+
+
कास्की पुरन्चौर पहिरो : :

घर छाड्ने सल्लाह गर्दागर्दै परिवार नै पहिरोमा पुरियो

अमृत सुवेदी अमृत सुवेदी
२०८१ असार २८ गते २१:०५

२८ असार, पोखरा । लगातारको झरीले कुलबहादुर परियारको घरमा मात्रै होइन, परिवारकै मनमा डरले चिसो पसेको थियो । अघिल्लो दिनबाटै माटो बग्न थालेपछि कतै घरै बग्ने त होइन भन्ने चिन्तालाई पन्छाउँदै कुलबहादुरले छोरा पवनलाई भनेका थिए, ‘नआत्तिई छोरा भगवानले बचाउँछन् ।’

छोरा पवनको मात्रै होइन, छोरी ज्वाइँ अस्मिताको मन पनि आत्तिइरहेको थियो । पहिरो पन्छाएर भए पनि जोखिम पन्छाउने योजना बुनेरै छोरी–ज्वाइँ आइपुगेका थिए ।

कुलबहादुरकी श्रीमती ४३ वर्षीया मनकुमारी, ८५ वर्षीया आमा लक्षीमासहित घरमा कुराकानी गरिरहेका थिए । छिमेकी र आफन्त आउजाउ गरिरहेकै थिए ।

कुलबहादुरका दाइ भोजबहादुर, भाउजु राधिका, बुहारी कोपिला पनि छलफल गरेर बसेका थिए । निरन्तर झरी परिरहेकै थियो र घरभित्र पानी रसाइरहेको थियो ।

जुनसुकै बेला पहिरो आउन सक्ने भएकाले घर छोडेर अन्तै बस्ने सल्लाह पनि गरेका थिए । ‘मेरो पनि आडमै घर भयो, रातिसम्म जान भो कतै बस्न भनेको भाइले अहिलेसम्म केही भएको छैन, भोलिसम्म हेरम् भन्यो,’ भोजबहादुरले भक्कानिंदै सुनाए ।

राति सवा १० बज्नै आँटेको थियो । ठूलो भूकम्प गएजस्तो जमिन हल्लियो, गटटटट् आवाज निस्कियो । के भयो भन्ने निधो गर्न नपाउँदै पहिरो खस्यो र निमेषभरमै कुलबहादुरका परिवारका ६ जनालाई पुरिदियो ।

पहिरोले ४७ वर्षीय कुलबहादुर परियार, उनको पत्नी ४३ वर्षीया मनकुमारी, ८५ वर्षीया आमा लक्षीमा, छोरी १५ वर्षीय प्रशना, २० वर्षीया प्रभा, ज्वाइँ २५ वर्षीय अस्मित परियार ज्यान लियो । ठूलो आवाजसहित झरेको पहिरोकै कारण हाताहातीमा आफन्त राधिका परियारको पनि मृत्यु भएको छ ।

कुलबहादुरका १७ वर्षीय छोरा पवन संयोगले बाँचेका छन् । पहिरो घरमाथि खस्दा पवनलाई ढोकाबाहिर हुत्याउँदा अलि छेउमा परेका कारण बाँच्न सकेका हुन् । ‘उनको पनि आधा ज्यान पहिरोले पुरिसकेको थियो । हामीले निकाल्यौं’ छिमेकी समेत रहेका वडा नम्बर १९ का सदस्य विकास आचार्यले भने ।

पहिरो पन्छाउँदै जाँदा पवनकी बहिनी प्रशना पनि भेटिएकी थिइन् । ‘हामीले उद्दार गरेर दुवैलाई तत्काल अस्पताल पनि पठायौं, तर प्रशनाको ज्यान गइसकेको रहेछ’ उनले भने ।

पवनको परिवारमा एक जना दिदीमात्र छिन् । जापानमा रहेकी पवनकी दिदीलाई आफन्तले खबर गरिसकेका छन् । विन्ध्येवरी माविमा कक्षा १० मा अध्ययनरत पवनको जीवनमा आकासै खसेर थिचेजस्तो महसुस गरिरहेका छन् ।

‘ठूलो आवाजसहित जमिन हल्लिएपछि घरमा ल पहिरो आयो भनेर निस्कने कुरा हुँदै थियो, पहिरो आएर थिचिहाल्यो,’ त्यसपछिको घटनाक्रम उनले व्यक्त गर्न सक्दैनन् ।

पहिरो पन्छाउनकै लागि छोरी–ज्वाइँ पुगेका थिए । स्याङ्जा अर्जुनचौपारीमा विवाह भएपछि छोरी–ज्वाइँले पोखरामा बाँच्नका लागि संघर्ष गरिरहेका थिए । छोरी प्रभाले मन्ट्वेसरीमा पढाउन थालेकी थिइन् भने ज्वाइँले किराना पसलमा ।

घर नै जोखिममा पर्ने गरी साना साना पहिरो खस्न थालेपछि छोरी–ज्वाइँ पुगेका थिए । तर, छोरी–ज्वाइँसहित ६ जनाको परिवारको एउटै पहिरोमुनि अवसान भएको छ ।

भाइ त बचाए, आमा गुमाए

कुलबहादुरको घरमै बसेर कुराकानी गरेर फर्किएको केही मिनेटमै जमिन गडगडाउँदै हल्लियो । जुनसुकै पहिरो खस्ने डरले कुलबहादुर, भोजबहादुर, कोपिलाको घरका सदस्य जागै बसेका थिए । पहिरोले भोजबहादुरको घरमा पनि धक्का दियो ।

त्यही क्रममा भोजबहादुरकी पत्नी राधिका भुइँमा ढलिन् । ‘ठूलो आवाज निस्किएको थियो, झ्याम्म पहिरो त खसिहालेछ’ भोजबहादुरले सुनाए, ‘मुटुले ठाउँ छोड्यो, बाँचिन्न क्या हो भन्ने भयो, माथिको घर त सबै पुरिसकेछ ।’

पहिरोको आवाज आउनेबित्तिकै भोजबहादुरका जेठा छोरा कुमार घरबाट बाहिर निस्किइहाले । काका कुलबहादुरको घर पहिरोले सोत्तर पारेको देखे भने, काकाका छोरा पवनले गुहार मागिरहेका थिए । कुमार र अरु छिमेकीले पवनलाई पहिरोबाट निकाले र बचाए । तर कुमारकी आमा राधिकाले ज्यान गुमाइन् ।

बेलैमा निर्णय गरेको भए हुँदैनथ्यो क्षति !

ढुंगा–माटोले बनेको कुलबहादुरको घर लगातारको झरीको असरले रसाउन थालिसकेको थियो । घरमाथिबाट स–साना पहिरो खसिरहेको थियो । छिमेकी मनबहादुर क्षेत्रीका अनुसार घर नजिकै यति ठूलो पानीको मूल कहिल्यै फुटेको थिएन ।

घर नै जोखिममा परेपछि आफन्त, छिमेकी र शुभचिन्तकले कुलबहादुरलाई केही समय अन्यत्रै बस्न आग्रह गरेका थिए । तर यस्तो ठूलो पानी यसअघि पनि परेकाले केही नहुने बताए । समयमै सुरक्षित स्थानमा जान गरेको आग्रहलाई बेलैमा नसुन्दा ठूलो मानवीय क्षति बेहोर्नुपरेको आफन्त, छिमेकी दुखेसो छ ।

‘केही दिन अरुकै घरमा बसौं भनेकै हो, तर उसले १/२ दिन हेरम् भनेर मानेन । आज यो दिन देख्नुपर्‍यो,’ दाइ भोजबहादुरले सुनाए । वडा सदस्यसमेत रहेका छिमेकी विकास आचार्यले पनि अघिल्लो दिन नै घरै पुगेर जुनसुकै बेला ठूलो पहिरो जान सक्ने भएकाले नबस्न आग्रह गरेको सुनाए ।

छिमेकी मानबहादुरले पहिरो जानसक्ने उत्तरतर्फको जमिन देखिने गरी बत्ति जडान गरेका थिए । ठूलो आवाज सुनेपछि चिच्याएका पनि थिए । उनकै घरको ढोकाबाट पनि पहिरोको लेदो र हिरो छिरेको छ । तर उनको घर पक्की भएकाले ठूलो क्षति भएन ।

अब पनि जुनसुकै बेला फेरि पहिरो जानसक्ने भएकाले घर खाली गरेर आफन्तको शरण लिएका छन् ।

ठूलो पानी परेसँगै केही दिन आफूहरु निदाउन नसकेको र जुनसुकै बेला पहिरोले पुर्न सक्ने त्रासमा बसेको सुनाए । ‘बेलैमा घर छोडेको भए, त्यत्रो क्षति नहुने रहेछ, उनले गहभरी आँसु पार्दै भने, ‘असल थिए तर एउटा सानो छोरामात्र बाँच्यो ।’

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?