+
+

विश्वकै ध्यान तान्न बाध्य बनाउने अनन्त अम्बानीको विवाह

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २८ गते १५:१२

कस्तो व्यापक, कस्तो भव्य !

हरेक भारतीय नागरिकको मनमा खेलिरहेको कुरा हो यो ।

एसियाकै सबैभन्दा धनाढ्य परिवारका मुकेश अम्बानीका कान्छा छोराको महिनौं चलेको लामो विवाह उत्सवको अन्तिम घडी आउँदै गर्दा यस्तो भव्य विवाह कसैको नसुनेको र नदेखेको भन्दै चर्चा भइरहेको छ ।

यो विवाहको भारतमा मात्र होइन, विश्वमै चर्चा भइरहेको छ । सबैले भनिरहेका छन्, ‘विश्वमा नदेखेको भव्य वैवाहिक समारोह अम्बानी परिवारको हुँदैछ ।’

विश्वको ठूलो रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीका कान्छा छोरा अनन्तको शुक्रबार प्रेमिका राधिका मर्चेन्टसँग विवाह हुँदैछ ।

को हुन् राधिका मर्चेन्ट ?

राधिका मर्चेन्ट फर्मा टाइकुन वीरेन र शैला मर्चेन्टकी छोरी हुन् । वीरेन ग्लोबल फार्मास्युटिकल निर्माता ‘इन्कोर हेल्थकेयर’का सीईओ हुन् ।

राधिका मर्चेन्टले अमेरिकाको न्युयोर्क विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातक गरेकी छिन् । अमेरिकाबाट भारत फर्किएपछि उनले एक वर्षसम्म लग्जरी रियल स्टेट कम्पनीमा काम गरिन् । बिजनेस बाहेक उनलाई मानवअधिकार, आर्थिक सशक्तीकरण, शिक्षा र स्वास्थ्य सेवामा रुचि छ ।

फोर्ब्सका अनुसार न्युयोर्क युनिभर्सिटीमा पढ्दा उनले मुम्बईको सिडर कन्सल्टेन्टमा व्यापार रणनीति सल्लाहकारको रूपमा काम गरेकी थिइन् ।

उनीहरुको विवाह शुक्रबार मुम्बईमा हुँदैछ । सो विवाहका लागि  यतिबेला सेलिब्रेटी, राजनीतिज्ञ, उद्योगपतिहरू भेला हुँदैछन् । विवाहमा बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोन्सन पनि उपस्थित हुने बताइएको छ ।

अम्बानी परिवारले पठाएको विवाहको निमन्त्रणा कार्डको मूल्य करिब ७ लाख भारु रहेको बताइएको छ । योसँगै अनन्त मर्चेन्ट र राधिका मर्चेन्टको विवाहपूर्व समारोहको कुल खर्च करिब एक हजार करोड रुपैयाँ रहेको अनुमान गरिएको छ ।

यति मात्र होइन, विवाह र त्यसपछिको तीन दिनसम्म चल्ने समारोहको कुरा गर्ने हो भने अनन्तको विवाहमा अम्बानी परिवारले करिब ३० अर्ब भारु खर्च गर्ने उल्लेख छ ।

विवाह हुनुभन्दा चार महिनाअघिबाटै अम्बानी परिवारले भव्य कार्यक्रम गरिसकेका छन् । यो अन्तरालमा धेरै किस्सा समेत बने, जसमा विश्वको ध्यान गइरहेको छ ।

हरेक समारोहमा आकर्षक देखिने महंगा डिजाइन गरिएका पोसाक, शानदार गहना, परी कथाहरूमा वर्णन गरिने जस्तो समारोह सजावट, भारतदेखि विश्वव्यापी चर्चित हस्तीहरूको शानदार प्रदर्शनहरूको चर्चाले विश्वकै ध्यान केन्द्रित भइरहेको छ ।

यसै प्रसंगलाई लिएर लेखक तथा स्तम्भकार शोभा डे भन्छिन्, ‘अम्बानी परिवारमा हुन लागेको यो विवाह शाही विवाह भन्दा कम छैन । हुन त भारतमा जति पनि अर्बपतिहरू छन्, यी नयाँ महाराजाहरू हुन् भन्दा फरक पदैन । उनीहरुको कार्यक्रम शाही खानदानको जस्तो हुँदा आश्चर्य मान्नुपर्ने कुरा रहेन ।’

‘भारतीयहरूले बेलायती जस्तै उत्सवहरु धुमधामसँग गर्न मन पराउँछन्, ‘उनी भन्छिन्, ‘यो अहिलेको चर्चामा रहेको विवाहले पनि अम्बानीको सम्पत्ति कति छ भनेर देखाउँछ ।’

भारतमा तेल, दूरसञ्चार, रसायन, प्रौद्योगिक र फ्यासनदेखि लिएर खाद्यसम्म फैलिएको विशाल व्यापारिक साम्राज्य नै खडा गरेको अम्बानी खानदानले भारतमा राज गरिरहेको छ । जसकारण उनको जीवनबारे जो कोहीको लागि चाखलाग्दो विषय बनेको छ ।

अम्बानीको निजी सम्पत्तिको कुरा गर्ने हो भने अनुमानित सम्पत्ति मात्र ११ सय बिलियन डलर छ । उनका २९ वर्षीय अनन्त रिलायन्स इन्टस्ट्रिजको प्रमुख कार्यकारी अधिकृत हुन् । अम्बानी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारको पनि एकदम निकट छन् ।

अम्बानीको जीवनशैली र सम्पत्तिबारे पहिला भारतमा मात्र चर्चा हुन्थ्यो । देश बाहिरका अन्य देश बेखबर जस्तै थिए । अम्बानीलाई चिन्ने पनि कमै थिए ।

तर गत मार्चमा भएको तीनदिने प्रि-वेडिङ पार्टीले विश्वभर अम्बानीको चर्चा छ । यो विवाहसम्मको समारोहमा आइपुग्दा अम्बानी परिवार जति चर्चामा छ, उति नै आलोचित पनि बनेको छ । करोडौं जनता गरिबीको रेखामुनि बस्ने र आय असमानता चरम भएको देशमा देखाइएको अम्बानीको ऐश्वर्य र धनको देखावटी अशोभनीय भएको भन्दै तर्क वितर्क भइरहेको छ ।

उनीहरूको सम्पत्तिबारे पहिला कानेखुसीमा एकाधले कुरा गर्थे । तर हालै भने अधिकांशले चर्को स्वरमा उनीहरूको सम्पत्तिबारे बोलेको देखिन्छ । मुकेश अम्बानीले छोरा अनन्त र बुहारी राधिकाका लागि पानी जस्तै पैसा खर्च गरिरहेको भन्दै भन्दै टीकाटिप्पणी भइरहेको छ ।

प्रि-वेडिङ समारोह गुजरातस्थित अम्बानीको गृहनगर जामनगरमा आयोजना गरिएको थियो । जामनगरमा रहेको विश्वको सबैभन्दा ठूलो अम्बानी तेल रिफाइनरी उद्योग क्षेत्रमा उक्त तीनदिने पार्टी आयोजना गरिएको थियो ।

एकदेखि तीन मार्चसम्म चलेको सो भव्य समारोहका लागि तेल कारखानामै ग्लास हाउस बनाइएको थियो । ग्लासहाउसको संरचनाको कुरा गर्ने हो भने निकै भव्य थियो । जुन संयुक्त राज्य अमेरिकाको ब्रुकलिनस्थित एक क्रिस्टलीय भिक्टोरियन शैलीको भवन पाम हाउससँग मिल्दोजुल्दो थियो । ब्रुकलिनमा रहेको सो भवन नीता अम्बानीलाई न्युयोर्कमा कलेज पढ्ने बेलादेखि नै मन परेकझो थियो ।

सो उत्सवमा फेसबुकको मातृ कम्पनी मेटाका मालिक मार्क जुकरबर्ग, माइक्रोसफ्टका बिल गेट्स, हलिउडदेखि बलिउड हस्तीसहित करिब १२ सय जना अतिथिले सहभागिता जनाएका थिए ।

समारोहमा ३५० भन्दा बढी विमान जामनगर भित्र र बाहिर गएको उल्लेख छ । यति मात्र होइन, पाहुनाको यात्राको खर्च पनि अम्बानी परिवारले नै बेहोरेको छ ।

पहिलो रात्रिभोजमा अमेरिकी पपस्टार रिहानाले प्रस्तुति दिएकी थिइन् । पार्टीमा परिकारको मात्र कुरा गर्ने हो भने विश्वका दर्जनौं प्रतिष्ठित सेफले दुई हजार भन्दा बढी परिकार पस्किएका थिए । जुन विश्वका चर्चित परिकारमध्ये थियो ।

पाहुनाहरुलाई आलिसान टेन्ट र छुट्टै मेकअप आर्टिस्ट र स्टाइलिसको समेत व्यवस्था गरिएको थियो । सो समारोहकै लागि ड्रेसकोडको मात्र १० पानाको खाका थियो । ड्रेस कोडमा जंगल फेभरको थिम थियो ।

समारोहमा राधिकाले लगाएको दुई लेहेंगाले पनि धेरै हदसम्म चर्चा बटुल्यो । एउटा लेहेंगामा रेशमको कपडामा हातले कडी दिएको २० हजार भन्दा बढी क्रिस्टल जडित थियो । अर्को लेहेंगा बनाउन पाँच हजार सात सय घण्टा लागेको बताइन्छ ।

दुलाहाले प्डोल्से र गब्बाना पोसाक लगाएका थिए ।  दुलाहाले पहिरिएको रिचर्ड मिलेको घडीको मूल्य मात्र अनुमानित १.५ मिलियन डलर थियो । सो घडीलाई जुकरबर्ग र उनकी पत्नी प्रिसिला चानले घुरेको भन्दै एक तस्वीर भाइरल समेत भयो ।

सञ्चारमाध्यमहरुले समारोहमा देखिएका यी चकित पार्ने किस्साहरु पूर्ण रूपमा कब्जा गरे । ‘यो १०० वर्षअघि महाराजाहरूको पालाको जस्तै चमकधमकको माहोल थियो,’ न्युयोर्क टाइम्सले लेखेको छ ।

तीनदिने पार्टीकै लागि भारत सरकारले रातारात सहरको सानो एयरपोर्टलाई अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा नै तोक्नुपर्‍यो ।

अम्बानीको दोस्रो प्रि-वेडिङ समारोह इटालीको टाइरेहेनियन समुन्द्रमा आलिसान क्रुजभित्र भएको थियो, जहाँ बलिउडका शीर्ष हस्तीहरू पनि सामेल थिए । यसमा पनि मनोरञ्जन र व्यापार जगतका चर्चित व्यक्तिको बाक्लो उपस्थिति थियो । अम्बानी परिवारले आफ्ना पाहुनाका लागि १० चार्टर उडान बुक गरेका थिए । साथै उनीहरूको सुविधालाई ध्यानमा राख्दै १२ वटा निजी विमानको व्यवस्था गरिएको थियो ।

मिडिया रिपोर्टका अनुसार अम्बानी परिवारले इटालीमा आयोजित यस समारोहमा करिब ५०० करोड रुपैयाँ खर्च गरेको थियो ।

उनीहरुको रातभरको पार्टी रोम, पोर्टोफिनो, जेनोआ र कान्समा पुगेर टुंगिएको थियो । सो पार्टीमा केटी पेरी र इटालियन टेनर एन्ड्रीया बोकेलीले गायन प्रस्तुति दिए । रातभरको पार्टीको होहल्लाले डिस्टर्ब भएको भन्दै स्थानीयले उजुरी समेत गरेका थिए ।

यो साता अम्बानीको विवाहमय बनेको छ । मुम्बईस्थित अम्बानीको घरमा आयोजित विवाहको संगीत समारोहमा क्यानडेली गायक जस्टिन बिबरले आफ्ना हिट गीत प्रस्तुत गरे । उनले गीत गाउँदै गर्दा बेहुली राधिका र उनका साथीहरु पनि गीत गाइरहेको भिडियोको क्लिप पनि भाइरल बनेको थियो । जुन भिडियो ३८ लाखभन्दा बढीले हेरेका थिए । विवाहको दिन बहुचर्चित हलिउड गायिका एडेलले प्रस्तुति दिने बताइएको छ । तर परिवार स्रोतले यसबारे कुनै आधिकारिक जानकारी दिएको छैन ।

पक्कै पनि भारतमा विवाह भव्य हुने कुरा नौलो त होइन । किनकि अमेरिकापछि भारत नै हो, विवाहमा सबैभन्दा बढी पैसा खर्च गर्ने देश ।

विवाह स्कवाडकी सहसंस्थापक टिना थरवानीका अनुसार पछिल्ला वर्षमा विवाह उत्सवहरु पहिलेका भन्दा भव्य नै हुन थालेका छन् । जसले सामाजिक अपेक्षा, हैसियतभन्दा माथिको खर्च र प्रतिस्पर्धात्मक प्रदर्शनहरु बढ्दै गएका छन् । देखासिकीले गर्दा युवापिंढीमा पनि विवाहको समारोहको सपना ठूलो बनाउँदै गएको देख्न सकिन्छ ।

अनन्त अम्बानीको मात्र नभई अन्य सदस्यहरुको पनि विवाहपूर्व उत्सवहरु भव्य नै भएको थियो । सन् २०१८ मा इसा अम्बानीको विवाह समारोहमा हिलारी क्लिन्टन र जोन केरी सहभागी भएका थिए ।

यो विवाह अहिलेसम्मै ठूलो वैवाहिक समारोह मानिएको छ । १४ राष्ट्रमा विवाह एभेन्टको व्यवस्थापन गरेका आश्विन आर्य भन्छन्, ‘यो विवाह उद्योगको लागि बाइबलको जस्तै भएको छ । जसमा प्रविधि, आर्कषक शैली र भव्यताको सबैभन्दा नौलो मिश्रण पेस भएका छन् ।’

कैयौं देशमा भ्रमणको लागि अनुमति लिने, विश्वव्यापी हस्तीलाई ल्याउन र उनीहरूको सुरक्षा प्रत्याभूतिको लागि पनि व्यवस्था गर्ने तामझाम गरेर यस्तो विवाह प्रबन्ध गर्न मात्र दुई वर्ष भन्दा बढी लाग्छ,’ उनी भन्छन् ।

यति भव्य विवाह समारोहको आयोजनामा लागेको लागतबारे अम्बानीको परिवारले कुनै खुलासा गरेको छैन । विवाहको अनुमानित खर्च एक सय ३२ मिलियन डलरदेखि एक सय ५६ मिलियन डलर हुनसक्ने आर्य बताउँछन् ।

रिहानाले प्रस्तुतिको लागि मात्र सात मिलियन डलर लिएको हल्ला छ । जहाँ बिबरले दश मिलियन लिएको खबर छ ।

विवाहका लागि जामनगरको भवनभित्र १४ वटा मन्दिर बनाइएको थियो । जसमा भारतीय मौलिक संस्कृति झल्किन्थ्यो ।

अम्बानीले छोराको मात्र होइन, यही समारोहबीच ५० जना जोडीको सामूहिक विवाह समेत गराएका छन् । भनिन्छ, अम्बानी परिवारले यो विवाह धुमधाम बनाउन हरसम्भव प्रयास गरेको देखिन्छ । किनकि यो विवाह नै अन्तिम विवाह हो । अम्बानी परिवारका अरु सबै सदस्यको विवाह भइसकेको छ ।

तर यसको प्रि-वेडिङ समारोहको आयोजनालाई लिएर सार्वजनिक आलोचना बढ्दै गएको देखिन्छ । पहिला नीता अम्बानीले पहिरिएको महंगा गहना र कपडादेखि लिएर मुम्बईका स्थानीयहरुलाई यातायातमा समेत प्रतिबन्ध लगाइएको कुराले आलोचित बनेको थियो ।

बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?