+

१०औं राष्ट्रिय खेलकुदमा ३५ खेल प्रस्ताव

२०८१ असार  २७ गते २०:२० २०८१ असार २७ गते २०:२०
१०औं राष्ट्रिय खेलकुदमा ३५ खेल प्रस्ताव

२७ असार, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले सुर्खेतमा हुने १०औं राष्ट्रिय खेलकुदमा ३५ खेलमा ४१९ स्पर्धा प्रस्ताव गरेका छन् ।

सदस्य–सचिव घिसिङले बिहीबारको बैठकमा पोखरामा भएको नवौं राष्ट्रिय खेलकुदमा समावेश ३६ खेलमध्ये प्याराग्लाइडिङ बाहेक ३५ खेल प्रस्ताव गरेका हुन् ।

राखेपले १०औं राष्ट्रिय खेलकुद आगामी मंसिर २ देखि ९ गते गर्ने जनाएको छ । त्यसअघि विभिन्न ६ खेलको प्रतियोगिता भने कात्तिक २७ गतेदेखि नै सुरु गर्ने गरी प्रस्ताव गरिएको छ ।

जसमा महिला फुटबल, उसु, पुरुष/महिला बास्केटबल, जुडो, पुरुष/महिला हक्की र तेक्वान्दो खेललाई राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन अगावै गर्ने गरी प्रस्ताव गरिएको हो । निर्णायक संख्या १ हजार ४९९ प्रस्ताव गरिएको छ ।

बैठकमा सदस्य–सचिव घिसिङले राष्ट्रिय खेलकुदका लागि सरकारबाट ६० करोड बजेट सुनिश्चित भइसकेको जानकारी गराउँदै कर्णाली प्रदेश खेलकुद विकास परिषद्लाई तयारी अगाडि बढाउन बजेट उपलब्ध गराउने बताए ।

उनले लोगो र मस्कटको छनोट भइसकेको अवगत गराउँदै खेल पोशाकको व्यवस्थापन गर्ने जिम्मेवारी सम्बन्धित प्रदेशलाई दिने गरी तयार थालिएको बताए ।

सदस्य–सचिव घिसिङले अन्तर्राष्ट्रिय प्रचलन अनुसार दसौं राष्ट्रिय खेलकुद सकिए लगत्तै नेपालमा पहिलोपटक कर्णालीमै पारा खेलकुद पनि आयोजना गर्न लागिएको बताए ।

राखेपका उपाध्यक्ष शिव कोइरालाले खेलकुद सञ्चालन निर्देशिका संशोधनका विषयमा प्राप्त सुझावलाई सम्बोधन गरिने बताउँदै तोकिएकै समयमा १०औं राष्ट्रिय खेलकुद गर्नुको विकल्प नरहेको बताए ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव विश्वामित्र सन्ज्यालले आवासको व्यवस्थापनकान कारण कर्णाली प्रदेशको ५ जिल्लामा २२ देखि २४ खेल मात्र गर्न सकिने बताउँदै बाँकी खेलका विषय चाँडै टुंगो लगाउनु गर्नुपर्ने बताए ।

बैठकमा सहभागी प्रदेश खेलकुदका सदस्य–सचिवहरूले गाउँपालिकादेखि नै खेलाडी छनोट हुनुपर्ने, एक खेलमा कम्तीमा ५ टिम सहभागी हुनुपर्ने, बजेट समयमा निकासा हुनु पर्नेलगायतका विषयमा धारणा राखेका थिए ।

राष्ट्रिय खेलकुद परिषद्
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय