+
+

कम्तीमा ४८ जना त्रिशूली नदीमा बेपत्ता

विकास रोकामगर नारायण अधिकारी विकास रोकामगर, नारायण अधिकारी
२०८१ असार २८ गते २२:५०

२८ असार, काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा पहिरोले दुई वटा बस बगाएर त्रिशूली नदीमा पुर्‍याएको छ । तर घटना भएको २० घन्टा भइसक्दा न बस भेटिएको छ, न त्यसमा सवार कम्तीमा ४८ यात्रुको उद्दार हुन सकेको छ ।

भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रबार बिहान करिब ३ बजे लेदोसहितको पहिरोले गयो । वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसलाई लेदोसहितको पहिरोले बगाएर त्रिशूली नदीमा हुल्यो ।

बस व्यवसायी कम्पनीमा दर्ता भएको यात्रु टिकट चलानी अभिलेखअनुसार गणपति डिलक्स बसमा २७ जना र एन्जल डिलक्स बसमा २४ जना यात्रु सवार थिए । तर बीचमा कति यात्रु ओर्लिए या चढे भन्नेबारे अझै यकिन भइसकेको छैन ।

बसमा रहेका तीन जना नदीमा पौडिएर बाच्न सफल भए । उनीहरूले दिएको सूचनाका आधारमा बिहानैदेखि सुरक्षाकर्मीहरूको टोलीले उद्दार कार्य थालेका थिए । साँझसम्म पनि केही पत्ता लगेन । सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी कुमार न्यौपानेका अनुसार साँझ करिब ६ बजे उद्दार कार्य स्थगित भयो ।

उद्धार टोलीले अब भोलि बिहानबाट ८ बजेपछि मात्रै खोजी कार्य सुरु गर्ने छ । ‘नदीमा पानीको बहाव घटेको छैन । रातिको समयमा जोखिम पनि हुने भयो’, डीआईजी न्यौपानेले भने, ‘घटनास्थलबाट ३–४ किलोमिटर वरपरसम्म खोज्दा पनि भेटिएन । त्यहाँ खटिएका सबै उद्धार टोली फर्किइसकेका छन् ।’

निरन्तरको वर्षा र ठाउँठाउँमा खसेको पहिरोले बेपत्ता बस र यात्रु खोज्न हिँडेका गोताखोरसहितको सुरक्षाकर्मीलाई पनि घटनास्थल पुग्नै हम्मेहम्मे परेको थियो ।

न्यौपानेका अनुसार त्रिशूलीमा हराएका बस खोज्न सशस्त्रका ४ वटा, नेपाल प्रहरीको एउटा गरी ५ मोटरबोट, गोताखोर टोली लगायत प्रयोग गरिएको थियो । हराएको बस खोज्न रड, चुम्बक पनि प्रयोग गरिएको थियो । तर साँझसम्म बसको पर्दा जस्तो देखिने कपडा बाहेक केही भेटिएको छैन ।

नारायणगढ–मुग्लिन सडकखण्डमा दुर्घटना भएर त्रिशूलीमा बस खसेको यो पहिलो पटक होइन, यसअघि पनि पटकपटक त्रिशूली किनारमै धैरे दुर्घटना भइरहन्छन् । सशस्त्रका १२ जना गोताखोरसहित ७० जना, नेपाली सेनामा ५ जनासहित ७४ वटा नेपाली सेना, नेपाल प्रहरीलगायतको ठूलो टोली बिहानैबाट त्रिशूलीमा बेपत्ता बस खोजी कार्यमा लागे पनि फेला पर्न सकेन ।

०७२ असोज ९ गते मा पनि तत्कालीन खिलराज रेग्मी सरकारको पालामा गृह मन्त्रालय सम्हालेका पूर्वमुख्यसचिव माधवप्रसाद घिमिरे सवार कार पनि सोही सडकखण्डकै घोप्टेभीरमा दुर्घटना भएको थियो । उनी सवार कार त्रिशूलीमा खस्दा ३ जनाको मृत्यु भएको थियो । उनको अवस्था हालसम्म अज्ञात छ ।

सुरक्षा निकायका उद्धार टोलीका सदस्यहरू भने विपद् उद्धारमा स्रोत र साधनको कमी नभएको दाबी गर्छन् । उद्धारमा संलग्न सदस्यका अनुसार दुर्घटना भएकै ठाउँमा बढी गहिरो र तेज बहाव भएकाले पनि समस्या भएको हो ।

शसस्त्र प्रहरीका प्रवक्ता न्यौपानेका अनुसार शुक्रबार चितवन त्रिशूलीमा भएको घटना उद्धार ढिलाइ हुनुको प्रमुख कारण नै वर्षात् र नदीको उच्च बहाव हो ।

आफूहरूसँग उद्धारका लागि आफूहरूसँग पर्याप्त स्रोत र साधन भए पनि निरन्तर वर्षा र नदीको बहाव नघट्दा समस्या भएको हो । ‘हामीसँग तालिमप्राप्त गोताखोर, मोटरबोटदेखि सबै पर्याप्त स्रोत र साधन छन् । सबैको उच्चतम् प्रयोग गरेरै खोजिएको हो’, न्यौपाने भन्छन्, ‘आजचाहिँ पानी धमिलो र निरन्तर वर्षाले गर्दा केही अवरोध भएको हो । अरु समस्या होइन ।’

विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिन्टारका एसपी जनक पुरी पनि यसअघि पनि उच्च बहाव र धमिलो पानी भएका ठाउँमा आफूहरूले सफलता हासिल गर्दै आएको बताउँछन् । ‘योभन्दा ठूला र गहिरा नदीमा पनि हामीसँग भएका इक्वेप्मेन्टले सफलता पाएका हौं’, उनले भने, ‘तर, आज बहाव धेरै थियो । गोताखोरले प्रयोग भएका डोरी पनि धमिलो पानीमा कतिबेला ढुंगाले काट्छ भन्ने रिस्क पनि हुन्छ । त्यही भएर रोकिनुपर्‍यो ।’

एसपीका पुरीका अनुसार नेपाली गोताखोरले प्रयोग गर्ने डोरीले १० टनसम्मको बहाव धान्ने क्षमता राख्दछन् । भन्छन््, ‘विश्वव्यापी रुपमा प्रयोग हुने मोप त्यही हो । त्यसबाहेक हामीसँग इक्वेप्मेन्ट भएन, जनशक्ति भएन भन्नेचाहिँ होइन ।’

असुरक्षित छन् सडक पनि

विदेशी दातृ निकायको सहयोगमा अर्बौं रुपैयाँ लगानीमा सडक बनाउने तर, सडक सुरक्षामा ध्यान नदिँदा नेपालले ठूलो क्षति व्यहोर्दै आइरहेको छ । नारायणगढ–मुग्लिन सडकखण्ड त्यसैको एउटा उदाहरण हो । जुन सडकका कारण पूर्वपश्चिमबाट आउने यात्रु तथा मालबाहक सवारी साधनले क्षति र हैरानी खेप्नु परिरहेको छ ।

विश्व बैंक (एडीबी)को करिब ३ अर्ब रुपैयाँ सहयोगमा बनेकोे यो सडकखण्डमा सामान्य वर्षात्को बेलामा मात्रै होइन, सुख्खा पहिरोले पनि पटकपटक सडक अवरुद्ध हुँदै आएको छ । ५ वर्षअघि डेडिकेटेड २ लेनमा विस्तार गरेसँगै बर्सेनि ठाउँठाउँमा पहिरो जान रोकिएको छैन । पहिरो रोक्नै करोडौं खर्च भएको छ तर, उपलब्धी भने शून्यजस्तै छ ।

यो सडकखण्डमा बर्सेनि ज्यानै जाने गरी दर्जनौं दुर्घटना भइरहन्छन्, तर सरोकारवाला निकायको अझै चेत खुलेको छैन । यो सडकखण्डमा सडक सुरक्षाका विधि पनि अपनाइएका छैनन् । पटकपटक पहिरो झर्ने ठाउँमासमेत कुनै चेतावनी संकेत देखिँदैन ।

सिमलतालमा दुर्घटना भएपछिमात्रै गृहमन्त्रालयले पहिरो जाने तथा डुबान हुन सक्ने सम्भावित र जोखिमयुक्त ठाउँमा जोखिमका संकेत राख्ने निर्णय गरेको छ । सम्भावित जोखिमयुक्त ती ठाउँमा सडक विभाग र ट्राफिक प्रहरीले संकेत राख्नेछन् ।

सडक डिभिजन, भरतपुरका अनुसार मुग्लिन–नारायणगढ सडकखण्डमा यो सडक खण्डभएर दैनिक १२ हजार सवारी साधन गुड्ने बताउँछन् । पहिरो खसेर बाटो पूर्ण रुपमा बन्द भएको यो वर्षमा मात्रै चौंथो पटक हो ।

विकास खोज्ने तर, वैज्ञानिक अध्ययनबिना नै पूर्वाधार निर्माण गर्दा क्षति व्यहोर्नुपरिरहेको विज्ञहरूको मत छ । सडक सुरक्षाविद् पदमबहादुर शाही सडक पूर्वाधार निर्माणमा पर्याप्त अध्ययन नै नभएको बताउँछन् । ‘धेरै ठाउँमा माथिबाट खसेको पहिरोले सडक सुरक्षालाई असर पारिरहेको देखिन्छ । यसका लागि ठूलो अध्ययनअनुसन्धानको आवश्यकता छ’, उनी भन्छन् ।

सडक विभागका पूर्वमहानिर्देशक शिव नेपाल पछिल्लो समय तीनै तहका सरकारबीच विकासका नाममा नयाँ सडक बनाउने प्रतिस्पर्धा चल्दा विपत्ति भोग्नु परिरहेको बताउँछन् । भएका सडक स्तरोन्नति र मर्मतमा लगानीभन्दा नयाँ बाटो बनाउनेमा तीनै तहको सरकारको ध्यान बढी केन्द्रित रहेको सुनाउँछन् ।

नारायणगढ–मुग्लिन सडकमा पहिरो सम्भावित ३६ सम्भावित ठाउँका धरातल स्थीर हुने गरी योजना सुरु गरे पनि पछि निरन्तरता नपाएको नेपाल बताउँछन् । ‘केही समय काम पनि भएको थियो । तर, पछि रोकियो, अहिले धेरै पहिरो नयाँ ठाउँमा सिर्जना भएको देखिन्छ’, उनले भने, ‘त्यसलाई पुनः अध्ययन गरेर योजनालाई अगाडि बढाउनुपर्छ ।’

नारायणगढ–मुग्लिन सडकखण्ड र वीपी राजमार्गमा सम्भावित घटनाबारे जानकारी दिन ७० सालतिरै डिजिटल सूचना बोर्ड राखिएको पनि नेपालले बताए । ‘जापानिजले बनाइदिएको उक्त प्रविधि उनीहरू गएसँगै बन्द हुन पुग्यो । मर्मत गर्न न लगानी गर्न सक्यौं, न जनशक्ति नै भए’, उनले भने, ‘त्यो प्रविधि अहिले चल्छ कि चल्दैन थाहा छैन ।’

रात्रिकालीन सवारीमा रोक

वर्षात्‌ले दुर्घटना बढ्न थालेपछि मुग्लिन–नारायणगढ सडकखण्डसहित ‘रेड एड्भाइजरी’ (उच्च जोखिमको सूचना) जारी भएका दिन तोकिएका जिल्लाहरूमा रात्रिकालीन सवारी चलाउन नपाइने सरकारले निर्णय गरेको छ ।

शुक्रबार गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखामा बसेको बैठकले उक्त निर्णय गरेको हो । यसको कार्यतालिका यातायात व्यवस्था विभाग र यातायात व्यवसायीहरूले मिलाउने गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख डा. भीष्मकुमार भूसाल बताउँछन् ।

तर, सडक सुरक्षा व्यवस्थापनमा ध्यान दिनुको साटो सरकारले रात्रिकालीन गाडी चलाउनै रोक्ने नीति लिएपछि सरोकारवालाले भने असन्तुष्टि पोखेका छन् । यातायात व्यवसायी, सरक्षाकर्मी भने रात्रिकालीन बस सञ्चालनमा रोक लगाउनुमात्रै समस्याको समाधान नहुने बरु सडक सुरक्षामा ध्यान दिन सुझाएका छन् ।

‘सेवा रोकिँदा घाटा पूर्ति कसले गरिदिने ? कुनैकुनै ठाउँमा परिस्थितिवश बन्द गर्नुपर्ने त होला ! तर, ठप्पै पार्ने गर्नुहुँदैन’, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला भन्छन् ।

नेपाल प्रहरीका पूर्वएआईजी विज्ञानराज शर्मा पनि बर्खायामभरिकै लागि भनेर रात्रिकालीन बस सञ्चालनमा रोक लगाउनु उचित नहुने बताउँछन् । सुरक्षाको हिसाबले केही दिन वा समय रोक लगाउनु ठिकै भए पनि लामो समयसम्मका लागि सेवा नै रोक्नु उचित नहुने उनको तर्क छ ।

‘मोन्छेको मुभमेन्ट नै रोक्ने, तँ हिँड्न पाउँदैनस् भनेर राज्यले भन्न मिल्दैन । बाढी पहिरोका कारण तत्कालका लागि २/४ घण्टा वा एक/दुई दिन रोक्न कुनै निर्णय पनि गर्नु पर्दैन’, पूर्वएआईजी शर्माले भने, ‘तर सधैंका लागि रोक्नु जायज होइन ।’

लेखकको बारेमा
विकास रोकामगर

नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?