+
+

अधिक तरलता दबाब झेल्दै बैंक, नाफा १६ प्रतिशत खुम्चियो

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २८ गते २०:५२

२८ असार, काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा बैंक तथा वित्तीय संस्थाहरूको नाफा घटेको छ ।

नेपाल राष्ट्र बैंक बैंक तथा वित्तीय संस्था नियमन विभागले प्रकाशित गरेको चालु आवको जेठ मसान्तको तथ्यांकले नाफा घटेको देखाएको हो ।

चालु आर्थिक वर्षको जेठसम्म बैंक तथा वित्तीय संस्थाहरूले ६१ अर्ब ९६ करोड रुपैयाँ मुनाफा आर्जन गरेका छन् । जुन गत आर्थिक वर्षको अवधिको तुलनामा १६.०५ प्रतिशतले कम हो ।

गत आर्थिक वर्ष २०७९/८० को सोही अवधिमा बैंक तथा वित्तीय संस्थाको कुल नाफा ७३ अर्ब ८१ करोड थियो ।

अधिक तरलतको दबाबमा रहेका बैंकहरूले स्रोत लागत घटाउन ब्याजदर घटाएका छन् ।

अधिक तरलता बढ्दै गएर ३ प्रतिशत ब्याजदरमा राष्ट्र बैंकमा पैसा राख्नुपर्दा बैंकहरूको ब्याज धेरै बढ्न सकेन । तर ब्याज खर्च बढ्दा ब्याज आम्दानी र खर्चबीचको अन्तर नै घटेको छ ।

बैंकहरूले ११ महिनामा ६ खर्ब १८ अर्ब ४६ करोड कुल ब्याज आम्दानी गरेका छन् । गत आवको सोही अवधिमा यस्तो आम्दानी ५ खर्ब ९९ अर्ब ९७ करोड रहेकोमा ३.०८ प्रतिशतले बढेको हो ।

चालु आवको ११ महिनामा बैंकहरूको कुल ब्याज खर्च ४ खर्ब १९ अर्ब ८० करोड रहेको छ । जुन गत आर्थिक वर्षमा ४ खर्ब ६७ करोड रहेकोमा चालु आवमा ४.७७ प्रतशितले बढी हो ।

ब्याज आम्दानीको तुलनामा बैंकहरूको ब्याज खर्च बढेको देखिन्छ । जसले गर्दा गत आर्थिक वर्षमा ब्याज आम्दानी र खर्चबीचको अन्तर १ खर्ब ९९ अर्ब ३० करोड थियो । जुन चालु आवमा १ खर्ब ९९ अर्ब ६६ करोडमा सीमित भएको छ ।

मूल्य आम्दानी स्रोतमा भएको संकुचन, कर्मचारी र कार्यालय सञ्चालन खर्चका साथै कर्जा नोक्सानी व्यवस्था रकममा भएको वृद्धिले गर्दा बैंक तथा वित्तीय संस्थाको नाफा घटेको छ ।

गत आवको ११ महिनामा कर्जा नोक्सानी व्यवस्थाका लागि ५३ अर्ब ७८ करोड मात्रै रहेकोमा चालु आवमा ७७ अर्ब ९० करोड पुगेको छ । यस्तै कर्मचारी खर्च ४९ अर्ब ८० करोडबाट बढेर ५६ अर्ब ७० करोड पुगेको छ ।

राष्ट्र बैंकको तथ्यांक अनुसार जेठ मसान्तमा ४ खर्ब ३६ अर्ब ४१ करोड चुक्ता पूँजी सहित कुल पूँजीकोष ७ खर्ब १६ अर्ब ६७ करोड छ । उक्त लगानीको आधारमा बैंकहरूले कमाएको नाफा प्रतिफलको हिसाबले ब्याजदर बराबर मात्रै हुन आउँछ ।

वाणिज्य बैंकहरूको नाफा नै १६.०४ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूले ५६ अर्ब ४५ करोड मुनाफा आर्जन गरेका छन् ।

गत आवको सोही अवधिमा बैंकहरूको नाफा ६७ अर्ब २३ करोड थियो । कर्जा नोक्सानी व्यवस्थाको रकम बढेको, कर्मचारी खर्च बढेको तर खुद ब्याज आम्दानी बढ्न नसक्दा बैंकहरूको नाफा प्रभावित भएको छ ।

सञ्चालनमा रहेका २० मध्ये ५ वटा मात्रै बैंकको नाफा बढेको छ । सेन्चुरी बैंकलाई गाभेको प्रभु बैंकको एकीकृत वित्तीय विवरणका कारण नाफा बढेको देखिएको छ ।

गत आवको जेठसम्म १ अर्ब ५६ करोड नाफा कमाएको कृषि विकास बैंकको नाफा चालु आवको सोही अवधिमा ९३.४२ प्रतिशतले बढेर ३ अर्ब २ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै प्राइम बैंकको नाफा १०.५३ प्रतिशतले बढेर ३ अर्ब ५५ करोड र एभरेस्ट बैंकको नाफा ८.०५ प्रतिशतले बढेर ३ अर्ब ३१ करोड पुगेको छ ।

मर्जरपछिको एकीकृत वित्तीय विवरणमा प्रभु बैंकको नाफा ४.८० प्रतिशतले बढेर ३ अर्ब ३ करोड पुगेको हो । सिटिजन्स बैंकको नाफा ४.५४ प्रतिशतले बढेर १ अर्ब ७६ करोड र सिद्धार्थ बैंकको नाफा १.९९ प्रतिशतले बढेर २ अर्ब २७ करोड पुगेको छ ।

यस अवधिमा सबैभन्दा धेरै नाफा नेपाल बैंकको ६५.०१ प्रतिशतले घटेर १ अर्ब ८ करोडमा झरेको छ । त्यस्तै एनआईसी एसिया बैंकको ५१.७३ प्रतिशतले घटेर २ अर्ब २४ करोडमा झरेको छ । कुमारी बैंकको नाफा ४३.४० प्रतिशतले घटेर १ अर्ब ६७ करोडमा झरेको छ ।

जेठसम्म नबिल बैंकले सर्वाधिक ६ अर्ब ३४ करोड नाफा कमाएको हो । गत आवको सोही अवधिमा बैंकको नाफा ७ अर्ब ११ करोड रहेकोमा १०.९० प्रतिशतले घटेको छ ।

त्यस्तै ग्लोबल आईएमई बैंकको नाफा २१.७६ प्रतिशतले घटेर ५ अर्ब ९ करोडमा झरेको छ । गत आवको सोही अवधिमा बैंकले ६ अर्ब ५१ करोड सहित सबैभन्दा धेरै नाफा कमाएको थियो ।

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नाफा ८.०५ प्रतिशतले घटेर ४ अर्ब ३८ करोडमा झरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?