+
+
फ्राइडे रिलिज :

हलमा लागे ‘घरज्वाइँ’सहित चार फिल्म, कुन हेर्ने ?

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २८ गते ११:५०

काठमाडौं । शुक्रबारदेखि नेपालमा चार फिल्म प्रदर्शनमा आएका छन् । नेपाली भाषाको ‘घरज्वाइँ’सहित बलिउडको ‘हिन्दूस्तानी २’, ‘सरफिरा’ र हलिउडको ‘लङलेग्स’ रिलिज भएका छन् ।

‘घरज्वाइँ’को लम्बाइ १२७ मिनेट र युनिभर्सल सर्टिफिकेट छ । अनिल बुढा निर्देशित फिल्मले मगर समुदायमा प्रचलित घरज्वाइँ परम्पराबारेको कथा पेश गर्छ । पूर्वी रुकुममा छायांकन गरिएको फिल्मको शीर्ष भूमिकामा दयाहाङ राई र मिरुना मगर छन् ।

मन पराएकी युवती बिन्जुरीलाई विवाह गर्न मुख्य पात्र सोरोले घरज्वाइँ बस्नुपर्ने सर्त पालना गर्नुपर्छ । तर, मुख्य पात्र घरज्वाइँ बस्न तयार छैन । यसपछि फिल्ममा रोचक घुम्तीहरु आउँछन् । तपाईंलाई आदिवासीको परम्परागत कथावस्तु जान्न र समुदाय बुझ्न मन छ भने यो फिल्म दर्शनीय हुनसक्छ ।

‘लङ् लेग्स’ हलिउडको एडल्ट फिल्म हो जसलाई रटन टम्याटोजले अहिलेसम्मकै उत्कृष्ट हरर फिल्मको रुपमा ब्याख्या गरेको छ । एक एफबीआई एजेन्टले सिरियल किलरको खोजी गर्दा रहस्यमय तथ्य पत्ता लगाउँछ । यो डरलाग्दो हत्याको श्रृंखला अन्त्य गर्न उसले संघर्ष गर्नुपर्छ ।

क्राइम, हरर र थ्रीलर जनरामा राखिएको यो फिल्मको लम्बाई १०१ मिनेट र एडल्ट सर्टिफिकेट प्राप्त छ । ओज पर्किन्स निर्देशित फिल्ममा माइका मोनरो, निकोलस केज र एलिसिया विटको शीर्ष भूमिका छ ।

अक्षय कुमार स्टारर बलिउड ड्रामा ‘सरफिरा’को लम्बाई १५६ मिनेट छ । यो फिल्मले स्टार्टअप र उड्डयनको क्षेत्रको एक अविश्वसनीय कथा भन्छ । आम मानिसलाई ठूला सपना देख्न र संसारले तपाईंलाई पागल हो भनेपनि सपनालाई पछ्याउन प्रेरित गर्छ ।

सुधा काेंग्रा निर्देशित फिल्ममा अक्षयसहित सुरिया र राधिका मदनको शीर्ष भूमिका छ ।

कमल हसन निर्देशित ‘हिन्दुस्तानी २’ पनि शुक्रबारदेखि हलमा रिलिज भएको छ । थ्रीलर, एक्सन र ड्रामा जनरामा राखिएको यो फिल्मलाई एस शंकरले निर्देशन गरेका हुन् ।

सेनापति नामक एक भूतपूर्व सेनानी कसरी भ्रष्टाचारको विरुद्ध लडाईमा जागरुक बन्छ भन्ने कथा यसमा छ । इन्टरनेटमा भिडियो पोस्ट गरेर भ्रष्टाचारीको पर्दाफास गरिरहेको युवकलाई सघाउन सेनापति स्वदेश फर्किन्छ र कथा अघि बढ्छ । यो फिल्मको लम्बाई १८१ मिनेट छ र पीजी सर्टिफिकेट प्राप्त छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?