+
+

ओलीविरुद्ध प्रचण्ड आक्रोशको अर्थ

प्रचण्डले ओलीले नयाँ संविधान र त्यसले संस्थागत गरेको उपलब्धिविरुद्ध उभिनसक्ने प्रमुख पात्रका रूपमा ओलीलाई प्रस्तुत गरे ।

सुदर्शन खतिवडा सुदर्शन खतिवडा
२०८१ असार २८ गते २२:२०

२८ असार, काठमाडौं । स्थापनाकालदेखि नै कम्युनिष्टहरू मित्रशक्ति र प्रधानशत्रु किटान गर्न माहिर छन् । पुष्पलाल श्रेष्ठ, मोहनविक्रम सिंह हुँदै आजपर्यन्त कम्युनिष्ट पार्टीका दस्तावेजमा यही अभ्यास देखिन्छ । शुक्रबार विश्वासको मत लिनेक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत माग्ने क्रममा यस्तै प्रवृत्ति दोहोर्‍याए ।

उनले १ घन्टा २२ मिनेट समय लिएर गरेको ६६ सय शब्द लामो सम्बोधनको सुरुवातमै नेकपा एमालेका अध्यक्ष तथा पछिल्लो गठबन्धनमा सत्तासाझेदार रहेका केपी ओलीविरुद्ध प्रचण्ड आक्रोश पोखे ।

ओलीविरुद्ध कटु आलोचनाबाट सम्बोधन सुरु गर्दै प्रचण्डले सुरुमै भने, ‘ आफू अल्पमतमा परेपछि संसद नै विघटन गर्ने बानी परेका र त्यसको समर्थन गरेका साथीहरूले समेत मलाई नैतिकताको पाठ पढाउने प्रयास गर्नुभयो ।’

प्रचण्डले ओलीले नयाँ संविधान र त्यसले संस्थागत गरेको उपलब्धिविरुद्ध उभिनसक्ने प्रमुख पात्रका रूपमा ओलीलाई प्रस्तुत गरे । ‘ती साथीहरूलाई म यत्ति भन्छु, यो संविधानमा नेकपा माओवादी केन्द्रको सबैभन्दा ठूलो लगानी छ । त्यसैले यसलाई माओवादीले कमजोर बनाउँदैन र बनाउन पनि दिँदैन’ उनले भने, ‘उत्पीडित वर्ग, क्षेत्र, लिङ्ग, समुदायको दशक लामो विद्रोह र त्यसपछिका आन्दोलनहरूको जगमा बनेको यो संविधानलाई मध्यरातमा झम्टीझम्टी च्यात्न खोज्दा पनि सडकमा पलेटी कसेर जनताको साथ लिएर बचाइएको हो र आउने दिनमा पनि त्यसरी नै बचाइनेछ ।’

बालुवाटारस्थित सरकारी निवासबाट सिंहदरबारमा शासन गर्ने गलत परम्परा तोडेको भनिरहँदा पनि प्रचण्डले ओलीतिरै निशाना साधिरहेका थिए ।

‘सफ्ट कर्नर’ मा कांग्रेस

सम्बोधनको क्रममा नेपाली कांग्रेसलाई तुलनात्मक रूपमा अलि बढी मित्रशक्तिको रूपमा प्रस्तुत गर्दै त्यस्तो अवस्था आउँदा पुनः कांग्रेससँग सहकार्य हुनसक्ने आशा व्यक्त गरे । आफूले कांग्रेसको उम्मेदवारलाई राष्ट्रपति बनाउन प्रयास गर्दा एमालेले नमानेको भनेर प्रचण्डले कांग्रेसको सहानुभूति लिनखोजे ।

‘मेरै अग्रसरतामा नेकपा एमाले पृष्ठभूमिका माननीय सभामुख निर्वाचित भइसकेपछि राष्ट्रपतिचाहिँ नेपाली कांग्रेस पृष्ठभूमिका व्यक्तिलाई दिँदा सहकार्यको वातावरण बन्छ र ठूलो दलका हिसाबले शक्तिको न्यायपूर्ण वितरण पनि हुन्छ भनेर मैले नेकपा एमालेका अध्यक्ष र साथीहरूसँग छलफल सुरू गरेँ’ उनले प्रश्न गरे, ‘अहिले रातबिरात रहस्यमय बन्द कोठाहरूमा राष्ट्रिय सहमतिको कलाविहीन नाटक मञ्चन गरिरहेका एमालेका नेता साथीहरू त्यो बेला राष्ट्रिय सहमति, सहकार्य र शक्ति सन्तुलनको मेरो प्रस्तावसँग भड्केर सरकारबाटै बाहिरिनुभएको होइन ?’

भ्रष्टाचारका काण्डहरूको नाम लिनेक्रममा पनि प्रचण्डले यती, ओम्नी र गिरिबन्धुको बढी लिए, जुन काण्डहरूको नाम एमालेका नेतासँग जोडिन्छ । पछिल्लो गठबन्धन अभिजात वर्गले बनाएको संकेत गरिरहँदा प्रचण्डले एमालेसँग जोडिएका काण्डहरू मात्र बढी उल्लेख गरे ।

त्यसो त, यसअघि एमालेको साथ छाडेर माओवादी केन्द्र कांग्रेस गठबन्धनतिर जाँदा पनि ओलीले कांग्रेसभन्दा बढी माओवादी केन्द्र र प्रचण्डतिर निशाना सोझ्याएका थिए ।

यो एकप्रकारले कम्युनिष्ट चरित्र पनि हो । कम्युनिष्टहरू तीनप्रकारको संघर्षका कुरा गर्छन्– आत्मसंघर्ष, अन्तरसंघर्ष र वर्गसंघर्ष ।

क्रान्तिकारी चरित्रमा रहनको निम्ति गरिने आफैंसँगको संघर्षलाई उनीहरू आत्मसंघर्ष भन्छन् । यसबाट अगाडि बढेपछि पार्टीभित्रै र सजातीय शक्तिसँगको संघर्ष अन्तरसंघर्ष हो । यी दुवै संघर्षमा जितेपछि मात्र वर्गसंघर्ष अर्थात् वर्ग दुश्मनसँग जित्न सकिन्छ भन्ने स्कुलिङले कम्युनिष्टहरूमा जरा गाडेको हुन्छ ।

नेपालको कम्युनिष्ट राजनीतिको उतारचढावको ग्राफ वर्ग संघर्षले भन्दा बढी अन्तरसंघर्षले बढी बनेको छ । यदुवंशी झगडा, विभाजनदेखि विभाजन उनीहरूको जीवनशैली र संस्कार नै बनेको छ ।

यही परिदृश्य शुक्रबार संसदमा दोहोरियो । आफू नेतृत्वको सरकार ढाल्न देउवाभन्दा बढी ओलीकै भूमिका देखेपछि प्रचण्डले निशाना ओलीतिर सोझ्याएका हुन् । तर, योभन्दा बढी निकट भविष्यमा एमालेभन्दा कांग्रेससँग सहज सहकार्यको सम्भावना देखेकोले पनि हुनसक्छ ।

‘हिजो गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नबनाएर जीवनकै ठूलो गल्ती गरें भनेर हाम्रो अध्यक्ष प्रचण्डले पटकपटक भन्दै आउनुभयो’ माओवादी केन्द्रका एक नेता भन्छन्, ‘अहिले देउवालाई धोका दिनु पनि त्यस्तै गल्ती भयो भन्ने महसुस गर्नुभएको हुनसक्छ ।’

दुई दल, दुई रणनीति

बदलिएको राजनीतिक परिस्थितिमा सत्ता गठबन्धन बनाएका संसदका दुई प्रमुख दलहरूको आआफ्नै रणनीति देखिन्छ ।

१. कुर्नेछ कांग्रेसः प्रचण्डको मौसमअनुसार बदलिइरहने चरित्रबाट देउवा समेत वाक्कदिक्क भएका देखिन्छन् । कांग्रेसभित्रको प्रतिपक्षी शक्ति पनि वाक्कदिक्क भएर संसदका दुई प्रमुख शक्तिहरू मिलेर भए पनि राजनीतिक स्थिरता दिनुपर्ने बहस गर्न थालेका थिए । यो बहस संविधान संशोधनसम्म पुगिसकेको थियो ।

नयाँ अवस्थामा नेपाली कांग्रेस स्वाभाविक र इमान्दार सत्ता हस्तान्तरणको आसासहित कुर्ने रणनीतिमा देखिन्छ । सँगसँगै, सम्भव हुने विषयमा संविधानको पुनरावलोकन गर्नेसम्मको निर्णय कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले गरिसकेको छ । यो निर्णय कांग्रेस–एमालेबीच भएको भनिएको सात बुँदे सहमतिकै जगमा भएको हो ।

२. सानालाई निल्ने, ठूलोसँग प्रतिस्पर्धा गर्ने एमाले रणनीतिः नेकपा एमालेमा साना दलहरूको चलखेलका विरुद्ध द्विदलीय व्यवस्थाको वकालत बलियो बन्दै गइरहेको छ । यही प्रस्तावलाई पार्टीभित्र ‘इन्जेक्ट’ गरिरहेका महासचिव शंकर पोखरेल कांग्रेस–एमाले गठबन्धन निर्माणमा फिल्ड कमाण्डरका रूपमा खटिए ।

नयाँ अवस्थामा एमाले रणनीति खुलाजस्तै छ– डेढ वर्ष सरकार चलाउने, साना वामपन्थी शक्तिहरूलाई आफूमा समाहित गर्ने । त्यो पनि मुख्य नेतृत्वलाई नभित्र्याउने र नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउने ।

नयाँ र वैकल्पिक भनिएका शक्तिहरूलाई कमजोर बनाउने । यो रणनीतिको सिकार राष्ट्रिय स्वतन्त्र पार्टी र खासगरी त्यसका प्रमुख रबि लामिछाने बनिसकेका छन् । शिक्षामा केही परिवर्तनको सुरुवात गरेकी शिक्षामन्त्री सुमना श्रेष्ठमाथिको एमाले निशाना हेर्दा यो रणनीति बुझ्न मुस्किल छैन ।

प्रतिपक्षमा राखेर भन्दा यस्ता शक्तिलाई सत्तामै ल्याएर सजिलोसँग सिध्याउन सकिन्छ भन्नेमा एमाले प्रष्ट देखिन्छ ।

सत्ता र शक्तिलाई कुशलतापूर्वक परिचालन गरेर यो अवधिमा एमालेले २०८४ को निर्वाचनमा नेपाली कांग्रेससँग मज्जाले टक्कर लिन सक्ने शक्तिका रूपमा थप विकास गर्नेछ ।

ओलीविरुद्ध प्रचण्ड आक्रोशको अर्थ

प्रश्न उठ्छ– प्रचण्डले किन सोझ्याए एमाले र खासगरी ओलीविरुद्ध निशाना ? उनले एमालेसँगको सहकार्यलाई वामपन्थी बहकावकै संज्ञा दिए ।

‘वास्तवमा तेज गतिमा सरकार चलाएर लोकतन्त्रप्रति जनताको भरोसा बढाउने हुटहुटी र अलिअलि वामपन्थी आन्दोलनको भावुक बहकाउले नै मलाई एमालेसहितको गठबन्धनमा लगेको हो’ उनले भने, ‘तर, जसलाई मैले वाम सेन्टिमेन्ट ठानेको थिएँ, त्यो षड्यन्त्र थियो भन्ने थाहा पाउन म ढिलो भएँ ।’

उनले सम्बोधनको क्रममा ओलीलाई ‘कहिल्यै कुण्ठा र प्रतिशोधबाट निस्किन नसकेको र समयले सुधार्न नसकेको मान्छे’ का रूपमा चित्रित गरे ।

‘म लामालामा मीठा र भरोसापूर्ण संवादहरूबाट अल्मल्याइएँ । स्वर्ग र नर्कसँगै जाने भावुक आश्वासनहरूबाट झुक्याइएँ । म यसको नैतिक जिम्मेवारी लिन तयार छु’ उनले भने, ‘नयाँ सत्ता समीकरण बनाइरहेका साथीहरूलाई मेरो यत्ति भन्नु छ, तपाईहरूको आपसी अनुभव अप्रिय नहोस्, कसैमाथि धोका नहोस्, मेरो शुभकामना छ ।’

कांग्रेससँग केही अपेक्षा राख्दै ओलीसँग दूरी बढाउनका पछाडि प्रचण्डका केही बाध्यता र त्यससिर्जित केही रणनीति जिम्मेवार छन् ।

१. प्रतिशोधः आफ्नो सरकार ढाल्न देउवाभन्दा बढी ओली जिम्मेवार छन् भन्ने बुझेका प्रचण्डले आफूलाई समेत त्यसैगरी सत्ताच्युत गरेको आक्रोश संसदमा पोखे । उनले रिस फेरे ।

प्रचण्डले संसदमा सम्बोधन गरिरहँदा एमाले सांसद सूर्य थापाले फेसबुकमा कालो पृष्ठभूमि राखेर लेखेका थिए, ‘संसदमा तितो खार पोख्ने क्रम जारी छ ।’

२. कम्युनिष्ट जनमतमा खोजेको स्पेशः झण्डै दशकअघि प्रचण्डको एउटा भाषण चर्चित थियो– हिङ नै भएपछि हिङ बाँधेको टालो के काम ! उनले संकेत गरेका थिए, अब माओवादी नै आएपछि एमालेको के काम !

स्थिति उल्टिएको छ । देशको प्रमुख कम्युनिष्ट पार्टीका रूपमा टिकिरहने अवसर प्रचण्ड नेतृत्वमा माओवादीले गुमाइसकेको छ । यस्तोमा, कम्तिमा हिङ बाँधेको टालोका रूपमा आफूलाई उभ्याउन चाहन्छन् प्रचण्ड ।

संसदमा विश्वास गुमाए पनि विश्वासको मत लिएर रोष्ट्रमबाट प्रतिपक्षी स्पेश कब्जा गर्न प्रचण्डले शुक्रबारको सम्बोधनमा सकेजति प्रयास गरे । उनले नयाँ ध्रुवीकरणको निम्ति केही शक्तिशाली प्रश्नहरू गरे । भलै पटकपटक सत्तामा रहेर पनि आफ्नै एजेन्डाको व्यवहारिक रुपान्तरणको अवसर गुमाएका प्रचण्ड र माओवादी केन्द्रसँग प्रतिपक्षी बनेर कडा प्रश्न गर्ने नैतिक धरातल त्यति बलियो छैन ।

यद्यपि सुविधा के छ भने ठूलो युद्धको नेतृत्व गरेर आएको पार्टी भएकोले माओवादीसँग एउटा राम्रै शक्ति अझै बाँकी छ । प्रतिबद्ध नेता कार्यकर्ता मात्र होइन, युद्धमा आफन्त गुमाएका सहिद र बेपत्ता परिवारको पनि ठूलो पंक्ति छ ।

र, प्रचण्ड पूर्वप्रधानमन्त्रीका साथै प्रमुख प्रतिपक्षी दलका नेता पनि हुन् । उनले यसबापत प्राप्त गर्ने असीमित रूपमा रोष्ट्रम प्रयोग गर्न पाउने अधिकार, राष्ट्रिय–अन्तर्राष्ट्रिय सम्बन्ध र संवैधानिक भूमिकाको बलमा आफूलाई बलियो प्रतिपक्षीका रूपमा उभ्याउन सक्छन् ।

यही कामको सुरुवात उनले शुक्रबार संसदबाट सुरु गरे । थप बलियो बन्न समाजवादी मोर्चाको तुरुप अझै प्रचण्डसँग बाँकी छ, भलै उनले उल्लेखनीय रूपमा विश्वास गुमाइसकेका छन् । एजेन्डाको आधारमा महिला, मधेसी, आदिवासी जनजाति, दलित, मधेसी लगायतलाई संसदबाट सोधेका केही प्रश्नहरू उनको यही प्रयत्न हो । शुक्रबार संसदमा जमेको छबि (प्रचण्ड) र रविको जोडीले प्रतिपक्ष त्यति कमजोर नहुने संकेत गरेकै छ ।

‘महिला, दलित, आदिवासी जनजाति माननीयज्यूहरू, संख्या पुगोस नपुगोस्, इतिहासमा तपाईंहरूको भूमिका दर्ज होस् भनेर पनि मैले विश्वासको मतको अधिकारको प्रयोग गरेर प्रतिगमनविरूद्ध प्रतिरोध सुरू गरेको हुँ’ उनले भने, ‘यो संख्याको पहल होइन, प्रतिवाद र प्रतिरोधको पहल हो । साथ दिने नदिने तपाईहरूको विवेकको विषय भयो तर मलाई जनताप्रति भरोसा छ, जनताको साथ प्राप्त हुनेछ ।’

यसरी, संसद र सडकबाट आफूलाई प्रगतिशील र अग्रगामी शक्तिका रुपमा प्रस्तुत गरिरहन उनले एमाले र खासगरी ओली जतिबेला पनि पछाडि फर्कन सक्छन् भन्ने भाष्य बलियो बनाए । ‘तपाईंहरूलाई २०४७ सालको बाडुल्की लागिरहेको होला’ भन्ने सम्बोधन यही प्रयास हो । ‘वामपन्थी शक्ति मै हुँ र एमाले र ओली परिवर्तनका एजेन्डाप्रति इमान्दार छैनन्’ भन्ने भाष्य बनाएर उनी सत्ता जोगाउन नसके पनि समाजवादी मोर्चा र पार्टी जोगाउने प्रयत्नमा हुनेछन् ।

३. धोकेवाज त ओली हुन्ः सबैतिरबाट अस्थिर र धोकेवाजको आरोप व्यहोरिरहेका प्रचण्ड वास्तवमा धोकेवाज त ओली हुन् भन्ने पुष्टि गर्न चाहन्छन् । आफूले भन्दा ओलीले बढी विश्वासघात गर्न सक्छन् भनेर जिकिर गर्न प्रचण्डले सम्बोधनका क्रममा धेरै प्रयास गरेका छन् ।

‘म कांग्रेस–एमालेका साथीहरूलाई पनि सहकार्यको बधाइसहित केही भन्न चाहन्छु । तपाईहरू संविधान मिच्नतिर नलाग्नुहोला । नयाँ सरकार पनि संविधान नमिची बनाउनुहोला’ प्रचण्डले संसदमा भने, ‘कांग्रेसका साथीहरूलाई बेग्लै मेरो अनुरोध छ, कृपया संसदचाहिँ बचाउनुहोला । संविधान नकुल्चेसम्म बहादुर भइँदैन भन्ने मान्यता बोकेका साथीहरूले संसद नै निल्ने प्रयास गर्न सक्छन् । हिजो हामी मिलेर जोगाएका हौं । अब पनि जोगाउनुहोला र आफू पनि जोगिनुहोला ।’

‘कांग्रेसजन ! धोका पाउने पालो तपाईंहरूको’ भन्नका लागि उनले ‘ओलीले जतिबेला पनि धोका दिनसक्छन्’ भन्ने सन्देश दिन चाहन्थे । यसका लागि उनले इतिहासका केही घटनाक्रम कोट्याए । एमालेले राष्ट्रपति कांग्रेसलाई छाड्न नमानेपछि मैले किन एमालेको साथ नै छाड्नुपर्‍यो भनेर उनको व्याख्या यसको प्रतिफल थियो ।

ओलीविरुद्ध प्रचण्ड आक्रोशको अर्को अर्थ हो– आफ्नो असक्षमता, अस्थिरता र अवसरवादी चरित्रलाई ढाकछोप गर्ने प्रयास । अरुलाई होचो देखाएर आफूलाई अग्ल्याउनु कम्युनिष्ट चरित्र नै हो ।

४. देउवासँग दूरी छोट्याउने प्रयास : ओलीसँग आजित देखिन्छन् प्रचण्ड, त्यस्तै ओली पनि । असार १७ गते ओलीले कसरी ढाँटे, भोलिपल्ट पनि देउवाले कसरी सही बोले र ओलीले अन्तिमसम्म ढाँटिरहे भन्ने भनाइमा प्रचण्डको जोड भुल्नुहुँदैन ।

‘१७ गते स्वर्ग र नर्क जहाँ गए पनि सँगै जाने भन्नुभयो । म मिठा शब्दमा भुलें, साथीहरूलाई पनि त्यस्तै ब्रिफिङ गरें,’ उनले भने, ‘ओलीले तीन नेता बसेर सल्लाह गरौं, सहमति भएको छैन भन्ने, देउवाले सहमति भइसक्यो भन्नुभयो ।’

देउवा इमान्दार छन् भन्ने सन्देश दिन चाहनुको निहितार्थ उनीसँग दूरी घटाउने प्रचण्ड प्रयासको अभिव्यक्ति हो ।

यद्यपि, संविधान संशोधनका लागि राष्ट्रिय सभामा माओवादी र एकीकृत समाजवादी मध्ये एकलाई फकाउनैपर्ने नयाँ सत्ता गठबन्धनको प्रयास छ । साथै चुनावको बेला माओवादीको कांग्रेससँग हुनसक्ने ध्रुवीकरण रोक्ने प्रयास एमालेको देखिन्छ ।

त्यसैले एमाले सांसद योगेश भट्टराई संसदबाटै भन्दैथिए, ‘ढुक्क हुनुस्, स्वर्ग जाँदा सँगै लैजान्छौं । तपाईं जाने ठाउँ पनि त कहाँ छ र ?’

यो पनि पढ्नुस्

कांग्रेस–एमालेलाई कसले मिलायो ? यस्तो छ प्रचण्डको संकेत 
प्रचण्डको चेतावनी : संविधान संशोधनमा खेलाँची नगर्नुहोला 
झुक्याइएँ म, १० पुसमा देउवाको जस्तै स्थितिमा छु : प्रचण्ड
विश्वासको मत माग्दै प्रचण्डले भने-यस्तो धोका कसैमाथि नहोस् (पूर्णपाठ)
प्रचण्डप्रति लेखकको कटाक्ष : प्रतिपक्षी दलको ठीक नेता देखिसकेँ 
प्रचण्डलाई योगेशको जवाफ : ढुक्क हुनुस्, स्वर्ग जाँदा सँगै लैजान्छौं 
रवि लामिछानेले सोधे- मध्यरातमा कांग्रेस-एमालेबीच भएको सहमति कसलाई जोगाउन हो ? 
रविलाई ज्ञानेन्द्र शाहीको आग्रह : बेचनको अनावश्यक ब्राण्डिङ नगर्नुस् 
प्रधानमन्त्री प्रचण्ड पदमुक्त
लेखकको बारेमा
सुदर्शन खतिवडा

खतिवडा अनलाइनखबर डट कमका अपिनियन एडिटर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?