+
+

पाल्पा पूर्णखोप दिगोपना सुनिश्चिता जिल्ला घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २७ गते ८:०१

२७ असार, पाल्पा । नेपालमै पहिलो पटक पूर्णखोपयुक्त जिल्ला बनेको पाल्पा जिल्लालाई यो वर्ष पनि पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा गरिएको छ ।

जिल्लाका सबै स्थानीय तहमा दिगोपना सुनिश्चितता भएपछि जिल्लालाई नै दिगोपनायुक्त जिल्ला घोषणा गरिएको हो ।

एक कार्यक्रमका बीच लुम्बिनी प्रदेशका सभामुख तुलराम घर्ती मगर (बसन्त)ले खोप समन्वय समितिका संयोजक टंकनाथ खनाललाई जिल्ला घोषणाको प्रमाण हस्तान्तरण गरेका छन् ।

सरकारले तोकेका १३ वटा सरुवा रोगहरू विरुद्धका खोप सबै बालबालिकालाई लगाएको सुनिश्चितता भएपछि घोषणा गरेको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्रकुमार गिरीले जानकारी दिए ।

सबै पालिकाले कार्ययोजनासहित प्रत्येक वर्षको चैत महिनाभित्र बालबालिकाका घरघरमा पुगेर जन्मेदेखि १५ महिनासम्म र १६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई खोप लगाउने गरिन्छ ।

बालबालिकाको रोस्टर तयार गरेर खोप कार्डको आधारमा सबै नछुटेको प्रमाणित गरेर वडा, पालिका हुँदै जिल्लालाई पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा गर्ने गरिन्छ ।

जन्मेदेखि १५ महिनासम्मका ३ हजार ३ सय ८ जना बालबालिकामा र १६ महिनादेखि ५९ महिनासम्मका १० हजार ५ सय ६० जना बालबालिकामध्ये १० हजार ५ सय ५४ जनामा पूर्णखोप लगाइएको छ ।

१६ देखि ५९ महिना उमेरका ६ जना बालबालिका आंशिक रुपमा पूर्ण खोपबाट बञ्चित रहेका छन् । १६ देखि २३ महिनासम्मका २ हजार २५ जना, २४ देखि ५९ महिनासम्मका ८ हजार ५ सय ३५ जना बालबालिकाले पूर्णखोप पाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

सभामुख घर्तीमगरले राजनीतिक दलका नेता, सरकारका मन्त्री, कर्मचारीहरू भाषणमा स्वास्थ्यलाई राम्रो बनाउने भन्ने तर व्यवहारमा नीति अनुसार काम नगर्ने भएकाले लुम्बिनी प्रदेशमा मातृ मृत्युदर बढेको बताए ।

उनले अन्य क्षेत्रको तुलनामा स्वास्य र शिक्षाकमा कम बजेट विनियोजन गर्ने गरेकोमा दुःख व्यक्त गरे ।

तीन तहका सरकारले मानवको शिक्षा र स्वास्थ्य भन्दा पनि भौतिक पूर्वाधारलाई मात्रै विकासका रुपमा हेर्ने प्रवृति रहेको हुँदा यसको अन्त्य गर्नुपर्ने बताए ।

प्रदेशका पूर्वमन्त्री वीरबहादुर रानाले पूर्णखोप घोषणासँगै दिगोपना सुनिश्चितता भएजस्तै अन्य विषयमा समेत दिगोपना हुनु जरुरी रहेको बताए ।

प्रदेशसभा सदस्य खेम सारुले प्रदेशस्तरमा पाल्पा जिल्लाले राम्रो काम गरेकाले पुरस्कृत हुँदै आएको भएपनि अझै शिक्षा र स्वास्थ्य क्षेत्रमा स्थानीय स्तरबाट प्रभावकारी काम हुन नसकेको बताए ।

राष्ट्रिय खोप कार्यक्रम हासिल गर्न सबै बालबालिकामा पुग्ने रणनीतिअनुसार उद्देश्य प्राप्ति गर्न नियमित खोपमा सबै खोपहरुको कभरेज सबै स्थानीय तह तथा ९५ प्रतिशतभन्दा बढी पुर्‍याई पूर्णखोप सुनिश्चितता दिगोपना कायम राख्नुपर्छ ।

जन्मेदेखि १५ महिनासम्मका सबै बालबालिकाले पूर्णरूपमा नियमित खोप पाएपछि यहाँका पालिकाहरुलाई पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गर्ने गरिन्छ ।

अभियानमा १६ देखि २३ महिनासम्मका छुटेका बालकालिकाहरुलाई समेत खोजेर पूर्णरूपमा खोप सुनिश्चितता गरिएको छ ।

राष्ट्रिय खोप तालिकाअनुसार जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई १३ वटा खोप प्रदान गरिन्छ ।

पूर्णखोप सुनिश्चितताका लागि ९५ प्रतिशत सूचकांक पूरा गर्नु पर्ने हुन्छ । सबै स्थानीय तहले ९५ प्रतिशत सूचकांक पूरा गरेको दाबी स्वास्थ्य कार्यालयको छ ।

पाल्पा जिल्लालाई २०७० साल फागुन १३ गते नेपालकै पहिलो पूर्ण खोप जिल्ला घोषणा गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?