+
+

गगन सरकारमा नजाने, प्रकाशमानको सम्भावना

लिलु डुम्रे लिलु डुम्रे
२०८१ असार २७ गते २०:०६

२७ असार, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नयाँ सरकारमा पार्टीको नेतृत्व गरेर जाने प्रस्ताव अस्वीकार गरेका छन् ।

कांग्रेस र एमालेबीच १७ असारमै केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति भएको थियो । प्रतिनिधिसभामा भोलि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यसूची छ । उनले विश्वासको मत नपाए नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।

कांग्रेसमा भने मन्त्रीहरु छनोट सुरु भइसकेको छ । स्रोतका अनुसार सभापति शेरबहादुर देउवाले सरकारमा पार्टीको नेतृत्व गरेर जाने नेताबारे छलफल गरेका छन् । नेताहरुका अनुसार दुई उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ यसअघि प्रचण्ड सरकारमा गइसकेकाले नयाँ सरकारमा पठाउने सम्भावना छैन ।

स्रोतका अनुसार डा. शेखर कोइरालाले सरकारको नेतृत्व गरेर जाने रुचि सुरुमै देखाएनन् । त्यसैले देउवाले महामन्त्री गगन थापालाई सरकारमा पार्टीको नेतृत्व गरेर पठाउन चाहेका थिए । तर उनले सरकारमा नजाने बताएका छन् ।

बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री थापाले महामन्त्री र सांसदको काम गर्न आफूलाई भ्याइनभई रहेको बताएका छन् । ‘पार्टी सभापति सहितका नेताहरुलाई मैले गराउनुपर्ने जानकारी गराइसकेको छु,’ उनले भने, ‘पार्टीको महामन्त्रीको रुपमा यो बाँकी रहेको समय काम गर्छु ।’

संसदको दुई ठूला दल कांग्रेस र एमाले मिलेर बन्ने सरकारलाई शक्तिको दुरुपयोग नगर्न सचेत गराउन पनि आफू सरकारमा जान नहुने महामन्त्री थापाको तर्क छ ।

अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि आफू अहिले सरकारमा नजाने बताइसकेका छन् ।

बुधबार झापा १ मा आयोजित कार्यक्रममा उनले भनेका थिए, ‘दुई ठूला दल मिल्दै गर्दा प्रतिपक्ष स्वर कमजोर हुन्छ भन्ने खालको बौद्धिक सर्कलको चासो र चिन्ता पनि छ । प्रतिपक्ष स्वर कमजोर हुन नदिन पनि सरकारमा म जान हुन्न ।’

सरकारमा कांग्रेसको नेतृत्व गर्ने सम्भावितमा राष्ट्रियसभा संसदीय दलका नेता कृष्ण सिटौला पनि थिए । पार्टी सभापतिको विश्वास जितेका र ओलीसँग सहज व्यवहार गर्नसक्ने सिटौला उपयुक्त हुने कांग्रेसका नेताहरुले बताएका थिए ।

सिटौला स्वयंमले सरकारमा जाने सूची नभएको बताए । अनलाइनखबसँग कुरा गर्दै सिटौलाले भनेका थिए, ‘अब बन्ने सरकारमा जाने मेरो रुचि छैन, अरुले चर्चा गरेर भएन ।’

प्रकाशमान निर्विकल्प ?

कांग्रेस नेताहरुका अनुसार सुरुमा मन्त्रीहरु मात्र पठाउने कि भनेर पनि छलफल भएको थियो । तर एमालेबाट विष्णु पौडेल सरकारमा आउँदा उपप्रधानमन्त्री दिनुपर्ने भएकाले कांग्रेसबाट पनि त्यही लिने गरी पठाउने तयारी छ ।

त्यसमा पूर्वमहामन्त्री प्रकाशमान सिंह निर्विकल्प जस्तै देखिएका छन् । केन्द्रीय सदस्य रामहरि खतिवडाले सिंहले नेतृत्व गरेर जानसक्ने सम्भावना रहेको बताए । ‘पार्टीबाट नेतृत्व गरेर जाने सम्भावित व्यक्तिमा उहाँको नाम आएको छ, उहाँकै नेतृत्वमा कांग्रेस सरकारमा जान पनि सक्छ,’ खतिवडाले भने ।

भारतमा उपचार गरेर फर्किएका उनलाई भेट्न सभापति देउवा, उपसभापति खड्का लगायतका नेताहरु चाक्सीबारी पुगेका थिए । सिंह भने बाहिर हिँडेका थिएनन् ।

तर बुधबार सभापति देउवा निवास बूढानीलकण्ठ पुगे । सिंहले देउवासामू सरकारका जाने इच्छा राखेका छन् । गत महाधिवेशनमा सभापतिको उम्मेदवार बनेका सिंहले दोस्रो चरणको मतदानमा देउवालाई सघाएका थिए । त्यसको गुन तिर्न पनि सरकारमा नेतृत्व गरेर पठाउने सम्भावना रहेको नेताहरु बताउँछन् ।

सिंह निकट बागमतीका प्रदेश सांसद कञ्चन वादेले पार्टीबाट उनले नेतृत्व गरेर जानु सबभन्दा उपयुक्त हुने बताए । ‘उहाँको सम्भावना बलियो छ, अहिलेको आवश्यकता पनि हो’ बादेले भने,‘प्रकाशमान दाइको पक्षमा पार्टीमा सबै सकारात्मक भएजस्तो लाग्छ ।’

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?