+
+

ऊर्जा क्षेत्रमा सरकारको उपलब्धि लोभलाग्दो : प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २८ गते १३:३८

२८ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ऊर्जा क्षेत्रमा सरकारको उपलब्धि लोभलाग्दो भएको बताएका छन् ।

शुक्रबार विश्वासको मत लिने प्रस्ताव संसदमा टेबुल गर्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो दोस्रो कार्यकालमा देशले कहालीलाग्दो लोडसेडिङबाट देशले मुक्ति पाएको बताए ।

‘त्यतिखेर यो कसैले नसोचेको विषय थियो । तेस्रो कार्यकालमा अरू मानकहरू पनि बनेका छन् । अब विद्युतमा पहुँच नभएका नागरिक नेपालमा बाँकी रहने छैनन् । ९८ प्रतिशतमा विद्युत् पुगिसकेको छ अब केही समयपछि शतप्रतिशत नागरिकलाई विद्युत् आपूर्तिभित्र समेटिने छ,’ उनले भने ।

विद्युत् ऊर्जाको जडित क्षमता करिब ३२ सय मेगावाट पुगेको भन्दै प्रधानमन्त्री प्रचण्डले केही महिनामै ५ सय मेगावाट थप हुने चरणमा रहेको बताए ।

जलविद्युतमा निजी क्षेत्रको सहभागितालाई उच्च प्राथमिकतामा राखिएको भन्दै उनले हालसम्म करिब १० हजार मेगावाटका आयोजनाहरूसँग विद्युत् खरिद सम्झौता भइसकेको छ भने हरेक वर्ष करिब १ हजार मेगावाटको हाराहारीमा विद्युत् उत्पादन क्षमता वृद्धि हुने ठाउँमा पुगिसकेको बताए ।

‘सरकारी निकायबाट ठूला जलाशययुक्त र अर्धजलाशययुक्त आयोजना निर्माणको तयारी अगाडि बढाइएको छ । विश्व बैंकको नेतृत्वमा अपर अरुण १ हजार ६३ मेगावाट, एसियाली विकास बैंकको नेतृत्वमा दूधकोशीको ६७० मेगावाट र नेपालकै लगानीमा बूढीगण्डकी १२ सय मेगावाट जलविद्युत् आयोजनाहरू अगाडि बढाउने काम भइसकेको छ,’ प्रधानमन्त्री प्रचण्डले भने ।

दीर्घकालीन महत्वका कर्णाली-चिसापानी १० हजार मेगावाट र सुनकोशी तेस्रो ७ सय मेगावाट जलविद्युत् आयोजनाहरूको विस्तृत अध्ययन नेपाल विद्युत् प्राधिकरण मार्फत अगाडि बढाइसकिएको उनले बताए ।

‘अहिले करिब ७ सय मेगावाट भारत निर्यात भइरहेको छ । वर्षायाममा १२ सय मेगावाटसम्म निर्यात हुनेछ । विद्युत् आयात मात्र गर्नुपर्ने एकाध वर्ष अघिको अवस्थाबाट आयातभन्दा निर्यात धेरै गर्ने ठाउँमा पुगिसकेका छौं । हामी सबैको निम्ति गौरवको विषय होइन् र ?,’ उनले भने ।

भारतसँग १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने गरी दीर्घकालीन विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर भएको भन्दै उनले बंगलादेशसँग ४० मेगावाट विद्युत् निर्यात गर्न विद्युत् बिक्री सम्झौता हुने चरणमा पुगिसकेको बताए ।

अब क्षेत्रीय विद्युत् व्यापारको ढोका खुलिसकेको भन्दै उनले यो केवल सरकारको सफलता मात्रै नभए नेपालको समृद्धिका लागि ठूलो कोशेढुंगा हुने बताए ।

‘नियमित विद्युत् आपूर्तिसँगै विद्युतीय सवारीसाधान र विद्युतीय चुलोको प्रयोग व्यापक बढेको छ । पेट्रोल, डिजेले र ग्याँसको आयातमा उल्लेख्य गिरावट आएको छ । विद्युत् खपत वृद्धि गरी आयात प्रतिस्थापन गर्ने र बढी भएको निर्यात गरी विदेशी मुद्रा आर्जन गर्ने कार्यबाट नेपालको ब्यापार घाटा कम हुँदै जाने सुनिश्चित भएको छ,’ उनले भने, ‘यसले अर्थतन्त्रमा ठूलो कायपलट ल्याउन मद्धत गर्ने छ ।’

देशभित्रको विद्युत् प्रसारण वितरण प्रणालीमा स्तरोन्नति भइरहेको भन्दै उनले प्रसारण लाइनको लम्बाइ करिब ७ हजार सर्किट किलोमिटर र सबस्टेसनहरूको क्षमता करिब १२ हजार एमभीए पुगेको बताए ।

अन्तरदेशीय विद्युत् व्यापार प्रसारणका लागि निर्माणको क्रम तीव्र रूपमा अगाडि बढेको भन्दै उनले बुटवल-गोरखुर ४ सय केभी प्रसारण लाइनको निर्माण कार्य तीव्र रूपमा भइरहेको बताए । इनरुवा-पुर्णिया-लम्कीबरेली ४ सय केभी प्रसारण लाइनहरू कार्यान्वयनको चरणमा पुगेको उनले बताए ।

चीनसँग जोड्ने रसुवा गढी केरुङ २२० केभी प्रसारण लाइन अगाडि बढाउन चीन भ्रमणका क्रममा सहमति भइसकेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?