+

प्रत्यारोपण गर्दा किन निकालिंदैन बिग्रिएको मिर्गौला ? (भिडियो)

२०८१ असार  २८ गते १७:२६ २०८१ असार २८ गते १७:२६
प्रत्यारोपण गर्दा किन निकालिंदैन बिग्रिएको मिर्गौला ? (भिडियो)

मानिसको शरीरमा रहेका विकार पदार्थ र बढी भएको पानीको मात्रालाई छानेर पिसाबको माध्यमबाट शरीर बाहिर पठाउने अंग हो मिर्गौला ।

मिर्गौलामा कुनै रोग देखिएमा, संक्रमण भएमा, ठूलो पत्थरी भएमा, चोटपटक लागेमा वा क्यान्सर भएमा दुवै मिर्गौला खराब भएर मिर्गौलाले आफ्नो काम गर्न नसकेको खण्डमा मिर्गौला प्रत्यारोपण गर्नुपर्ने हुन्छ ।

स्वस्थ व्यक्तिको मिर्गौला झिकेर बिरामीको शरीरमा राख्ने प्रक्रियालाई मिर्गौला प्रत्यारोपण भनिन्छ । मस्तिष्क मृत्यु भएको व्यक्तिको मिर्गौला स्वस्थ छ भने त्यो व्यक्तिको मिर्गौला पनि बिरामीलाई दिन सकिन्छ ।

एउटा स्वस्थ व्यक्तिको ढाडमा सामान्यता दुईवटा मिर्गौला हुन्छ । यी दुई मिर्गौलासँग तीनवटा नली जोडिएको हुन्छ,  एउटा मुटुसँग जोडिएको ‘रिनल आटरी’ नली, अर्को ‘रिनल भेन’ र युरेटर ।

मिर्गौला प्रत्यारोपणलाई लिएर जनमानसमा केही अन्यौलता पाइन्छ । दुवै मिर्गौला फेल भएपछि फेल भएको मिर्गौला निकालेर त्यो ठाउँमा अर्को मिर्गौला राखिन्छ भन्ने जनधारणा छ । तर यो धारणा गलत हो ।

मिर्गौला रोगको कारणले यसै पनि बिरामीको रोगप्रतिरोधात्मक क्षमता कमजोर भएको हुन्छ । उनीहरूमा संक्रमण हुने सम्भावना बढी हुन्छ । पुरानो मिर्गौला झिक्दा खतरा हुन्छ, फेरि शल्यक्रिया पनि गर्नुपर्छ ।  त्यसैले पुरानो मिर्गौला शरीरमा छोड्ने गरिन्छ । नयाँ मिर्गौला पुरानो भएको ठाउँमा नराखेर, पेटमा त्योभन्दा केही तल राखिन्छ ।

केही बिरामीमा भने उनीहरूको मिर्गौलाले केही प्रतिशत काम गर्दा नै पनि अर्को मिर्गौला प्रत्यारोपण गर्नुपर्ने हुन्छ । त्यसैले बिरामीको पनि खराब भएको मिर्गौलालाई यथास्थानमा छोडेर नयाँ मिर्गौला राखिनुपर्ने हुन्छ ।

नयाँ मिर्गौला पेटको तल्लो हिस्सामा जोडिन्छ । सामान्यतया प्रत्यारोपण गरिएको मिर्गौला शरीरको बायाँतर्फ जोडिन्छ । जसमा नयाँ मिर्गौला हालिन्छ र फेरि त्यसलाई बिरामीको नसा र ब्लाडरमा जोडिन्छ ।

कसैको भने बिग्रिएको मिर्गौला निकाल्नैपर्छ

यदि बिरामीको दुवै मिर्गौलामा ठूलो मासु पलाएको छ, क्यान्सरको कारण मिर्गौला खराब भएको छ, संक्रमणका कारण दुवै मिर्गौला बिग्रिएको छ, बिरामीको मिर्गौलाले धेरै मात्रामा प्रोटिन फालिरहेको छ, मिर्गौलाको अटोइम्युन डिजिज छ भने नयाँ प्रत्यारोपणपछि बिग्रिएको मिर्गौला निकाल्नुपर्ने हुन्छ ।  बिग्रिएको मिर्गौला राखिराख्दा बिरामीको ज्यान नै जोखिममा पर्छ भने त्यो अवस्थामा बिरामीको बिग्रिएको मिर्गौला निकाल्नुपर्ने हुन्छ । साथै मिर्गौलामा पानीको फोका आएर मिर्गौला ठूलो भएर सुन्नियो र नयाँ मिर्गौला राख्ने ठाउँ भएन भने पनि बिग्रिएको मिर्गौलालाई निकाल्नुपर्छ । यस्ता समस्या नभएका बिरामीमा भने बिग्रिएको मिर्गौलालाई यथास्थानमा छोडेर नयाँ ठाउँमा मिर्गौला राखिन्छ ।

कति पटकसम्म गर्न सकिन्छ मिर्गौला प्रत्यारोपण ?

एकपटक मिर्गौला प्रत्यारोपण गर्दा नै बिरामीको रोगप्रतिरोधात्मक क्षमता कमजोर हुन्छ, उनीहरू दीर्घरोगी हुन्छन् । यस्तोमा जति धेरै शल्यक्रिया गरयो, त्यति धेरै बिरामीको अवस्था नाजुक हुँदै जान्छ । अध्ययनअनुसार विश्वमा ६ वटासम्म मिर्गौला प्रत्यारोपण गरेको पाइन्छ । नेपालमा भने २ वटासम्म  प्रत्यारोपण गरेका बिरामीहरू छन् ।

मिर्गौला प्रत्यारोपण गर्दा दाता र बिरामीमा केही असर हुन्छ ?

प्रत्येक व्यक्तिमा हुने दुईवटा मिर्गौलामध्ये एउटैले मात्र काम गर्दा पनि मानिस स्वस्थ र जीवित रहन सक्छ । दुवै मिर्गौला बिग्रिएको बिरामीलाई एउटा मिर्गौला दान गरी आफू पनि नमर्ने र बिरामीलाई जीवनदान दिन सकिन्छ ।

यो प्रक्रियामा सबैभन्दा महत्वपूर्ण एक यस्तो मान्छे हुनुपर्छ, जसको दुवै मिर्गौलापूर्ण रुपमा काम गर्ने स्वस्थ हुनुपर्छ । उही नै डोनर हुन्छ ।

मिर्गौला दान गर्ने र लिने व्यक्ति दुवैले सामान्य व्यक्तिले भन्दा अलि बढी स्वास्थ्यको ख्याल राख्नुपर्छ । धुम्रपान मद्यपान नगर्ने, पर्याप्त मात्रामा पानी पिउने र रेगुलर स्वास्थ्य जाँच गर्नुपर्छ ।

प्रत्यारोपण गरेको मिर्गौलाको आयु कति हुन्छ ?

पहिले मिर्गौला के कारणले बिग्रिएको हो, बिरामीको उमेर कति छ, बिरामीलाई अन्य समस्या छ कि छैन लगायत कुराले प्रत्यारोपण गरेको मिर्गौला कति वर्षसम्म स्वस्थ रहन्छ भन्ने कुरा तय हुन्छ ।

यदि बिरामी कम उमेरका छन्, उनीहरूमा अन्य कुनै स्वास्थ्य समस्या छैन भने बिरामीको मिर्गौला लामो समय स्वस्थ रहन सक्छ । तर बिरामीमा मधुमेह, उच्च रक्तचाप जस्तो दीर्घरोग छ, उमेर पनि बढी छ भने केही वर्षमै बिग्रिन सक्छ । प्रत्यारोपण गरेको मिर्गौलाको औसत आयु भने १० वर्ष हो ।

प्रत्यारोपणपछिको लामो जीवनका लागि नियमित स्वास्थ्य परीक्षण र केही समय नियमित औषधि खानुपर्छ । तर केही वर्षपछि बिरामीको शरीरले नयाँ मिर्गौलालाई अपनाएपछि औषधि खानु नपर्ने अवस्था पनि सिर्जना हुनसक्छ ।

तस्वीर, भिडियो : विकास श्रेष्ठ/अनलाइनखबर

डा. रविनबहादुर बस्नेत मिर्गौला प्रत्यारोपण मिर्गौला रोग स्वास्थ्य

धेरै कमेन्ट गरिएका

डा. रविनबहादुर बस्नेत
लेखक
डा. रविनबहादुर बस्नेत
प्रमुख कन्सल्टेन्ट युरोसर्जन

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ४५४८ एमएस, एमसीएच हाल काठमाडौंस्थित वीर अस्पतालमा युरोलोजी विभागीय प्रमुखको रुपमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय