
काठमाडौं । यो समाचार तयार पार्दासम्म फिल्म ‘घरज्वाइँ’ले देशव्यापी १७० शो प्राप्त गरेको छ । शो संख्या हेर्दा अनिल बुढा मगर निर्देशित फिल्मका लागि यो सन्तोषजनक हो ।
क्यूएफएक्सले ५८ शो दिंदा आईएनआईले १३, वान सिनेमाजले ११ शो तय गरेका छन् । शुक्रबार ‘घरज्वाइँ’ सहित चार फिल्म रिलिज हुनेछन् । अन्य नयाँ फिल्म रिलिजको बाबजुद दयाहाङ राई र मिरुना मगर स्टारर फिल्मले पाएको उक्त शो संख्या आफैंमा उत्साहजनक हो ।
अब प्राप्त शो संख्यालाई अकुपेन्सीमा रुपान्तरण गर्ने चुनौती यो सोसल–ड्रामा फिल्मसामु छ । २०८१ सालमा दयाहाङको यो चौथो फिल्म हो । यसअघि उनका ‘डिग्री माइला’, ‘मनसरा’ र ‘गाउँ आएको बाटो’ रिलिज भएका छन् । दयाहाङ र मिरुनाले स्क्रिन सेयर गरेको यो छैटौं फिल्म हो ।
विशेषगरी मल्टिप्लेक्सले शो संख्या तय गर्नुअघि दयाहाङ र मिरुनाको ट्रयाक रेकर्डलाई आधार मानेका छन् । घरेलु फिल्ममा सर्वाधिक २४ करोड ग्रस कमाउने कीर्तिमान यो जोडीको ‘कबड्डी ४’ सँग छ । त्यसपछि पनि यही जोडीको ‘जारी’ले १७ करोड कमाएर रेकर्ड राखिसकेको छ ।
इतिहास दयाहाङ र मिरुनाको पक्षमा देखिएपनि ‘घरज्वाइँ’ रिलिजपछिको बक्स अफिस भविष्य कतातिर देखिएला, यो चासोको कुरा हो । एकपछि अर्को गरी लगातार दयाहाङका फिल्म र त्यसमा पनि समुदायको कथावस्तु भएकाले दर्शकले यो ट्रेन्डलाई कसरी लेलान् भन्ने सूचक पनि ‘घरज्वाइँ’को ओपनिङले निधो गर्ला ।
एक किसिमले भन्दा ‘घरज्वाइँ’ स्टारको रुपमा दयाहाङको बक्स अफिस सूचक बन्न सक्ने अनुमान गर्न सकिन्छ । ‘आग्रे’जस्ता छोटा फिल्म बनाएर चर्चा बटुलेका अनिलको यो निर्देशकीय फिचरले मगर समुदायमा विद्यमान ‘घरज्वाइँ’को कथा पेश गर्छ । कन्टेन्ट छनोटको कारणले पनि आदिवासी जनजाति दर्शकको रुचि यसमा हुनसक्छ ।
शुक्रबार ‘घरज्वाइँ’ सहित हिन्दुस्तानी २, सरफिरा २ र लङ्लेग्स प्रदर्शन तयारीमा छन् ।
प्रतिक्रिया 4