+
+

सत्ता गुमाएका प्रचण्डलाई मेटमणिको ढाडस

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २८ गते २०:१४

२८ असार, काठमाडौं । प्रतिनिधि सभाको दुई तिहाइ भन्दा बढी मत विपक्षमा परेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीबाट पदमुक्त भएका छन् ।

शुक्रबारको संसद् बैठकमा प्रचण्डले मागेको विश्वासको मतको पक्षमा ६३ सांसदले मात्र मतदान गरे । प्रचण्डलाई हटाउने नेपाली कांग्रेस र नेकपा एमालेको निर्णयलाई साना दलहरुले पनि साथ दिदा विपक्षमा १९४ मत परेको थियो ।

यो परिणाम अपेक्षित थियो । किनकि राजनीतिक पृष्ठभूमि र घटनाक्रम नै त्यसरी विकसित भएको थियो । सत्ता समीकरण परिवर्तन हुँदा हुने लाभहानीलाई हेरेर जनमत पार्टी, नाउपा, जसपा, जसपा नेपाल, लोसपाहरुले कांग्रेस–एमालेलाई नै साथ दिने निर्णय लिएका थिए । राप्रपा पहिले नै विपक्षमा थियो ।

यस्तो बेला प्रचण्डलाई साथ दिने दुई दल मात्रै भए, रास्वपा र एकीकृत समाजवादी । रास्वपाका मन्त्रीहरु पनि २० असोजमै राजीनामा बोकेर बालुवाटार पुगेका थिए । यद्यपि प्रचण्डले राजीनामा नदिन आग्रह गरेकाले आज संसद्मा सँगै देखिए ।

बिना शर्त प्रचण्डलाई अन्तिमसम्म साथ दिने एउटै दल देखियो, एकीकृत समाजवादी । प्रतिनिधि सभामा १० सिट रहेको एकीकृत समाजवादीले प्रचण्डलाई संसदको सामना गर्न साथ मात्र दिएनन्, विश्वासको मत सम्बन्धी शुक्रबार चलेको छलफलमा प्रमुख सचेतक मेटमणि चौधरीले सधैं सँगै रहने बाचा पनि गरे ।

‘हामी त तपाईंकै साथमा छौं, सधैं सँगै रहन्छौं’, चौधरीले भने ।

एकोहोरो माया !

६ मिनेटको समय पाएका प्रमुख सचेतक चौधरीले आफ्नो सम्बोधनका क्रममा एकीकृत समाजवादीले राष्ट्रिय राजनीतिमा खेप्नु परिरहेको नियति नै चित्रण गरेको बुझ्न सकिन्थ्यो ।

‘सम्माननीय प्रधानमन्त्रीले हामीलाई विश्वास त गर्नु हुन्न । सजिलो समयमा हामीलाई सम्झिनु हुन्न । ठूला पाउँदा साना भुल्नु हुन्छ, उहाँको एउटा सामान्य विशेषता जस्तै लाग्छ’ विनम्र स्वरमा चौधरीले भने ।

आफूहरु (एकीकृत समाजवादी)ले भने सम्झने बताए । ‘तर हामी सम्झिरहन्छौं, हामी सम्झन्छौं’, चौधरीले भने । यसो भनिरहँदा मेटमणिले प्रचण्डको प्रशंसा कुनै माओवादी नेता भन्दा कम गरेनन् ।

प्रचण्डको प्रशंसा गर्न मेटमणि चौधरी २०५२ सालसम्मै पुगे, ‘… तपाईले २०५२ सालदेखि ६१÷६२ सालसम्म नेपाली समाजलाई नयाँ प्रकारको जागरणको नेतृत्व गर्नुभयो । यस मानेमा हामी सम्झिरहन्छौं ।’

पछाडि परेका समुदायको चेतना जागृत गर्न, बोल्न नसक्नेहरुको आवाज बन्न प्रचण्डले भूमिका खेलेको दाबी गरे । ‘लोकतन्त्रप्रति तपाईं जवाफदेही हुनुहुन्छ, अस्थिर र चञ्चल स्वभाव भएपनि तपाईँको मन सफा छ’, चौधरीले भने, ‘नियतमा खोट छैन । भ्रष्टाचार निर्मुल गर्नका लागि फरक प्रकारको कमिटमेन्ट छ ।’

यसपछि भने प्रचण्डप्रति केही गुनासो गरे । ‘तर तपाईंले मान्छे चिन्नु हुने रहेनछ । कत्ति पनि मान्छे नचिन्ने । अब त चिन्नु भएको होला नि ! को–कस्तो भनेर’, मेटमणिले गुनासोसहित प्रतिबद्धता गरे, ‘हामी त तपाईंकै साथमा छौं, सधैं सँगै रहन्छौं । तर तपाई पटकपटक हामीलाई छोड्नुभयो ।’

भावनात्मक हाँसोसँगै मेटमणिले यसो भनिरहँदा प्रचण्ड र नारायणकाजी श्रेष्ठ सँगसँगै हाँसे पनि ।

मेटमणिले भने अगाडि बढेर एउटा निष्कर्ष सुनाए, ‘त्यसैले यो अवस्थाको सामना पनि गरिरहनु परेको छ ।’

यसपछि उनले सल्लाह र सान्त्वना दिए, ‘आज जस्तो परिस्थिति भएपनि नेपाली कांग्रेसका सभापतिलाई कति पनि दोषी नदेख्नु होला । उहाँसँगको सम्बन्धलाई सन्तुलनमा राख्नु होला, चार महिनामै परिस्थिति अनुकुल भइ त हाल्छ, हन्ड्रेड पर्सेन्ट ।’

उनको कुरा सुनेर बैठक हल हाँसोले गुञ्जियो । यसपटक शेरबहादुर देउवालाई हाँस्न उपसभापति पूर्णबहादुर खड्काले साथ दिए । खड्काले अलिक मच्चिएर हाँसे । देउवाले थोरै प्रतिवाद गरेजस्तो देखियो । यद्यपि देउवा हाँसे ।

मेटमणि रोकिएनन्, ‘आजको मिति गनेरै बसौं, चार महिनामा परिस्थिति तपाईँकै अनुकुलतामा हुन्छ ।’

यसपछि प्रचण्डकै सम्बोधनलाई बल पुग्ने गरी मेटमिणले कांग्रेस सभापति देउवासँग आग्रह गरे, ‘संसद् विघटन हुने गरी साक्षी नबस्नुहोला । हन्ड्रेड पर्सेन्ट त्यो ठाउँमा पुग्छ ।’

चार महिनमै समर्थन फिर्ता लिएकोप्रति सम्बोधनको सुरुमै एमालेप्रति मेटमणिले प्रश्न गरेका थिए, ‘चार महिना ७ दिन अगाडि के देख्नुभयो, र सहयोग गर्नुभयो ? र अहिले के देख्नु भएन र असहयोग गर्नुभयो ? सम्बन्धित दलले नेपाली समाजलाई दिनुपर्छ ।’

यसरी प्रचण्डलाई एकोहोरो साथ दिइरहेको मेटमणिले दाबी गरिरहँदा प्रचण्डले भने आफ्नो १ घण्टा २२ मिनेटको सम्बोधनमा एकीकृत समाजवादीलाई जम्मा एक ठाउँ सम्झिएका थिए, धन्यवाद मन्तव्यका क्रममा ।

‘गठबन्धनका राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीले मलाई अन्तिमसम्मै षड्यन्त्रविरुद्ध साथ दिनुभयो र राजनीतिक नैतिकताको उच्च प्रदर्शन गर्नुभयो । म तपाईँहरुसँग विशेष आभारी छु’, सम्बोधनको अन्तिममा प्रचण्डले भनेका थिए ।

बाँकी सम्बोधनमा कतै पनि प्रचण्डले आफ्नो १९ महिने अवधिमा एकीकृत समाजवादीको भूमिका, सल्लाह अथवा कुनै सन्दर्भ उल्लेख गरेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?