+
+

अन्धाधुन्ध खनिएको ग्रामीण सडकले सिमलतालमा पहिरो खसेको शंका 

डिभिजन सडक कार्यालय भरतपुरका अनुसार शुक्रबार सिमलतालमा गएको पहिरो कार्यालयले यसअघि जोखिमपूर्ण भनी पहिचान गरेका २५ स्थानभन्दा नयाँ हो ।

अच्युत पुरी अच्युत पुरी
२०८१ असार २८ गते २१:२५

२८ असार, काठमाडौं । जारी मनसुनयाम प्रारम्भ हुनुअगाडि भरतपुर डिभिजन सडक कार्यालयले नारायणगढ–मुग्लिन सडकखण्डको २५ स्थानमा पहिरोको जोखिम रहेको बताएको थियो । कार्यालयले चार स्थानमा उच्च र सात स्थानमा कम जोखिम रहेको भन्दै विवरण सार्वजनिक गरेको थियो ।

उच्च जोखिम रहेका स्थानमा मौरी पुल, नाम्सी पुल, कालीखोला र तुइन पुल क्षेत्र थियो । शुक्रबार बिहान चितवनको भरतपुर महानगरपालिका वडा  २९ सिमलताल भन्ने स्थानमा लेदोसहितको पहिरो गयो । त्यसले दुई यात्रुबाहक बस बगाएर त्रिशूली नदीमा पुर्‍याएको छ । बसको खोजी कार्य जारी छ ।  दुई वटा बसमा चालकसहित कम्तीमा ५ दर्जन यात्रु सवार थिए ।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेशप्रसाद पौडेलका अनुसार शुक्रबार सिमलतालमा गएको पहिरो कार्यालयले यसअघि जोखिमपूर्ण भनी पहिचान गरेका २५ स्थानभन्दा नयाँ स्थानमा गएको छ ।

‘हाम्रो अध्ययनले जुन स्थानमा जोखिम भनेको थियो, त्यो स्थानभन्दा फरक स्थानमा पहिरो गएको देखियो,’ उनले भने, ‘पहिरो जानुको ठोस कारण खुल्न केही समय लाग्छ, तर ग्रामीण सडक खन्दा राजमार्गमाथि थुप्रिएको माटो लेदो बनेर राजमार्गसम्म पहिरोका रुपमा आएको प्रारम्भिक अध्ययनले देखाएको छ ।’

सडक विभागका महानिर्देशक रामहरि पोखरेलले समेत प्रारम्भिक अध्ययनबाट ग्रामीण सडक र स्थानीय स्तरमा ढुंगा खानी सञ्चालन भएको स्थानमा जम्मा भएको माटो वर्षासँगै लेदो बनेर पहिरोका रूप लिएको रिर्पोटिङ आएको बताए ।

उता, भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले पहिरो गएको भन्दा माथिल्लो भेगमा नारायणगढ–मुग्लिन सडक आयोजनाले नै खनेको कच्ची सडक रहेको भए पनि पहिरोका कारण सो हो वा होइन भन्नेबारे यकिन भन्न नसकिने प्रतिक्रिया दिए ।

शनिबार इन्जिनियरको टोली खटिँदै

भरतपुर डिभिजन सडक कार्यालयले शनिबार पहिरो उत्पत्ति भएको स्थानको अध्ययन गर्न इन्जिनियरको एक टोली पठाउने तयारी गरेको छ ।

कार्यालयका प्रमुख पौडेलका अनुसार शुक्रबार दिनभरि रेस्क्यु र सडक खुलाउने काममा टिम खटिनु परेका कारण अन्य अध्ययनमा नलागिएको हो ।

इन्जिनियरको टोलीले स्थलगत अध्ययन गरेपछि पहिरोको यकिन कारण खुल्ने उनले अनलाइनखबरलाई जानकारी दिए ।

यो सडकखण्ड शुक्रबार करिब १० घण्टा अवरुद्ध भएको थियो । जसले गर्दा हजारौं यात्रु डर र सास्तीमा सडकमै बस्न बाध्य भएका थिए ।

सडक विस्तार पछिको असर कति ?

मुग्लिन–नारायणगढ सडकखण्ड विस्तारपछि यो खण्डमा बढी पहिरो गएको देखिएको छ । जसले गर्दा आयोजनाको भौगर्भिक अध्ययनमा समेत प्रश्न उठेको थियो ।

तर, शुक्रबार बिहान गएको पहिरो सडक विस्तारका समयमा पनि सबैभन्दा सुरक्षित मानिएको स्थानमा गएको प्रमुख पौडेल बताउँछन् ।

‘सडक विस्तारसँगै विश्व बैंकको सहयोगमा दर्जनौं स्थानमा पहिरो रोकथामका कार्यक्रम चलाइएको छ,’ उनले भने, आज जहाँ पहिरो देखियो यो सुरक्षित स्थान भनी पहिचान भएको क्षेत्र हो ।’

यद्यपि, नयाँ नयाँ स्थानमा पहिरो जाँदा वाह्य कारणहरूबारे भने गम्भीर भएर सोच्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।

‘कतिपय स्थानमा कडा चट्टान देखिए पनि केही वर्षमा क्रमशः चट्टान कमजोर हुने र पहिरो जाने गरेको पनि देखिएको छ,’ उनले भने, ‘यसको कारणबारे गम्भीर अध्ययन पनि जरुरी देखिन्छ ।’

कार्यालयले यस वर्ष पहिरो नियन्त्रणमा मात्र ५२ करोड खर्च हुने अनुमान गरेको थियो । जोखिम पहिचान गरेका स्थानमा स्लोप स्टेबलाइजेसन र रक नेटिङको काम गरिँदै आएको छ ।

यो सडकखण्डमा मनसुन अगाडि गरिएको अध्ययनले गाइघाट, डुम्रे पुल, घुमाउने, सिमलताल, जलबीरे र पाँचकिलोमा कम जोखिम भनी विवरण आएको थियो ।

यसअघि २०८० सालको मनसुनमा यस सडकमा ३० पटक भूक्षय भएको सडक विभागको तथ्यांक छ । २०७९ मा ३६ पटक भूक्षय हुँदा सवारी आवागमन प्रभावित भएको थियो भने यात्रुले सास्ती पाएका थिए ।

यो सडकमा खहरे खोला, भतेरीको ओरालो, गाइघाट, सेतीदोभान, जलबीरे, २६ किलो र चारकिलो क्षेत्रमा समेत थप अध्ययन गर्नुपर्ने गरी पहिचान गरिएको छ ।

यो सडकखण्ड सन् २०१५ अप्रिलमा सम्झौता भई चार वर्ष लगाएर विस्तार गरिएको थियो । यो सडकखण्डको लम्बाइ ३६ किलोमिटर रहेको छ । तर, यस सडकले हरेक वर्ष ठूलो मानवीय क्षति निम्त्याइरहेको छ ।

 

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?