+
+

दुनियाकै ठुलो बाँध, जसले पृथ्वीको घुम्ने गति नै सुस्त बनाइदिएको छ

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २७ गते १०:५५

नदीमा बाँधिने बाँध बाढी रोकथामका साथै बिजुली निकाल्न र सिंचाइका लागि निकै महत्वपूर्ण हुन्छन् । तर, दुनियाँमा मानिसले यति भीमकाय बाँधहरू समेत बनाएका छन् जसले प्रकृतिको सनातन नियमलाई नै अवरुद्ध पार्ने जोखिम छ। एउटा बाँध त यस्तोसम्म छ कि यसले पृथ्वीको घुम्ने गतिलाई नै सुस्त बनाइदिएको छ ।

हो, चीनको थ्री गर्जेज बाँध विश्वकै ठुलो बाँध हो । यो जलविद्युत बाँधमा यतिधेरै परिमाणमा पानी सञ्चित छ कि यसले पृथ्वीको घुम्ने गतिलाई नै सुस्त गरिदिएको छ ।

चीनको हुबेइ प्रान्तस्थित यांग्जे नदीमा यो बाँध बनेको छ । यांग्जे विश्वको तेस्रो लामो नदी हो जसको लम्बाई ६ हजार किलोमिटरभन्दा पनि धेरै छ ।

यो नदीमा आउने बाढीको इतिहास साक्षी छ कि हरेक एक दशकमा यो नदीले आफ्नो तटीय क्षेत्रमा विध्वंस मच्चाउने गर्दथ्यो। २०औं शताब्दीमा मात्रै यो नदीमा आएको बाढीका कारण करीब ३ लाख मानिसको मृत्यु भएको थियो ।

बाढी नियन्त्रण गर्न, डेढ करोड मानिस तथा लाखौं एक्कड कृषि भूमि बचाउनका लागि यो बाँधको निर्माण गरिएको थियो । स्टिल तथा कंक्रिटबाट बनेको यो बाँध २.३ किलोमिटर लामो छ भने ११५ मिटर चौडा र १८५ मिटर अग्लो छ ।

यो बाँध संसारको सबैभन्दा ठूलो मात्र नभई सबैभन्दा महँगो बाँध पनि हो । यसको निर्माणमा करिब ४० खर्ब रुपैयाँ खर्च भएको थियो भने निर्माण सम्पन्न हुन दुई दशकभन्दा धेरै समय लागेको थियो । सन् १९९४ मा यसको निर्माण कार्य सुरु भएकोमा सन् २०१२ मा मात्रै बाँधको निर्माण सम्पन्न भएको थियो।

यो बाँध निर्माणमा ४ लाख ६३ हजार टन स्टीलको प्रयोग भएको छ । रोचक त के भने यति परिमाणको स्टिलले करिब ६० वटा एफिल टावर ठड्याउन सकिन्छ। यो बाँधबाट २२ हजार ४०० मेगावाट विद्युत उत्पादन भएको छ।

यो बाँधका विभिन्न पर्यावरणीय प्रभावहरू रहेका छन् । त्यसमध्ये सबैभन्दा ठुलो प्रभाव चाहिं पृथ्वीको घुम्ने गतिमा परेको छ ।

नासाका वैज्ञानिकहरूले सन् २००५ मा थ्री गर्जेज बाँधका कारण पृथ्वीको घुम्ने गति धीमा भएको तथ्य पत्ता लगाएका थिए।

केही यस्ता कुराहरू छन् जसले पृथ्वीको परिभ्रमणको गतिलाई सुस्त बनाउँछन् । जसमा हावा, भूकम्प, जलवायु परिवर्तन तथा चन्द्रमाको स्थिति आदि हुन्छन् ।

यो बाँधको जलाशयमा ४२ अर्ब टन पानी जम्मा हुन्छ, जसका कारण पृथ्वीले घुम्ने समयमा आफ्नो स्वभाविक गतिलाई गुमाउँछ। त्यसैले घनत्वको बदलावको कारण एक दिनको समय ०.०६ माइक्रो सेकेण्डले बढेको छ । अर्थात् यो बाँधका कारण पृथ्वीमा दिनको लम्बाइ केही बढेको छ ।

नासाका अनुसार यो बाँध निर्माणका कारण उत्तरी तथा दक्षिणी ध्रुव पनि आ आफ्नो ठाउँबाट २.२ सेन्टिमिटर पर सरेका छन् भने ध्रुवीय क्षेत्रमा पृथ्वी केही मात्रामा चेप्टिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?