहकार्यको विकास गर्नु र कम्युनिष्ट आन्दोलनको एकीकरणका आधार निर्माण गर्नु अर्को एक महत्वपूर्ण कार्यभार हो । यो कार्यभार पूरा गर्न हाम्रो पार्टीले पहल गर्नुपर्दछ ।’

लेखकको बारेमा
सइन्द्र राई

विशेष संवाददाता राई राजनीतिक ब्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?