+

मिर्गौला प्रत्यारोपणको पर्खाइमा मनबहादुर : ‘अनि धित मरुन्जेल पानी खान मन छ’

२०८१ असार  ३१ गते ११:१० २०८१ असार ३१ गते ११:१०
मिर्गौला प्रत्यारोपणको पर्खाइमा मनबहादुर : ‘अनि धित मरुन्जेल पानी खान मन छ’

काठमाडौं । रुपन्देहीका ३८ वर्षीय मनबहादुर थापा मगर साताको तीन दिन डायलाइसिस गराउन वनस्थली मिर्गौला उपचार केन्द्र पुग्छन् । विगत ११ वर्षदेखि दुवै मिर्गौला फेल भएका उनी प्रत्यारोपणको पर्खाइमा छन् । उनी अहिले डायलाइसिसको भरमा बाँचिरहेका छन् ।

प्रत्यारोपणको लागि खर्च र दाताको जोहो गर्दागर्दै ११ वर्ष बित्यो । यो क्रममा उनले नयाँ घर पनि बेचे । तर पनि प्रत्यारोपण हुन सकेन । ‘मिर्गौला मात्र होइन, अहिले कम्मरमुनिको भाग पनि राम्रोसँग चल्दैन । उनको हिप पनि प्रत्यारोपण गर्नुपर्ने भएको छ,’ मनबहादुर सुनाउँछन् ।

अब उनीसँग प्रत्यारोपण गर्ने खर्च छैन । बस्न र खान समेत धौ-धौ छ । प्रत्यारोपण त परको कुरा भयो । तर अझै पनि उनले हिम्मत हारेका छैनन् । ‘मलाई बाँच्नु छ । मैले अलिकति पनि हिम्मत हारेको छैन । प्रत्यारोपण गरेर घटघट धित मरुन्जेल पानी खानु छ,’ मनबहादुर मनको इच्छा सुनाउँछन् ।

भाग्यले जीवन बचायो तर मिर्गौला गुम्यो

रुपन्देहीको तिलोत्तमा नगरपालिका घर भएका मनबहादुरको परिवारमा बाबुआमा, दुई भाइ र एक बुहारी छन् । सामान्य किसानको छोरा त्यसमाथि घरको जेठो छोरा भएकाले व्यवहार उनको थाप्लोमा आयो ।

स्कुलमा पढाइमा अब्बल उनी ठूलो हुँदै जाँदा पढाइमा भन्दा कामतर्फ केन्द्रित हुन थाले । जसकारण कक्षा १२ मा विषय लाग्यो र त्यससँगै पढाइमा पूर्णविराम पनि । उनी शिल्पकारको काम गर्थे । उनलाई त्यतिले मात्र घर खर्च पुग्छ जस्तो लागेन । त्यसकारण उनी दुबई गए । त्यहाँ सुरक्षा गार्डको काम गरे ।

यसरी नै उनको दैनिकी बितिरहेको थियो । लगभग एक वर्षपछि एक दिन अचानक उनलाई सुतेको ठाउँमा केहीबेर सास फेर्न असहज भएको जस्तो भयो । एसी चलाएर होला भनेर वास्ता गरेनन् । यो क्रम चलेको पाँचौं दिनमा कामबाट फर्किएर आएर एकछिन बसेका मात्र के थिए, आँखा धमिलो भयो अनि टाउको दुख्यो । त्यसपछि उनी अस्पताल पुगे ।

स्वास्थ्य परीक्षणमा उनको एक्कासि रक्तचाप उच्च भएर दुवै मिर्गौलामा असर गरेको देखियो । चिकित्सकले उनलाई भने-‘यति उच्च रक्तचापले त हृदयघात हुनुपर्ने थियो । तपाईं भाग्यले बाँच्नुभयो ।’

डाक्टरले थप कुरा सुनाए- ‘तपाईंको दुवै मिर्गौला फेल भएको छ ।’ उनी छाँगाबाट खसे झैं भए । कम्पनीले उनलाई अस्पताल भर्ना भएको ११ दिनमा घर फकाईदियो ।

फर्किंदा साथीभाइले २० हजार जति खर्च दिएका थिए । उनी नेपाल फर्किएपछि त्रिवि शिक्षण अस्पतालमा जाँच गराए । अस्पतालले पनि दुवै मिर्गौला फेल भइसकेको पुष्टि गर्‍यो । चिकित्सकले उपचारको विकल्प मिर्गौला प्रत्यारोपण मात्र रहेको र त्यसबेलासम्म डायलाइसिस गर्न आवश्यक रहेको बताए ।

सम्पत्ति सकियो, प्रत्यारोपण हुन सकेन

मनबहादुर मिर्गौला प्रत्यारोपणको व्यवस्थापन गर्न घर फर्किए । मिर्गौला नाताबाट र रगत मिलेमा मात्र दिन मिल्ने थियो । बुबाको मधुमेहको कारणले मिलेन । दाजुभाइको पनि मिलेन । श्रीमतीको मिल्यो । उनी तयार थिइन् । तर मेलोमेसो मिलेन ।

मिर्गौलाको उपचार गर्न थोरै पैसाले नपुग्ने भएर बाबुले केही पनि नसोची दुईतल्ले नयाँ घर बेचिदिए । यही मेसोमा अरूको कुरा सुनेर मनबहादुर कहिले पूजा लगाउने, कहिले ज्योतिष, कहिले धामीझाँक्रीकहाँ पनि पुगे । त्यसले निको हुने कुरा भएन । उनी त्यसपछि आयुर्वेदिक उपचार गराउन भारत पुगे । उनले आयुर्वेदिक औषधि खान सुरु गरे । यस अवधिमा ५ लाख रुपैयाँ सकिसकेको थियो ।

‘प्रत्यारोपणमा पैसा लाग्ने प्रक्रिया लामो र झन्झटिलो भनेर आयुर्वेदिकमा लागें । ५ लाख सकियो । यदि सोझै प्रत्यारोपणको प्रक्रिया अगाडि बढाएको भए समय र पैसा बर्बाद हुने थिएन,’ उनी सुनाउँछन् ।

उनलाई दुई वर्षसम्म त्यो औषधिले ठीक पारेको जस्तो लाग्यो । त्यसपछि उनको पेट फुल्न थाल्यो र पिसाब पनि रोकियो । त्यसपछि तत्काल एम्बुलेन्स बोलाएर सिधा शिक्षण अस्पताल पुगी भर्ना भए । त्यस अवधिसम्म उनको डायलाइसिस पाँचपटक भइसकेको थियो ।

काठमाडौंमा बस्न कठिन भइरहेको थियो । त्यसैबेला भैरहवा मेडिकल कलेजमा पनि डायलाइसिस सेवा सुरु भयो । यो खबर पाएपछि उनी भैरहवा मेडिकल कलेजमा डायलाइसिस गराउन थाले । त्यतिबेला डायलाइसिस निःशुल्क थिएन । उनको सातामा दुईपटक गर्दा १० हजार डायलाइसिसमा खर्च हुन्थ्यो । त्यसको दुई महिनामा उनलाई निमोनियाले सतायो । अवस्था गम्भीर भइसकेको थियो । उनलाई त्यहाँ भन्दा काठमाडौंमै छिटो उपचार हुनसक्छ भन्ने लागेर काठमाडौं फर्किए ।

भक्तपुर मिर्गौला प्रत्यारोपण केन्द्रमा डायलाइसिस र प्रत्यारोपण सेवा सुरु भइसकेको थियो । त्यहाँ उनी १६ दिन भर्ना भए । उपचारपछि निमोनिया निको भयो । उनी र श्रीमतीले कोठा खोजेर बसे । उनी प्रत्यारोपणको प्रक्रिया बुझ्ने र दाताको खोजीमा थिए ।

यही क्रममा मिर्गौला पीडितको संघसंस्थामा आवद्ध भए । जसबाट उनी पनि डायलाइसिस निःशुल्क गराउनुपर्छ भन्ने अभियानमा सरिक भए । उनीहरूको टोली रत्नपार्कमा आमरण अनसन पनि बस्यो । अन्ततः तत्कालीन स्वास्थ्यमन्त्री गगन थापा (२०७३साल) को प्रस्तावमा मन्त्रिपरिषद्ले डायलाइसिस सेवा निःशुल्क गर्ने निर्णय गर्‍यो ।

मनबहादुरलाई त्यसैबेला ‘हेपाटाइटिस सी’ पोजेटिभ देखियो । अब यसको उपचार नभई प्रत्यारोपण गर्न नमिल्ने अवस्था थियो । उपचारमा ४० सातासम्म १३ हजार रुपैयाँ पर्ने खोप लगाउनुपर्ने भयो ।

यता, खोप लगाउनुपर्ने, अर्कोतर्फ काठमाडौंमा कोठा भाडा, औषधि, गाँउमा आमाबाबुलाई खर्च गर्दा पैसा पनि खर्च हुँदै गइरहेको थियो । यही क्रममा उनको श्रीमती र उनीबीच मनमुटाव सुरु भयो ।

श्रीमती उनको उपचार खर्च जोहो गर्छु भनेर परदेश लागिन् । तर अहिले सात वर्ष भयो उनी फर्केर आएकी छैनन् । ‘विवाह दर्ता पनि थिएन, छोडपत्रको कुरा भएन । उनले कमाएको पैसाले विदेश जाँदा लागेको खर्च पठाइन् । त्यसपछि हाम्रो सम्पर्क भएको छैन,’ मनबहादुर सुनाउँछन्, ‘उनले साथ छाडे पनि उनले दुई वर्ष मेरो रेखदेखमा खटिएकी थिइन् । म कृतज्ञ छु । कुनै गुनासो छैन ।’

सहयोगको आश र हिम्मतले टिकेको जीवन

कहिल्यै हिम्मत हार्न नजानेका मनबहादुर अहिले कान्छा भाइको रेखदेखमा बसिरहेका छन् । हाल रानीवनमा कोठा लिएर बसिरहेका छन् । ‘कोठा भाडा, औषधि, खानपिन गरेर मात्र मेरो चोखो ३० हजार नगद खर्च हुन्छ । यो खर्च अहिले साथीभाइको सहयोगमा जुटिरहेको छ,’ उनी भन्छन् ।

डेढ वर्षअघिको कुरा । माइली बुहारीको मिर्गौला दिन मिल्ने भयो । उनी तयार पनि थिइन् । तर उनको प्रक्रिया सुरु मात्र के हुँदै थियो । उनको माइतमा आमा खसेर तत्काल जानुपर्ने भयो ।

त्यसलगत्तै उनीमाथि अर्को बज्रपात आइपर्‍यो । उनको कम्मरमुनिको भाग कमजोर हुँदै गएर हिंड्न नसक्ने अवस्थामा पुगे । उनी १० महिनादेखि वैशाखीको सहारामा छन् ।

चिकित्सकले कम्मरको हड्डी बिग्रिंदै गएर हिप ट्रान्सप्लान्ट गराउनुपर्ने भनेपछि उनलाई अर्को बज्रपात पर्‍यो ।

‘मिर्गौला प्रत्यारोपण गरेर बाँच्छु भन्ने थियो । कम्मरमुनिको भाग पनि प्रत्यारोपण गर्नुपर्छ भनेपछि म छाँगाबाट खसे झैं भए । म डिप्रेसनमै पुग्न लागेको थिए । आत्महत्या पनि गरौं जस्तो लाग्यो,’ उनी भन्छन्, ‘तर धेरैबेर सोचेपछि जसरी पनि बाँच्नुपर्छ भन्ने लाग्यो ।’

त्यसपछि उनले ध्यान गर्ने गरेर नकारात्मक विचार हाबी हुन दिएनन् । उनी पहिला विपश्यनामा पनि लागेको भएर उनलाई ध्यान गर्न रुचि पनि थियो ।

मनबहादुरलाई उठ्नलाई पनि अरुको सहारा आवश्यक पर्छ । ‘अहिले म थोरै उभिन पनि सक्दिनँ । डायलाइसिसको लागि अस्पतालमा ह्विल चेयरमा आवतजावत गर्छु । यो पनि अस्पतालको हो, मसँग ह्विल चेयर किन्ने पनि पैसा छैन,’ भावुक हुँदै उनी भन्छन् ।

मिर्गौला र हिप प्रत्यारोपण गर्न ४० लाखभन्दा बढी लाग्ने डाक्टरले बताएका छन् । तर उनीसँग औषधि खान समेत पैसा छैन ।

जुनबेला केही सम्पत्ति थियो, दाता पाएनन् । अहिले दाता छन्, पैसा छैन । तर पनि उनले हिम्मत हारेका छैनन् ।

‘मैले हिम्मत हारेको छैन । मलाई बाँच्नु छ । अहिले मैले धित मर्ने गरी पानी खान पाएको छैन । मेरो ठूलो सपना छैन । प्रत्यारोपण गरेपछि कलकल टन्न पानी खाने धोको छ,’ मनबहादुर भन्छन् ।

तस्वीर, भिडियो : चन्द्रबहादुर आले/अनलाइनखबर

मनबहादुर थापा मगर मिर्गौला प्रत्यारोपण मिर्गौला फेल
लेखक
मनिषा थापा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?