
२७ असार, काठमाडौं । विश्वकप २०२४ मा खराब प्रदर्शनसँगै श्रीलंकाका टी–२० कप्तान वानिन्दु हसरंगाले राजीनामा दिएका छन् । बिहीबार श्रीलंका क्रिकेट बोर्डलाई उनले राजीनामा पत्र पठाएका हुन् ।
‘एउटा खेलाडीको रुपमा मैले श्रीलंकालाई सधैं सक्दो गर्नेछु । मैले मेरो टोली र कप्तानलाई सधैं साथ दिनेछु’, हसरंगाले राजीनामा पत्रमा भनेका छन् ।
गत डिसेम्बरमा उनी श्रीलंकाको टी–२० आई कप्तानमा नियुक्त भएका थिए । गतवर्ष अक्टोबर-नोभेम्बरमा भारतमा सम्पन्न एकदिवसीय विश्वकपमा खराब प्रदर्शनसँगै दासुन शानकाको स्थानमा श्रीलंकाले हसरंगालाई टी–२० र कुशल मेन्डिसलाई ओडीआई कप्तानमा नियुक्त गरेको थियो ।
तर टी -२० विश्वकप २०२४ मा श्रीलंकाले राम्रो प्रदर्शन गर्न सकेन । अमेरिका र वेष्टइण्डिजमा सम्पन्न टी-२० विश्वकपमा समूह डी मा भएको श्रीलंका ४ खेलमा १ मा जित, २ मा हार र १ खेल नतिजा विहीन बन्दै चौथो स्थानमा रहेर बाहिरिएको थियो ।
श्रीलंका विश्वकपको पहिलो खेलमा दक्षिण अफ्रिकासँग ७७ रनमा अल आउट हुँदै ६ विकेटले पराजित भएको थियो । बंगलादेशसँग २० ओभरमा १२५ रन बनाउँदा २ विकेटले पराजित भएको थियो । नेपालसँग भने वर्षाको कारण टस पनि हुन नपाई खेल रद्द भएको थियो । नेदरल्यान्ड्सलाई भने उसले ८३ रनले हराएको थियो ।
हसरंगाको कप्तानीमा श्रीलंका १० टी–२० आईमा ६ मा जित र ४ खेलमा हार ब्येहोरेको थियो । जुलाई २६, २७ र २९ मा श्रीलंकाले घरेलु मैदानमा भारतसँग तीन टी-२० आई खेलको सिरिज खेल्दैछ । कुशल मेन्डिस अब टी-२० आईको कप्तान बन्ने सम्भावना उच्च छ ।
श्रीलंका मुख्य प्रशिक्षक क्रिस सिल्भरहुडले पनि विश्वकपमा खराब प्रदर्शनसँगै पदबाट राजीनामा दिएका थिए । श्रीलंकाले सनाथ जयसूर्यालाई अन्तरिम मुख्य प्रशिक्षकमा नियुक्त गरिसकेको छ ।
प्रतिक्रिया 4