+

झाडापखाला लाग्दा कस्तो अवस्थामा अस्पताल जाने ?

२०८१ असार  २८ गते १३:३० २०८१ असार २८ गते १३:३०
झाडापखाला लाग्दा कस्तो अवस्थामा अस्पताल जाने ?

वर्षायाम सुरु भएसँगै झाडापखालाबाट बिरामी हुनेहरूको संख्या बढ्छ । दिनमा तीन वा सोभन्दा बढी पानी जस्तो पातलो दिसा भएमा झाडापखाला भनिन्छ । साथै पेट दुख्ने, ज्वरो आउने, भोक नलाग्ने तथा बान्ता आउने यसका लक्षण हुन् ।

प्रायः जीवाणु, विषाणु तथा परजीवी लगायतको संक्रमणले गर्दा झाडापखाला लाग्छ । सालमोनेल्ला, इकोलाई, कमपाइलोब्याक्टर र सिगेल्ला जस्ता ब्याक्टेरिया, जियारडिया लाम्ब्लिया, ई–हिस्टोलाईटिका र क्रिप्टोस्पोरिडियम जस्ता परजीवी, रोटा र नोरो भाइरस शरीरमा प्रवेश गरी पाचनमा असर गर्दा पनि झाडापखाला हुन्छ ।

दूषित पानी पिएमा, सडे गलेको, झिंगा बसेको खाना खाएमा, काँचै खाने तरकारी वा फलफूल सफा नगरी खाएमा, हात नधोई खाना खाएमा दिसामा भएका रोगका जीवाणुहरू पानी, खाना र हातको माध्यमबाट शरीरभित्र प्रवेश गर्छ र झाडापखाला लाग्छ ।

झाडापखाला लाग्दा शरीरमा पानी र इलेक्ट्रोलाइट्स (सोडियम, पोटासियम र मिनरल्स) दिसाबाटै अत्यधिक मात्रामा जाँदा शरीरमा अत्यधिक मात्रामा पानी कम हुन थाल्छ । र, तुरुन्त ध्यान दिएन भने डिहाइड्रेसन (जलवियोजन) लगायतका अन्य स्वास्थ्य समस्या हुनसक्छ ।

झाडापखालाले बालबालिका र वृद्धमा प्रतिरोधात्मक क्षमता पनि कम गराउँछ । डिहाइड्रेसन पनि भइरहेको छ तर उपचार भएन भने मिर्गौला खराब, स्ट्रोक, हृदयाघात वा मृत्यु हुने जोखिम रहन्छ ।

झाडापखाला हुँदा किन जवनजल खाने सल्लाह दिइन्छ ?

झाडापखाला लागेपछि चिकित्सकको सल्लाह विना ढुक्क भएर खान सकिने औषधि जीवनजल हो । जीवनजलले झाडापखाला रोक्ने मात्र होइन, यसले शरीरलाई ऊर्जा दिने पनि काम गर्छ । नजिकैको औषधि पसलमा सजिलै पाइने भएकाले झाडापखालाको समस्यामा यसको प्रयोग सबैभन्दा सरल उपचार विधि हो ।

जीवनजल विश्व स्वास्थ्य संगठनबाट मान्यताप्राप्त ओरल रिहाइड्रेसन साल्ट हो । अर्थात्  नुन र चिनीको मिश्रण । जब पानीमा मिसाएर यसलाई तयार पारिन्छ, त्यसलाई रिहाइड्रेसन साल्ट भनिन्छ । यसमा सोडियम क्लोराइड, पोटासियम क्लोराइड, सोडियम साइटेटजस्ता पदार्थ हुन्छन् । जीवनजलले शरीरमा ऊर्जा दिने हुँदा यसलाई जीवन रक्षक औषधि पनि भन्ने गरिन्छ ।

यसले पखाला र बान्ता जस्ता अवस्थामा शरीरमा हुने नुनको क्षतिको भरपाई गर्छ । र, जति शरीरबाट तरल पदार्थ बग्छ, त्यति जीवनजल पिएमा शरीरमा स्फूर्ति कायमै रहन्छ । अन्य थप जटिलता समेत हुन पाउँदैन ।

जीवनजलमा  भएको सोडियम क्लोराइड जुन शरीरमा तरल पदार्थ र इलेक्ट्रोलाइट सन्तुलन कायम राख्न मद्दत गर्छ । निर्मलीकरणको कारणले क्षति भएको इलेक्ट्रोलाइट्स र तरल पदार्थ परिपूर्ति गर्छ । पानीको सन्तुलन राख्ने र सम्पूर्ण अंगमा पठाउन मद्दत गर्ने, हृदय कार्य, साथै मांसपेशी र स्नायु कोषिकाको कार्यमा सहयोग गर्छ । पोटासियमले मिर्गौला र एड्रेनलको कार्यलाई कायम राख्न मद्दत गर्छ । पानी-इलेक्ट्रोलाइट सन्तुलन कायम गरेर पखाला र बान्ताको उपचारमा मद्दत गर्छ ।

झाडापखालाको समस्यामा जीवनजल एकदमै प्रभावकारी औषधि हो, यसलाई अमृतजल समेत भन्न सकिन्छ । तर पछिल्लो समय मानिसहरू झाडापखालाको समस्यामा जीवनजल भन्दा पनि महंगो एन्टिबायोटिक खाने गर्छन् । तर चिकित्सकको सल्लाह विना आफैं एन्टिबायोटिकको प्रयोग गर्नु गलत हो । चाहिने अवस्थामा चिकित्सकले नै एन्टिबायोटिक दिइहाल्छन् ।

कस्तो अवस्थामा जानुपर्छ अस्पताल ?

झाडापखाला हुँदा धेरैलाई पातलो दिसासँगै बान्ता पनि हुन्छ  । एक दुई पटक बान्ता हुँदा त केही समस्या नहोला तर जीवनजल पिउन नसक्ने गरी बान्ता भयो भने त्यो अवस्थामा अस्पताल गएर चिकित्सकको सल्लाह लिनुपर्ने हुन्छ ।

जीवनजल पिउन नसक्ने हुँदा बिरामीको शरीरमा पानी–इलेक्ट्रोलाइट सन्तुलन राख्न बिरामीलाई ‘सलाइन पानी’ दिनुपर्ने हुन्छ । त्यसैले अस्पताल नै भर्ना भएर उपचार गर्नुपर्छ ।

यदि ४८ घण्टासम्म पनि झाडापखाला निको भएन र ज्वरो पनि घटेन भने चिकित्सकको परामर्श लिइहाल्नुपर्छ, किनकि यो निकै कडा खालको झाडापखालाको संकेत हो ।

झाडापखालाको उपचारको आधारभूत उद्देश्य भनेको दिसा हुने प्रक्रियालाई सामान्य अवस्थामा ल्याउनु नै हो । औषधि खाँदा पनि पखाला रोकिएको छैन भने अस्पताल गएर चिकित्सकलाई भेट्नुपर्छ ।

झाडापखालाबाट बच्ने उपाय

झाडापखाला खाना तथा पानीबाट सर्ने रोग हो । त्यसैले स्वस्थ जीवनशैली तथा आनीबानी र स्वस्थ आहार विहारले यो रोग लाग्न तथा फैलिनबाट जोगाउँछ । खाना बनाउनुअघि, खानुअघि र दिसा धोइसकेपछि राम्रोसँग साबुनपानीले हात धुने गर्नुपर्छ । खानेकुरा राम्रोसँग पकाएर मात्र खाने, फोहोर, बासी तथा सडेगलेको खानेकुरा नखाने, पानी उमालेर मात्र पिउने, फलफूल, सागपात तथा सलादहरू राम्रोसँग धोएर तथा सफा गरेर मात्र खाने गर्नाले पनि झाडापखालाबाट बच्न सकिन्छ ।

झाडापखाला डा. शेरबहादुर पुन
डा. शेरबहादुर पुन
लेखक
डा. शेरबहादुर पुन
सरुवारोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ३४७७ एमडी, पीएचडी, संक्रामकरोग विज्ञ सरुवारोगमा दुई दशकभन्दा बढीको अनुभव, हाल शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

तीजको दर खाँदा र व्रत बस्दा के कुरामा ध्यान दिनैपर्छ ?

तीजको दर खाँदा र व्रत बस्दा के कुरामा ध्यान दिनैपर्छ ?

वृद्ध उमेरको यौन जीवन : मिथक र यथार्थ

वृद्ध उमेरको यौन जीवन : मिथक र यथार्थ

कतिपय महिलामा दाह्रीजुँगा किन पलाउँछ ?

कतिपय महिलामा दाह्रीजुँगा किन पलाउँछ ?

दाँत पहेंलो हुन्छ, के कारणले होला ?

दाँत पहेंलो हुन्छ, के कारणले होला ?

मानसिक स्वास्थ्य समस्याको पहिचान र उपचार

मानसिक स्वास्थ्य समस्याको पहिचान र उपचार

शिरोधारा के हो, किन गरिन्छ ?

शिरोधारा के हो, किन गरिन्छ ?