+
+

चुम्बकले खोज्दा पनि भेटिएनन् त्रिशूलीमा खसेका बस

सुरक्षाकर्मी भन्छन् : ठूलो भूमरी भएकाले दुर्घटनास्थलबाट २ सय मिटरभन्दा तल जान सक्ने अवस्था छैन ।

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २८ गते १४:१७

२८ असार, काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्डको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा खसाएका दुईवटा बस अहिलेसम्म भेटिएका छैनन् ।

सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेनाको गोतखोर टोली र नेपाल प्रहरीले बस खसेको केही बेरमै खोजी सुरु गरे पनि बसको अवस्था पत्ता लाग्न सकेको छैन ।

त्रिशूली नदीमा बाढीको चाप बढ्दै गएको, पानी धमिलो भएको, बस खसेको ठाउँ एकदमै अफ्ठ्यारो भएकाले खोज्न समस्या भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन शिक्षालय कुरिनटारबाट एसएसपी माधव पौडेलको कमान्डमा अहिले ७० जनाको टोली खोजी तथा उद्दारमा खटिएको छ । तर अहिलेसम्म केही पनि फेला पार्न नसकिएको उनले बताए ।

बगाएर तल पुर्‍याएको हुनसक्ने आशंकमा देवघाटमा समेत टोली परिचालन गरेर खोजी गरिए पनि पत्ता नलागेको एसएसपी पौडेलले बताए ।

सशस्त्र प्रहरीका ३ वटा बोट र नेपाली सेनाको १ वटा बोटमार्फत गोताखोरको टोली त्रिशूली नदीमा गएर खोजी कार्य गरिरहेको उनले बताए ।

बस नदी किनारमा पहिरोमा पुरिएको हुनसक्ने पनि आशंका गरिएको एसएसपी पौडेलले बताए । तर अहिले नै पहिरो पन्छाएर खोज्न सक्ने अवस्था नरहेको उनको भनाइ छ ।

दुर्घटनास्थलबाट करिब २ सय मिटर तलसम्म गएर गोताखोरको टोलीले खोजी गरिसकेको छ । त्योभन्दा तल ठूलो भूमरी रहेकाले खोजीमा थप समस्या देखिएको छ ।

रातिदेखि खोजी गर्दा पनि अहिलेसम्म केही नभेटिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । ‘दुर्घटना भएदेखि नै खोजी कार्य जारी छ । तर अहिलेसम्म न बस भेटिएको छ, न कुनै यात्रुको अवस्था पत्ता लगाउन सकिएको छ,’ थापाले अनलाइनखबरसँग भने ।

चुम्बक फालेर खोजी सुरु

पानीको चाप अत्यधिक र धमिलो भएकाले नदीको गहिराइसम्म गोताखोर पुग्न सक्ने अवस्था छैन । त्यसकारणले चुम्बक फालेर बसको खोजी सुरु गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

त्यसैगरी हुक लगाएर पनि खोजी भइरहेको छ । लामा–लामा बाँसका भाटा तथा रडको सहायताले पनि खोजी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

सिमलतालमा आज बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको बसलाई लेदोसहितको पहिरोले बगाएको थियो ।

तीन यात्रु पौडी खेलेर किनारामा निस्किएका थिए । दुइटा बसमा कति यात्रु थिए अहिलेसम्म यकिन हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?