+
+

भद्रकाली मन्दिर परिसर पुनःनिर्माण सुरु

रासस रासस
२०८१ असार २७ गते २०:२६

२७ असार, काठमाडौँ । काठमाडौंको भद्रकाली मन्दिर परिसर पुनःनिर्माण सुरु गरिएको छ । ३४ करोड ८० लाख ७१ हजार रुपैयाँ लागतमा मन्दिरको दक्षिण पश्चिमबाट पुनःनिर्माण सुरु गरिएको हो ।

काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले आज मन्दिर परिसर पुनःनिर्माणको शिलान्यास गरिन् । विसं २०७२ को भूकम्पले मन्दिर जीर्ण भए पनि अझै पुनःनिर्माण हुन सकेको थिएन  ।

मन्दिरको पश्चिम, उत्तर र दक्षिणतिर पाटी सत्तललगायत भवन संरचना छन् । कामपा सम्पदा तथा पर्यटन विभागका वरिष्ठ इञ्जिनियर रविन्द्र रिजालकाअनुसार तुल्सी अम्बुजा जेभीले पुनःनिर्माणको ठेक्का पाएको छ । कामपाले निर्माण पक्षसँग गत जेठ ६ गते सम्झौतागरी यही असार ३ गते कार्यादेश दिएको छ ।

यसको निर्माण परम्परागत नेवारी शैलीमा हुनेछ । कुँदिएका बुट्टेदार ढोका, झ्याल, थाम हुनेछन् । छानो झिँगटीको हुनेछ । उत्तर (भृकुटीमण्डप) तर्फ दुई वटा ब्लक आपसमा जोडिने जनाइएको छ ।

दक्षिणतर्फ (नेपाली सेनाको पेट्रोलपम्पतर्फ) तीन वटा ब्लक हुने र यिनीहरु पनि आपसमा जोडिएको हुने महानगरले जनाएको छ । यसरी पुनःनिर्माण हुने भवनको क्षेत्रफल ३९ हजार वर्गफिट हुने जनाइएको छ । यसको डिजाइन कामपा सहरी योजना आयोगले तयार पारेको हो ।

पुनःनिर्माणका क्रममा मन्दिर क्षेत्रमा भएका संरचना, शिल्प र शैलीको अभिलेखन तयार पार्ने जिम्मा पुरातत्व विभागलाई दिइएको छ । हालको संरचना भत्काएपछि सङ्कलन हुने निर्माणजन्य सामग्री पुरातत्व विभाग, गुठी संस्थान, लुमधी भद्रकालीे व्यवस्थापन समितिसहितको सहजीकरण समितिले समन्वय र व्यवस्थापन गर्नेछ ।

कामपाकी उपप्रमुख डङ्गोलले, भद्रकाली सबै श्रद्धालुहरुको आस्थाको केन्द्र भएको उल्लेख गरिन् । उनले यसको प्राचीनता बचाउनसके सबैले गर्व गर्न लायक हुने बताइन् ।
कामपा वडा नं ११, २१ र २२ का अध्यक्षहरु हीरालाल तण्डुकार, उदय चूडामणि बज्राचार्य र चिनीकाजी महर्जनले, भद्रकाली धार्मिक आस्थासँग जोडिएको पीठका रुपमा चिनिएको स्मारक भएको उल्लेख गरिन् ।

भद्रकाली कामपाको वडा नं ११ मा अवस्थित भए पनि यससँग सम्बन्धित जात्रा पर्व, संस्कार, संस्कृति तथा परम्परा वडा नं २२ सहित भित्री वडासँग सम्बन्धित छन् । सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राईले यो बहुपक्षीय सम्बन्ध राख्ने पुनःनिर्माण रहेको बताइन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?