+
+

रात्रिकालीन बस सञ्चालनमा रोक ठिक कि बेठिक ?

व्यवसायी र सुरक्षाकर्मी भन्छन्– राति बस चल्न नदिनु मात्रै समाधान होइन

‘मोन्छेको मुभमेन्ट नै रोक्ने, तँ हिँड्न पाउँदैनस् भनेर राज्यले भन्न मिल्दैन । बाढी पहिरोका कारण तत्कालका लागि २/४ घण्टा वा एक/दुई दिन रोक्न कुनै निर्णय पनि गर्नुपर्दैन’

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २८ गते १४:४७

२८ असार काठमाडौं । गएराति नारायणगढ–मुग्लिन सडकखण्डमा आएको पहिरोका कारण यात्रु सवार २ वटा बस बेपत्ता भएपछि अहिले नयाँ बहस सुरु भएको छ, ‘रात्रिकालीन बस सञ्चालनमा रोक लगाउने !’

राति करिब साढे ३ बजेतिर त्रिशुलीमा खसेर बेपत्ता बनेका यात्रु र गाडी खोज्न गोताखोर परिचालन गरिएको छ । करिब करिब १२ घण्टा बितिसक्दासमेत अवस्था अज्ञात छ ।

दुर्घटनापछि सार्वजनिक वृत्तमा रात्रिकालीन बस सञ्चालनमा रोक लगाउने कि नलगाउने भन्ने विषयमा बहस चलिरहेकैबेला गृह मन्त्रालय रात्रिकालीन बस सञ्चालनमा रोक लगाउने भएको छ ।

गृहको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख एवं सहसचिव डा. भीष्मकुमार भूसालका अनुसार बर्खा याममा राति सवारी साधन सञ्चालन गर्दा थप जोखिम हुने भएकोले गृहमन्त्रलायले रोक लगाउने प्रस्ताव अघि सारिएको हो ।

मुग्लिन–नारायणगढ सडकखण्डमा रात्रिकालीन बस सञ्चालनमा रोक लगाएमा रातको समयमा गुड्ने ४ हजारभन्दा बढी सवारी साधन प्रभावित हुनेछन् । सडक डिभिजन, भरतपुरका अनुसार उक्त सडकखण्डमा दैनिक १२ हजारभन्दा बढी सवारी साधन गुड्छन् ।

‘यो बाटोको क्षमता भने दैनिक १५ हजारभन्दा माथि छ । रातको समयको त्यस्तो तथ्यांक राखेका छैनौं’, सडक डिभिजन, भरतपुर प्रमुख सीडीई रमेशप्रसाद पौडेल भन्छन्, ‘तर, रातको समयमा दैनिक ४ हजारभन्दा माथि गुड्छन् भन्ने अनुमान छ ।’

चितवन पहिरो घटनापछि गृह मन्त्रालयले रात्रिकालीन यातायात सञ्चालन बन्द गर्ने प्रस्ताव अघि सारे पनि सरोकारवाला निकाय भने विरोधमा छन् । यातायात व्यवसायी, सरक्षाकर्मी भने रात्रिकालीन बस सञ्चालनमा रोक लगाउनुमात्रै समस्याको समाधान नहुने बरु सडक सुरक्षामा ध्यान दिन सुझाउँछन् ।

‘सेवा रोकिँदा घाटा पूर्ति कसले गरिदिने ? कुनैकुनै ठाउँमा परिस्थितिवश बन्द गर्नुपर्ने त होला ! तर, ठप्पै पार्ने गर्नुहुँदैन’, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला भन्छन् ।

नेपाल प्रहरीका पूर्वएआईजी विज्ञानराज शर्मा पनि बर्खायामभरिकै लागि भनेर रात्रिकालीन बस सञ्चालनमा रोक लगाउनु उचित नहुने बताउँछन् । सुरक्षाको हिसाबले केही दिन वा समय रोक लगाउनु ठिकै भए पनि लामो समयसम्मका लागि सेवा नै रोक्नु उचित नहुने उनको तर्क छ ।

‘मोन्छेको मुभमेन्ट नै रोक्ने, तँ हिँड्न पाउँदैनस् भनेर राज्यले भन्न मिल्दैन । बाढी पहिरोका कारण तत्कालका लागि २/४ घण्टा वा एक/दुई दिन रोक्न कुनै निर्णय पनि गर्नुपर्दैन’, पूर्वएआईजी शर्माले भने, ‘तर सधैंका लागि रोक्नु जायज होइन ।’

रात्रिकालीन यात्रा गरेर आफ्नो गन्तव्यमा पुगेर काम गरेर गुजारा चलाउने मान्छेको संख्या पनि ठूलो भएकाले यस्तो निर्णयले उक्त वर्गलाई समस्यामा पार्ने शर्मा बताउँछन् । ‘रेस्क्यु गरेर, बाटो खुलाएर, स्कटिङ गरेर, डाइभर्सन गरेर गन्तव्यमा पुर्‍याउने जिम्मा लिएकाहरुले नै तँ राति हिँड्न पाउँदैनस् भन्न मिल्दैन । यसले राति यात्रा गन्तव्यमा पुगी गरिखाने वर्गलाई समेत असर पार्छ’, उनले भने ।

केही समयका लागि भने राज्यले रोक लगाउनु उचित हुने शर्माको तर्क छ । त्यो पनि पूर्व सूचना दिएर मात्रै गर्नुपर्ने शर्माले बताए । ‘विदेशमा जस्तो समुद्री आँधी आउँदै छ भने त्यसको पूर्वसूचना दिइन्छ । त्यसपछि मान्छेहरु सुरक्षित गन्तव्यमा सर्छन्’, भन्छन्, ‘त्यस्तै यहाँ पनि बाढी पहिरो आउने सम्भावना छ भनेपछि केही समय वा एक/दुई दिनका लागि बाटो बन्द गर्न सकिन्छ ।’

ट्राफिक प्रहरीकै अर्का पूर्व प्रमुख तथा पूर्व डीआईजी केशवराज अधिकारी पनि लामो समयका लागि नभई केही समयका लागि मात्रै रात्रीकालीन सेवामा रोक लगाउनु उचित हुने बताउँछन् । केही समयका लागि रात्रीकालिन बस सञ्चालनमा रोक लगाउन ढिला भइसक्यो । मौसमको अवस्था हेरेर पहिल्यै लगाउनुपर्थ्यो । तर, त्यहाँ पनि राज्य चुकेको उनको भनाइ छ ।

अधिकारी नेपालको हकमा ‘रोड सेफ्टी अडिट’ नहुनु नै दुर्घटनाको मुख्य कारण हुने गरेको बताउँछन् । ‘हाम्रोमा अहिलेसम्म रोड सेफ्टी अडिट भएकै छैन । अडिट गरेर कहाँ कस्तो सडक छ, कहाँ कुन प्रकृतिको सवारी जान दिने/नदिने, कहाँ कुन बेलामा सवारी चलाउने/नचलाउने भन्ने निर्णय हुनुपर्ने हो’, भन्छन्, ‘तर अहिलेसम्म त्यस्तो अभ्यास भएको छैन । जसकारण दिनमा होस् वा रातमा यस्ता दुर्घटना दोहोरिरहन्छन् ।’

आफू क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतमा रहेकाबेला पनि रत्न राजमार्गमा रातिको समयमा बसहरु खसेपछि केही समय निश्चित ठाउँ तोकेर राति चलाउन रोक लगाइएको अधिकारीको भनाइ छ ।

‘काठमाडौंमा ७७ जिल्लाका मान्छे आउने भएकोले चाप छ । तर उक्त चाप अनुसार न सडक छन् न बसहरु नै छन् । अनि मान्छे बसमा कोचिएर आउनुपर्ने बाध्यता छ’, पूर्वडीआईजी अधिकारीले भने, ‘जसकारण पनि दुर्घटना भएको देखिन्छ । यस्ता मामिलामा सरोकारवालाहरु मौन बस्ने अनि क्षति भएपछि यस्तो–उस्तो भनेर विज्ञ बन्ने प्रवृति छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?