+
+

विद्यालय शिक्षामा हामी कहाँ चुक्यौं ?

विद्यालय शिक्षक, अभिभावक तथा स्थानीयको मात्रै चासोको विषय हैन । हाम्रा विद्यार्थी अरू देशमा जाँदा देशको शैक्षिक इज्जत पनि साथै लैजान्छन्, हामीलाई हेक्का रहोस् !

राधाकृष्ण हुमागाईं राधाकृष्ण हुमागाईं
२०८१ असार २८ गते ११:२८

नेपालमा शिक्षा क्षेत्रमा खास गरेर नतिजाको समयमा हरेक वर्ष धेरै नै बहस छेड्ने बानी हामीलाई परिसकेको छ । सार्वजनिक पदमा रहेका वा निजी जसलाई पनि मन पोलेको पाइन्छ । कहिले नतिजा आउला र बेस्सरी समीक्षा गरौंला झैं भएको पाइन्छ । यसपालिको एसईईको नतिजापछि हालसम्म यो बहस छेडिरहेको छ । कक्षा ११, १२ तथा माथिल्लो तहमा आउने नतिजामा भने त्यति ठूला बहस देखिंदैनन् । कारण के पो होला ? शैक्षिक बहस त हरेक तहमा हुनुपर्ने होला । कि बजारमा भनिए झैं हाम्रो आई क्यू लेवल त्यति मात्रैको पो हो कि ?

नेपाल सरकारको राष्ट्रिय शिक्षा नीति २०७६ ले धेरै सपना देखेको छ । कार्यविधि बनिरहेकै छन् । तर पनि शिक्षा क्षेत्रमा अपेक्षित उपलब्धि पाँच वर्षको कार्य अवधिमा नदेखिनुले पनि विद्यालय शिक्षामा नतिजा नदेखिएको होला । यो वर्षको शिक्षा मन्त्रालयमा विनियोजित बजेट शिक्षा क्षेत्रमा धेरै नै छ तर अघिल्लो वर्ष विनियोजित बजेटको उपलब्धिमा यो वर्ष शैक्षिक क्षेत्रले अग्रगामी छलाङ हान्छ चैं कम्तीमा मलाई लाग्दैन र मलाई गलत कृपया वर्षको अन्त्यमा गरिदिनुहोला । माथिको विषयसँगै हामी विद्यालय शिक्षामा कहाँनेर चुकेका छौं भनी बँुदागत रूपमा राख्न चाहन्छु ।

१. शिक्षकको पेशागत विकास

हामीले खासै धेरै कुरा गर्नुपथ्र्यो तर गर्न र सोच्न समेत कम गरियो । २०७६ सालमा आएको पाठ्यक्रमको प्रबोधीकरण हुन नसकेको र पाठ्यक्रमको मर्म अनुरूप सिकाइ हुन नसक्नुले भोलिको सिकाइमा प्रत्यक्ष प्रभाव पारेकाले यसमा सोच्नुपर्छ कि ! एक दुई जना शिक्षकलाई हैन सबै शिक्षकलाई तालिम नभएरै हामी चुकिराखेका छौं ।

भर्खर आयोग पास गरेका शिक्षकलाई कम्तीमा सेवा प्रवेशमा यस्ता तालिम दिनुपर्ने थियो । उहाँहरू पनि पालो कुराइमै बस्नुपर्ने हो । समय बदलिएको छ, पाठ्यक्रमले तोकिएको विधि पद्धतिमा अभ्यस्त नभई कक्षाकोठामा प्रवेश गर्दा सिकाउँछन् भनेर कसरी भन्न सकिएला र ! हो हामी विद्यालय शिक्षामा प्रथम पक्षमा यहाँ चुक्यौं होला ।

२. शिक्षकको पेशागत सहयोग

शिक्षक कुनै जादुको छडी बोकेर कक्षामा गएका हुँदैनन् । सीपमा निखारता दिन उहाँहरूको कक्षा नियमित अवलोकन गरेर, पाठ्यक्रम अनुरूप आवश्यक पृष्ठपोषण दिन सकेमा र सो कार्य हरेक महिना चलाउन सकेमा सिकाउने क्षमतामा झन् सरलता तथा गुणस्तरीयता झल्किन्थ्यो ।

राज्यले यसलाई मूल प्रवाहमा राख्नै सकेको छैन । शिक्षक आफैंले यसमा केही गर्न नसकेकाले वा विद्यालयमा वा पालिकाले यस्ता व्यवस्था गर्न नसकेकाले कक्षा सिकाइपश्चात् पेशागत सहयोग पाउन नसक्नु पनि विद्यालय शिक्षा सुधारको एउटा जटिल पक्ष हो ।

३. अभिभावकको क्षमता विकास

अबका दिनमा अभिभावकको गतिलो साथ पाइएन भने शिक्षा क्षेत्रलाई प्रभावकारी बनाउन कम सकिएला । विद्यालय शिक्षामा अभिभावक तथा समुदायको बढी चासो रहेकाले यसमा ध्यान बढी नै दिनुपर्छ । अभिभावक बैठक भन्ने बित्तिकै सबै अभिभावक हलमा आउने, ताली बजाउने अनि सब ठिक भयो र हुनेछ भन्ने भाष्यबाट अब विद्यालय मुक्त हुनुपर्छ । अब हरेक अभिभावकलाई भेट्ने हो, व्यक्तिगत सहमति बनाउने हो भनेर बुझौं ।

अभिभावकको घर–घरमा, खेत–खेतमा पुगौं कुरा बुझाऔं र भनौं हामी तपाईंको भविष्यको लागि यहाँ छौं । हामी यी काम कम गरिराखेका छौं, उनीहरूलाई कम सुनिराखेका छौं र अभिभावक कुरी राखेका छौं । तरिका बदलौं ।

४. प्रधानाध्यापकको व्यवस्थापकीय क्षमता विकास

प्रधानाध्यापक को हुने भन्नेमा हामी रुमल्लिरहेका हुन्छौं । वरिष्ठतामा खटपट भैरहने । यदि प्रधानाध्यापक भयो भने हामी के हेर्न सक्दैनौं भने प्रशासकीय क्षमता, विषय विज्ञता आदि । प्रधानाध्यापकलाई खासै क्षमता विकासमा कम लगानी भइराखेको पाइन्छ ।

हामी राम्रो विद्यालयको परिकल्पना गर्ने, राम्रा शिक्षकको परिकल्पना गर्ने, राम्रा अभिभावकको बारेमा धारणा बनाउने र प्रधानाध्यापक राम्रो हुनुपर्नेमा नसोच्ने भएकाले पनि विद्यालय शिक्षामा अपेक्षा अनुरूप नतिजा आइराखेको छैन । हाम्रा हैन अब्बल खोजौं, परिवर्तन आवश्यक हो भने गरौं तर विद्यालय शिक्षामा सम्झौता नगरौं ।

५. सिकाइमा नवीनता र प्रविधिको प्रयोग

शिक्षणका दौरान कक्षा कोठा शिक्षणमा नवीनता भर्न सकिएन भने रसिलो–पोसिलो कक्षा सिकाइ वातावरण नहुन सक्छ । हालको पाठ्यक्रमले साना कक्षामा कार्यसञ्चयिकाको आधारमा मूल्याङ्कन गर्ने भनेको छ । विद्यार्थीका कार्यका आधारमा अभिभावकको राय सहितको मूल्याङ्कनमा जोड दिएको छ । परीक्षा मात्रै मूल्याङ्कन होइन भन्ने बुझाइमा जोड दिइएको छ ।
हरेक शिक्षकले विद्यार्थी पढ्ने हो, विषय तथा सक्षमताका आधारमा निर्धारण गरेका शिक्षण विधि अपनाउने हो भने सिकाइ र सिकारुमा फरक पाइन्छ । शिक्षण गर्ने व्यक्तिले शिक्षण पेशासँग सम्बन्धित अनुसन्धान तथा घटनाको अध्ययन, आफैंले कार्यमूलक अनुसन्धान गर्ने हो भने शिक्षणमा नवीनता झल्किन्छ होला तर यसमा कसको ध्यान !

विद्यालय प्रशासन यसमा गम्भीर देखिंदैनन् । हामीलाई फुर्सद कहाँ छ र भनिन्छ । विद्यार्थी घटेर आज हो कि भोलि हो को अवस्थामा भइसक्यो अब कहिले सोच्ने होला ? विद्यालयमा पठन संस्कृतिको आधारभूमि मानिने पुस्तकालयमा कि पुस्तक खोलिएका छैनन्, कि त पुस्तकालय नै छैनन् ।

राज्यले राम्रो लगानी हरेक वर्ष प्रति विद्यार्थी पुस्तकमा गरेको छ खै त प्रतिफल आएको ? अनि एक्कासी एसईईको नतिजामा खोजेर पाइन्छ ? हामी पूर्णाङ्क ल्याउने गरी पढ भनिराखेका छौं तर नेपाली, अङ्ग्रेजी, सामाजिक जस्ता विषयमा जहाँ भाषामा खेलिन्छ के हामीले पूर्णाङ्क उत्तर लेखिदिएका छौं त ?

शिक्षण सबैलाई हो कतै केही विद्यार्थीलाई साथमा राखेर अरूलाई छोड्यौं कि ! यदि यो अवस्थालाई सुधार गर्न सकिएमा र विद्यमान प्रविधिमा शिक्षणलाई जोडेर शिक्षण भएमा कथा अर्को बन्न सक्छ । हो हामी यहाँनेर धेरै नै चुकिराखेका छौं ।

६. पालिकामा विद्यालयलाई सहयोग

संघीयतासँगै हामीले पालिकामा धेरै अपेक्षा गरिराखेका छौं । यो एउटा स्वाभाविक पनि देखिन्छ । हाम्रा पालिकाले अब जादु गरेर शिक्षामा खास परिवर्तन गर्छ भन्नुपूर्व एउटा पालिकामा शिक्षा शाखामा थोरै जनशक्ति हुँदोरहेछ बुझ्नु आवश्यक होला । पालिकामा रहेका एक–दुई जना कर्मचारीले पालिकाको सिङ्गो शैक्षिक प्रशासन चलाउने, तलब, भत्ता, विविध फाइल र भैपरी आए निमित्त प्रशासक ।

खासमा पालिकामा जति प्राविधिक जनशक्ति धेरै भए त्यत्ति धेरै विद्यालय भ्रमण तथा सहयोग हुन्छ । पालिकाले सबै कुरा गर्ला तर सबै कुरा गर्न–गराउन पालिकामा धेरै स्रोत दिनुपर्दछ । शिक्षा शाखाले शिक्षासँगै युवा तथा खेलकुदका गतिविधि सञ्चालन गर्नुपर्छ र कर्मचारी शिक्षा विषयमा अध्ययन गरेको नै चाहिंदारहेछन् । विद्यालय शिक्षाका सुधारका निमित्त यहाँनेर राज्यले सुन्नुपर्छ होला ।

७. सिकाइलाई जीवनसँग नजोडेर

विद्यालय शिक्षामा रहेका हरेक पाठ तथा क्रियाकलापले समाजवाद उन्मुख संविधानको मार्ग चिनाउँछ साथै शिक्षाको राष्ट्रिय उद्देश्य र हालको दिगो विकासको लक्ष्यलाई बोक्छ । यी र यस्ता विशेषता बोकेको शिक्षालाई जीवन जगतसँग जोडिएन भने हामी डुङ्गाको चाल झंै जीवन चलाइराखेका हुन्छौं ।

कसरी जीवनसँग जोड्ने भनेर हामीकहाँ चिन्तन भएकै हुँदैन तर हामी बहमा बहकियौं भने विभिन्न वादमा घण्टौं बहस छेड्न सक्छौं । जीवनसँग जोड्ने कैयौं परियोजना कार्य छोडेर सीमित पाठ्पुस्तकका सीमित कार्यलाई सिकाइ ठानेर नै हामीले विद्यालय शिक्षामा कमजोर नतिजा दिइरहेका छौं ।

८. विद्यालय समायोजन तथा घुम्ती शिक्षक

मुकाम वरपर विद्यालय तथा शिक्षकको घुइँचो पाइन्छ । प्रायः एउटै वडामा ३ वटा मा.वि., विद्यार्थी थोरै । यी सब के गर्नका लागि ? समायोजनमा जाने, घुम्ती शिक्षक बनाउने यसो गर्दा गुणस्तरमा वृद्धि हुन सक्ला । समायोजनमा स्थानीय तहका जनप्रतिनिधि अलि निर्मम हुनुपर्ने देखिन्छ ।

पहिले गाउँमा जनसंख्या थियो, विद्यालय चलेका थिए । अहिले जनसंख्या नभएकाले नजिकैको अर्को विद्यालयमा गाभ्यौं भन्न सक्नुपर्छ । अर्को तीनवटा विद्यालयमा एउटै मा.वि. विषयको घुम्ती शिक्षक, आवश्यक सेवा–सुविधा थपदिऊँ तब सिकाइ एउटै बन्छ । विद्यालयमा यसो गर्दा सिकाइमा व्यापक परिवर्तन हुन सक्छ ।

९. पुरस्कार तथा शैक्षिक बहस

विद्यालयलाई हामीले शैक्षिक बहसको हब बनाउनै सकेनौं वा सोचिएन जसले शैक्षिक घाटा वर्षेनि व्यहोर्दै आएका छौं । विद्यालय एउटा जीवन्त संस्था हो । जहाँबाट पास भएका सयौं विद्यार्थीको शैक्षिक जीवनलाई जोड्न सक्छौं । सिकाइ साट्ने साझा थलो बनाउन सक्थ्यौं त्यसतिर सोच्न हामीले समय खर्चेका छैनौं ।

दोस्रो हामी मासिक रूपमा सञ्चालन हुने शिक्षक बैठकमा केवल सिकाइको कुरा गरौं, पाठको बारेका समीक्षा गरौं, सिकाइ योजनाका बारेमा कुरा गरौं । अहिले त बैठक लाइभको चलन छ । सकिन्छ त्यो पनि गरौं । अभिभावकलाई जोडौं । समुदायलाई जोडौं । असल अभ्यास गर्ने शिक्षकलाई पुरस्कृत गरौं अरूलाई प्रेरणा दिऔं । यी कामको सुरुवात गरौं न ।

१०. विद्यालय व्यवस्थापन समिति

मौजुदा विद्यालय व्यवस्थापन समितिले धेरै कुराको व्यवस्थापन, अनुगमन तथा विद्यालयको शैक्षिक वातावरण निर्माणमा काम कम गर्नुपर्छ । के के कसरी गर्ने–गराउने भनेर विद्यालय व्यवस्थापन समितिलाई तालिम दिनुपर्छ । तालिम पालिका, वडा तथा शिक्षा इकाइले गराउँदा राम्रो होला । कतै विद्यालय व्यवस्थापन समिति राजनैतिक मनसायले सञ्चालन भएका त छैनन् ? जसका कारणले शैक्षिक वातावरण नबनेको हो कि ? हेक्का चाहिं के हुनुपर्छ भने विद्यालय व्यवस्थापन समितिले विद्यालयको शिक्षाको गुणस्तर हेरेर आम अभिभावकलाई बुझाउनुपर्छ । विद्यालय व्यवस्थापन समितिले कि त काम बुझेन कि त काम बुझाइएन र विद्यालय शिक्षा खस्किएको हुन सक्छ ।

माथि उल्लिखित बुँदा मात्रै सत्य होइनन् अरू थपघट हुन सक्छन् । हामीले शिक्षक नियुक्तिमा ध्यान कम दिएका छौं नत्र खै त जेहेन्दार विद्यार्थी विद्यालयमा सेवामा प्रवेश गराएको । नीतिले भने झैं, के भोलि राम्रो होला भनेर अहिले कमजोर विद्यार्थी र नतिजा दिने हामी छुटमा पर्छौं र ? चिन्ता र चिन्तन एकसाथ हामीलाई चाहिएको छ । विद्यालयलाई नजिकबाट ननियाली भन्न किमार्थ सकिंदैन ।

हामी सधैं असल मन्त्री, प्रशासक, नेताका छोराछोरी विद्यालयमा आउलान्, निजी विद्यालय बन्द होला र सामुदायिक विद्यालय राम्रो बनाउँला भनेर बस्यौं र बस्छौं भने तपाईं हामी यसरी बहस छेडिरहेका हुनेछौं । सांसद, मन्त्री र मातहतका कर्मचारीले यस्तो बनाउनु पर्‍यो उस्तो हुनुपर्छ भनेको सुन्नुपर्दा ताज्जुब लाग्छ ।

विश्वविद्यालयले यस्ता विषयमा व्यापक सुधारका लागि सरकारलाई सहजीकरण गर्नुपर्छ । विद्यालय शिक्षक, अभिभावक तथा स्थानीयको मात्रै चासोको विषय हैन । हाम्रा विद्यार्थी अरू देशमा जाँदा देशको शैक्षिक इज्जत पनि साथै लैजान्छन्, हामीलाई हेक्का रहोस् !

(लेखक काठमाडौं विश्वविद्यालयमा एम.फिल अध्ययनरत छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?