+
+

३२ क्विन्टल सुन तस्करी प्रकरण : धरौटी नबुझाएपछि ३ जना पनि कारागार चलान

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २७ गते १४:३३

२७ असार, काठमाडौं । ३२ क्विन्टल सुन तस्करी प्रकरणमा धरौटी माग गरिएका ३ जना कारागार चलान भएका छन् । अदालतले तोकेको धरौटी बुझाउन नसकेपछि उनीहरुलाई कारागार पठाइएको हो ।

काठमाडौं जिल्ला अदालतले धरौटी माग गरेका राजु खत्री भनिने प्रेमनाथ सेढाई, कान्छा लामा र रुपक भण्डारीलाई पनि कारागार चलान गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एसपी तथा प्रवक्ता होविन्द्र बोगटीले बताए ।

सेढाईंसँग ५७ लाख, लामा र भण्डारीलाई जनही ९७ लाख रुपैयाँ धरौटी माग भएको थियो । तर, धरौटी नुबझाएकाले उनीहरुलाई डिल्लीबजार कारागार चलान गरिएको एसपी बोगटीले बताए ।

करिब ६१ किलो सुन तस्करीको अनुसन्धान गर्दा ३२ क्विन्टल सुन तस्करी भएको प्रहरी अनुन्धानबाट खुलेको थियो । सोही प्रकरणमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश कपिलमणि गौतमको बुधबारको इजलासले पक्राउ परेका २० जनामध्ये १७ जनालाई भने पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो ।

जेल चलान हुनेहरुमा भारत महाराष्ट्रका २० वर्षीय सिद्धनाथ अशोक गायकवाड ‘सिद्धाथ’, भारतकै २२ वर्षीय धिरज दिनेश वैटे, भारत महाराष्ट्रका २२ वर्षीय प्रशान्त गणेश वजवलकार, भारत गुजरातका ७१ वर्षीय वैजनाथ महादत्त गोयल छन् ।

त्यसैगरी वीरगञ्ज महानगरपालिका–११ का ५२ वर्षीय सुरेन्द्रमान श्रेष्ठ, भरतपुर महानगरपालिका–१ पुल्चोकका ४४ वर्षीय मनोजराज श्रेष्ठ, तिब्बतका ४१ वर्षीय राजु र कंगु भनेर चिनिने गंगा टासी, सेराप र शेरब ग्याल्बा भनिने चिनियाँ नागरिक ३६ वर्षीय सोनाम गुरुङ जेल चलान भएका छन् ।

काभ्रेको नमोबुद्ध नगरपालिका–१० घर भएका पेवेल प्रालिका अध्यक्ष ४५ वर्षीय भीमप्रसाद तिम्सिना, काठमाडौं महानगरपालिका ७ का ३८ वर्षीय तथा पेवलकै सहायक कार्यकारी अधिकृत प्रज्वल आचार्य, पेवलकै कर्मचारी काठमाडौं–३२ का ४३ वर्षीय सुरज शमशेर जबरा छन् ।

त्यस्तै सजिलो पेका अध्यक्ष मध्यपर नगरपालिका–१५ का ४६ वर्षीय सुनिल जाकिबन्जा, फुन्सुक डाग्पा अथुप्छाङ खम्पा, कश्यप मानन्धर, लालबहादुर कुँवर र अरुणकुमार यादव बुधबार नै कारागार चलान भएका थिए ।

चिनियाँ नागरिक दावाजिन वाङको समूहले पानी तान्ने पम्प, स्मार्ट वाच लगायतका इलोक्ट्रोनिक सामान र ब्रेक सुमार्फत ३ हजार १९४ किलो ६६८ ग्राम सुन तस्करी भएको निष्कर्षसहित केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो ।

त्यसका आधारमा सरकारी वकिलको कार्यालयले दावाजिनसहित ६१ जनाविरुद्ध अवैध सुन पैठारी, संगठित अपराधसहित सात वटा कसुरमा मुद्दा दायर भएको थियो । जसमा ६० अर्ब ८२ करोड २२ लाख ९१ लाख २७१ रुपैयाँ बिगो मागदाबी गरिएको थियो ।

२ साउन २०८० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पास भएर बाहिरिँदै गरेको ६० किलो ७१६ ग्राम सुन राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो । पछि सीआईबीले अनुसन्धान गरेर ३६२ किलो ७७८ ग्राम सुन तस्करी गरेको निश्कर्ष दावाजिनसहित २५ जनाविरुद्ध ३१ भदौमा मुद्दा दायर भएको थियो ।

जसमा ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ रुपैयाँ बिगो मागदाबी गरिएको थियो । यो मुद्दा अदालतमा विचाराधीन नै छ । पछि पूर्वन्यायाधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको सुन तस्करी जाँचबुझ आयोगले छानबिन गरेर १ चैतमा प्रतिवेदन बुझाएपछि सीआईबीले दोस्रो चरणको अनुसन्धान गरेको थियो ।

दोस्रो चरणको अनुसन्धानमा ३२ क्वीन्टल सुन तस्करी भएको खुलेको भन्दै ६१ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?