+
+

रविलाई ज्ञानेन्द्र शाहीको आग्रह : बेचनको अनावश्यक ब्राण्डिङ नगर्नुस्

‘एउटा फाइल खोलेको छैन, झुटा कुरा नगरिदिनुस्’

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २८ गते २२:१२

२८ असार, काठमाडौं । विश्वासको मत लिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि छलफलका क्रममा प्रतिनिधिसभामा दलहरुबीच आरोप र प्रत्यारोप चलेको छ ।

सरकारमा भएका माओवादी केन्द्र र रास्वपाले सुशासनका पक्षमा काम गर्दा सरकार ढालिएको दाबी गरे । प्रधानमन्त्री प्रचण्डले कांग्रेस र एमालेलाई अरु कसैले मिलाइदिएको दाबी गरे ।

‘त्रिभुवन विश्वविद्यालयको जग्गा खोज्न थालियो, एउटा समूह डरायो । ललिता निवासको विस्तृत अनुसन्धान र जग्गा फिर्ता थालियो, अर्को समूह डरायो । भुटानी शरणार्थी प्रकरणको विस्तृत अनुसन्धान सुरु भयो, अर्को ठूलै समूह डरायो,’ प्रचण्डले भने, ‘बाँसबारीदेखि बालमन्दिरको जमिन खोजी हुन थालेपछि यो देशको शक्ति सन्तुलन नै खलबलिन थाल्यो ।’

त्यसपछि बोलेका कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीले राखेका अधिकांश विषयमा आफ्नो असहमति रहेको बताए । प्रचण्ड पीडा र आक्रोशमा रहेको र त्यस्तो बेला उनले राखेका विषयमा प्रतिवाद गरेर थप पीडा नदिने भन्दै धेरै जवाफ दिएनन् ।

एमाले सचिव योगेश भट्टराईले पनि प्रचण्डको राजनीतिक आरोपको मात्र प्रतिवाद गरे । अनि, संविधान संशोधनमा प्रचण्डको समेत साथ र सहयोग खोजेको भन्दै संयमित हुन आग्रह गरे ।

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बेचन झा पक्राउ परेपछि नै सरकार ढालेको दाबी गरे ।

गृहमन्त्री समेत रहेका रास्वपा सभापति रवि लामिछानेले पनि सरकार ढाल्नुपर्ने कारण नदेखेको बताए । अनुसन्धानको सुरु कसेको घरको ढोकामा पुगेपछि कांग्रेस र एमालेलाई एकाएक संविधानको याद आएको भन्दै उनले भने, ‘एउटा फाइल खुलेको २४ घन्टामा सरकार ढाल्नुभयो, कसरी खोल्नु फाइल ?’

त्यसपछि पालो आयो राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीको । जम्मा ७ मिनेट समय पाएका उनले सुरुमा प्रधानमन्त्री प्रचण्डको प्रतिवाद गरे ।

आदिवासी जनजाति, दलितको कुरा गरेको भन्दै उनले भने, ‘हजुरकै पार्टीमा हेर्नुस् न, जनतातिको छोरा तपाईंको पार्टी अध्यक्ष हुँदा हामी पनि पर बसेर ताली पड्काउँथ्यौं ।’

आफूहरुले जनजातिको छोरालाई पार्टी अध्यक्ष बनाइसकेको उनले स्मरण गरे । उनले अगाडि भने, ‘अर्को दलितको कुरा गर्नुभयो, आफ्नो मन्त्रिपरिषद् पल्टाएर हेर्नुस् त, एक जना दलितको छोरा छ ? छैन ।’

उनले जातजातिलाई भड्काएर आफ्नो राजनीतिक रोटी सेक्न काम नगर्न आग्रह गरे ।

त्यसपछि गृहमन्त्री लामिछानेले गरेको एकपछि अर्को दाबीको खण्डन गरे । ‘बोलेर नै गिनिज बुकमा नाम’ लेखाएकाले लामिछानेसँग बोल्न नसक्ने भन्दै उनले भने, ‘यत्रो सुशासनको भाषण गर्नुभयो, तपाईंको अभिन्न मित्र जीबी राई पक्राउ नगरेरै विदा हुनुभयो ।’

उनले अगाडि भने, ‘पक्राउ गरिदिनुस्, अझै समय छ ।’

‘पूर्व सभामुख निर्दोष भन्नुभयो, टेलिफोन काण्ड सुन्नुभयोे ? पूर्व उपराष्ट्रपतिका परिवारका सदस्यहरुको भिडियो आएको छ सुन तस्करीमा । सीआईबीले त्यो त होइन भन्यो,’ माओवादी नेताहरु जोडिएको मुद्दामा केही नगरेको संकेत गर्दै उनले प्रश्न गरे, ‘अनि यही हो सुशासन ?’

उनले फाइल खोलेकै कारण सरकार ढलेको भन्ने झुटो नबोल्न समेत आग्रह गरे । ‘संसदको रोष्टम झुटका लागि प्रयोग नगरिदिनुस्’ उनले लामिछानेलाई आग्रह गरे, ‘सत्य बोल्नुस्, के जान्छ ? काम गर्न सकेनौं । समय भएन, फेरि पक्राउ गरौंला भन्नुस् ।’

भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ गरेकै कारण सरकार ढलेको दाबीको उनले प्रतिवाद गरे । ‘एउटा बेचन झा, बेचन झा, के ब्राण्डिङ गरेको हो ?’ उनले भने, ‘पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी यो संसदको सदस्य हो । उहाँलाई पक्राउ गर्दा सरकार नढल्ने, जाबो बेचैनेको बेचन गर्न सरकार ढल्ने हुन्छ ?’

गलत भाष्य निर्माण नगर्न आग्रह गर्दै उनले भने, ‘समीकरण मिलेन, ठूला नेताहरुको शर्त मिलेन । शर्त नमिलेको हुनाले सरकार ढल्यो भने भइगो त ?’

उनले अगाडि भने, ‘हामीले फाइल खोल्दा रे । एउटा फाइल खोलेको छैन, एक जना मान्छे जेल हालेको छैन । अनि कहाँ फाइल छ ? न निर्मलाको हत्यारा पत्ता लागेको छ ? न जीबी राई पक्राउ परेका छन् ? न सहकारी ठगीका दोषी जेल गएका छन्, न भुटानी शरणार्थीका दोषी जेल गएका छन्, कोही गएका छैनन् नि ।’

‘फाइल खोलेर सरकार ढल्यो भन्ने झुटा कुरा नगरिदिनुस्’ उनले गृहमन्त्रीलाई आग्रह गरे ।

राप्रपा प्रमुख सचेतक शाहीले आफूहरुले राखेको ४० बुँदे माग सम्बोधन नभएकोमा असन्तुष्टि समेत जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?