
काठमाडौं । चर्चित भारतीय फिल्म निर्देशक शेखर कपुर केही दिनअघिसम्म काठमाडौंमा थिए । नेपाल बसाइमा उनले बौद्ध स्तुपा र भक्तपुर दरबार क्षेत्रका सम्पदाको भ्रमण गरे ।
सामाजिक सञ्जाल एक्समा कपुरले भक्तपुर घुमघामको सन्दर्भ प्रस्तुत गर्दै धेरैअघि आफू अभिनेताको रुपमा नेपाल आउँदाको स्मरण गरेका छन् । ‘यो देश कति सुन्दर र आध्यात्मिक छ भन्ने कुरा बिर्सिएको थिएँ । एक अभिनेताको रुपमा मेरो पहिलो फिल्म सुटिङका लागि म नेपालमा आएको थिएँ र यो देश मेरो दिमागमा कोरिएको थियो । युरोप किन जानु ? बारम्बार नेपाल आउँछु, जान्छु ।’
काठमाडौं बसाइमा उनको भेट अभिनेत्री मनिषा कोइरालासँग भएको थियो । मनिषाले सामाजिक सञ्जालबाट शेखरसँगको घुमघामका रमाइला फोटो सेयर गरेकी छन् । फोटो हेर्दा लाग्छ, यी दुई कलाकारले काठमाडौंमा पक्कै पनि रमाइलोसँग समय बिताए ।
मनिषाले शेखरसँगका फोटो सेयर गर्दै लेखेकी छन्, ‘शेखर कपुर भर्खर मात्र यो सहरमा थिए । उनी हुँदा यो घरले पूर्णता पाएजस्तो देखियो । संयोगवश शेखरले नै मलाई पहिलो फिल्मको लागि साइन गरेका थिए तर त्यो काम भएन । मैले शेखरलाई मेरो हृदयको धेरै नजिक राखेको छु । उनी सधैं एक प्यारो साथी हुन् । मलाई उनीसँग कुरा गर्न मनपर्छ ।’
शेखरले मनिषाको जवाफ यसरी दिएका छन्, ‘यो आतिथ्य र हामीलाई तिम्रो सुन्दर सहर घुमाएकोमा धन्यवाद मनिषा । धेरै वर्षपछि तिमीसँग फेरि भेट्न पाउँदा खुसी लाग्यो । यो रमाइलो यात्रा थियो । म वास्तवमै खुसीलाई फैलाउन चाहन्थें । म फेरि चाँडै काठमाडौं फर्कनेछु ।’
सन् १९८३ मा रिलिज भएको कल्ट फिल्म ‘मासुम’बाट उनले निर्देशन करिअर थाले । सन् १९८७ को ‘मिस्टर इण्डिया’बाट उनी चर्चित रहे । सन् १९९४ को फिल्म ‘ब्यान्डिट क्वीन’बाट उनले अन्तर्राष्ट्रिय प्रसिद्धि हासिल गरे ।
यो फिल्म भारतीय राजनीतिज्ञ तथा कुख्यात डाँकु फूलनदेवीको बायोपिक फिल्म समेत हो । ‘ब्यान्डिट क्वीन’लाई सन् १९९४ मा कान्सको डिरेक्टर फर्टनाइट विधामा प्रिमियर गरिएको थियो । सन् १९९८ मा रिलिज भएको उनको फिल्म ‘एलिजाबेथ’ ओस्कारका सात विधामा मनोनित थियो ।
उनले भारतको राष्ट्रिय फिल्म पुरस्कार, फिल्मफेयर अवार्डसहित बेलायतको बाफ्टा अवार्ड जितेका छन् भने हलिउडको गोल्डेन ग्लोब्समा मनोनयन भएका छन् । उनको जन्म सन् १९४५ मा पाकिस्तानको लाहोरमा भएको थियो ।
प्रतिक्रिया 4