+
+
निबन्ध :

जीवनको अर्थ खोज्नेप्रति…

गोपी मैनाली गोपी मैनाली
२०८१ असार २९ गते १९:५४

धेरै खोजिएको तर पाइन भनिएको अर्थ जीवनको नै हो । जीवनको अर्थ खोज्न सिद्धान्त र सूत्र दिने मानिसहरू कोही मनोविज्ञान, केही काम, कोही धन, कोही प्रतिष्ठा र कोही चाहिं शून्य आनन्दको निष्कर्षमा छन् ।

भोगिएको जीवनबाट वाक्क भएका वा चाहेको जीवन खोज्नेहरू पाएको जीवनप्रति भने बेपर्वाह छन् । जीवन पाउनु नै उपलब्धि हो, यसैको स्वाद सन्तुष्टि लिएर कार्य–रचना गर्ने कर्मबाट धेरै विषयान्तर छन् । धेरै जीवनमा उकुसमुकुस छन्, प्राप्तिको अनन्त चाहनामा प्रताडित छन् । तृष्णाको भुुङ्ग्रोमा छन्, ईष्र्याको ज्वलनमा छन् ।

प्राप्तिको क्षितिज सीमाहीन छ भन्ने जान्दाजान्दै जीवनभर घस्रेर, उफ्रेर, दौडेर, उडेर त्यहीं पुुग्ने इरादामा असिनपसिन छन् । प्राप्तिको अभीष्ट सुख हो कि खुसी ? उत्तर पाइएको छैन । सुख हो भने त्यो सापेक्षिक छ, खुसी हो भने साना प्राप्तिमा पनि त्यो मिलेको छ भन्ने छुटाउँछन् ।

मोटरकारमा हुुइँकिएकालाई शिन्कानसेनले उछिन्छ, शिन्कानशेनलाई हवाईजहाजले र त्यसलाई अरू आविष्कारले । तर ढाकर बोकेर हिंड्ने ढाक्रे ठाडो उकालोको शिरमा पुुगेपछि तोक्मामा ढाकर टेकाएर भञ्ज्याङको चौतारोमा खुुईय्य गर्दा असीम खुसीको आनन्द लिन्छ ।

जीवनको अर्थवत्ता खोज्न फ्रायडले मनोविज्ञानलाई आधार माने । मनोविज्ञान सुखप्रति लक्षित छ र धेरै सुख अवचेत तहमा थिग्रिएको छ वा सामाजिक सम्मति नभएकाले दमित छ । तर एडलरले मनोविज्ञानलाई नै आधार माने पनि त्यसको केन्द्रमा शक्ति देखे । घर, परिवार, समाज जता पनि शक्तिका लागि मानिस गतिशील छ । उनका अर्थमा शक्ति नै स्व हो । मायामा, साथित्वमा, यात्रामा, वृत्तिमा, सबै चर्यामा शक्तिले मानिसलाई तानिरहेको छ । चार्वाक भोगलाई अर्थ सम्झन्छन्, जसरी पनि भोग गरौं त्यसले तुष्टि र अर्थ दिन्छ ।

वात्सायनको निष्कर्षमा चरमानन्द जीवनको अर्थ हो, जसलाई ओशोले पशुतहको, प्राकृतिक तहका आनन्द भनेर अर्को शब्दमा व्यक्त गरेका छन् । ओशो चरमानन्दका लागि पशुतहमा पुुग्नुुपर्ने कल्पना गर्छन् । उनीहरूका अर्थमा काम जीवनको साध्य पनि हो, निरन्तरता पनि हो । सृष्टि र खुसीको संगम जति ओजदार अर्थ अरू के हुन्छ र ?

सिद्धार्थ गौतम बृहद् शून्य आनन्दमा पुुग्दा जीवन बुुझिने निष्कर्षमा रहे । मन–मस्तिष्कको शुद्धीकरण साधनाले दिन्छ, यो चेत नै जीवनको अर्थ हो । ऋषिमुनिहरूले यही शुद्धतामा जोड दिएर शास्त्र–नीतिहरू लेखे । भगवान् रामचन्द्र, श्रीकृष्ण कर्मलाई जीवनको साध्य मान्छन् तर कर्मको आचरणमा उनीहरू फरक देखिएका छन् ।

सुकरात सत्यनिष्ठालाई मानवता मान्छन् र त्यही जीवनको सार ठान्छन्, जसलाई स्वीकार्न नसक्नेले उनलाई सजाय दियो, खुसीले सजाय स्वीकारेर जीवन त्याग गरे । यस अर्थमा आत्माले सम्मति नदिएको कुरामा जीवन उत्सर्ग गर्दा पनि आनन्द प्राप्ति हुँदोरहेछ भन्ने देखिएको छ ।

गान्धी अधर्मबाट मुक्त भएर आदर्श जीवनलाई पूर्णता दिन सकिन्छ भन्दछन् । अल्वेयर कामुु, ग्रिन्स वर्गहरू जीवनको अर्थ नभेट्टाएर अनीश्वर बने ।

यस अर्थमा सबैले खोजेको जीवनको अर्थ आनन्द रहेछ, यसका मार्गहरू मात्र सामान्य भेदमा रहेछन् । यसो भन्दा सामान्य मानिस अर्थ खोज्ने समथ्र्यबाट बाहिर छन् भन्ने होइन । प्रत्येक व्यक्ति आफ्नो चेत र अवचेतमा आफ्नै विश्व निर्माण गर्छ, आफैं विश्वमा रमाउँछ । प्रतिक्रिया र कार्य भिन्न भए पनि संवेग, उद्वेग, अनुुभूतिमा समानता छ । ऊ अरूको रोलमोडेलमा बाँच्दैन । सिद्धान्त र सूत्रमा बाँधिदैन, पूर्ण स्वत्वमा बाँच्न चाहन्छ । तर केही शाश्वत पक्षमा भने मनोविज्ञान, भनौं अवचेत तहले निर्दिष्ट गर्छ । अवचेत तहमा थिग्रिएको मानिसलाई सतहमा चेतना र बोधले बाहिर ल्याउन सम्भव गराउँछ । फ्रायड, ओशो, बुद्ध, चार्वाक, राम, कृष्ण, गान्धी, सुकरातहरूले दिएको व्याख्या त्यही बोधत्वमा छ ।

मानिस प्रवृत्तिबाट स्वतन्त्र र चाहनाबाट मुक्त छैन । त्यसैले निजत्वको आनन्द लिन सक्दैन, आफैंभित्रको सम्भावना उधिन्न सक्दैन ।

सम्भावनाको सगरमाथा भएर कन्दराको कापमा कोप्चिनुको कारण आफैंलाई भेट्टाउन नसकेर हो । आफैंलाई भेट्टाउन नसक्नेहरू अरू के भेट्टाउन सक्छन् र ? यो बोध वा स्वत्वभित्र मानिस त्यति पुुग्दैन । पुुगेकाहरू पनि शीत खसे झैं खस्छन्, फिंज जस्तै फास्सफुस्स हुन्छन् । बहुधा हामीहरू मृत्युको डरमा जीवनबाट भागिरहेका छौं । मृत्युको मनोत्रासले सधैं खेदिएको छौं ।

मानिसको स्वभावले दुःखलाई जीवनको अभिन्न भागको रूपमा लिएको छ । स्वभाव मनोविज्ञानको नतिजा हो । दुःख–पीडा प्राकृतिक पनि छन् र मानवीय पनि । प्राकृतिक पीडा दुःखदायी भए पनि जीवनको अर्थवत्ता दिन्छ, प्रकृतिको स्वाभाविक प्रक्रियाका कारण परिस्थितिहरू सिर्जिने गर्छन् । यसबाट न कोही भाग्न सक्छ, न भागेर उम्किने विकल्प नै बाँकी छ ।

उसो भए किन दुुःखी हुने ? स्वीकार्नुको विकल्प नभएका कुरामा चिन्ता लिनु व्यर्थ हो । तर पनि स्वभावले यसलाई स्वीकार्दैन । किनकि मानिस सुखको इनर्सियाबाट अनन्त चाहनामा तानिएको छ, जेलिएको छ । मानवीय दुःख मानिसकै प्रयत्नबाट घटाउन र हटाउन सकिन्छ । तर ईष्र्या, आवेग, अहङ्कार, कुण्ठा, अपनत्व, आकाङ्क्षाबाट ऊ साँघुरिन्छ । यहाँ पनि सुखको इनर्सिया अर्थको प्रमुख बाधक हो ।

मायाले जीवनका अर्थ खोज्न हामीहरू निरन्तर छौं । चेतना विकासपछि मानिस सधैं माया खोज्छ, माया गर्छ । माया नै दुुःखको स्रोत पनि हो । माया प्रेमिका/पत्नीबाट शुरू हुन्छ । प्रेमीहरू एकअर्कालाई माया गरेर जीवनमा रस भर्छन् । मायाको विस्तार गर्दै सन्तानसम्म पुुग्छन् । फेरि फैलिएर आफन्त, समाज र अझै परको परिधिमा पुुग्छन् र रमिन्छन् । रमाइ जीवनको अर्थ हो । मायाको स्रोत माया नै हो, यो कहिल्यै रित्तिंदैन, बढ्दै जान्छ ।

मायामा रमिएर मानिस आफैंलाई हराउँछन्, याने कि जीवनको अर्थ भेट्टाउँछन् । फेरि हठात् साँघुरिन्छन् यो माया सधैं गर्न पाइँदैन कि भनेर । सधैंको माया सामर्थ्य बाहिर छ । चेतना र विवेक भएकाहरू जीवन भएसम्म माया गर्छन् । चेतना सकिएपछि मायाको बोध कसरी हुने ?

जीवनको परिधि काट्न नसक्ने जीवनले स्थायी माया खोज्ने धृष्टताले मानिस दुःखी छ । चेतनामा उत्सव गरेर सन्तुुष्टिलाई सीमामा राख्न नसकेर मानिस दुःखी छ । सीमाहीन सन्तुष्टिको चाहनाले मानिस दुःखी छ । प्रेमी, सन्तान, आफन्त, संगत, आर्जन, देखे–भोगेका सब कुरा छाडेर जानुपर्ने भयले मानिस दुःखी छ । खुसीको विम्बचेत राख्ने स्वभाव आफैं क्षणिक हो भन्ने बुुझेर पनि मानिस दुःखी छ । माया खुसी र दुःख दुवैको स्रोत हो । मायाका कारण मानिस आफ्नै अर्थ खोज्न लागेको सदियौं बितिसक्यो तर अर्थ भेटिएको छैन ।

मानिसहरू आफूूप्रति प्रश्न गर्दैनन्, आफैंबाट विवेचित हुन चाहँदैनन् र अरूको प्रश्न पनि चाहँदैनन् । आफ्नो विवेचना र प्रश्न नरुचाउनेहरू प्रश्न उठ्दा रक्षात्मक हुने नै भए । यसो भनौं, हामीहरू आफैंलाई जान्ने स्वतन्त्रतामा छैनौं । समाज, परिवार र परिवेशले दिएको शिक्षाभन्दा बाहिर आएर जान्ने स्वभावमा रहँदैनौं । चेतनाको स्वतन्त्रताले मानिसलाई आफ्नै बुुझाइ र व्यवहारप्रति असहमति जनाउने सामर्थ्य निर्माण गर्दछ ।

हामीहरू अधिकारमा रहेर, अहम्मा रहेर, आग्रह र आस्थामा थिचिएर, तहसोपानमा रहेर सोच्दा विवेक बाहिरिने वास्तविकताप्रति अन्जान छौं । त्यसैले जीवनको स्वाद लिन सक्दैनौं । कथा पिएर, घुुटुघुटुु थुक निलेर बाँच्छौं । आफ्ना कथालाई सङ्घर्ष र साहसको उपमा दिन्छौं । जुन सङ्घर्ष जीवनको सामान्यता हो, मानिसहरूको मात्र होइन, सबै प्राणीहरू यही सामान्यतामा बाँचिरहेका हुन्छन् । आफ्ना कथाहरूलाई शक्तिले इतिहासमा कोर्छ, सिर्जना गर्नेहरू सिर्जनामा उतार्छन्, सामान्यहरू पनि मौका पाउँदा सामान्यको सिंढी उक्लेर ठूलो बन्छन् ।

हामीहरू प्रतिष्ठा र वाह्वाहीको दौडमा जीवनको अर्थ खोज्ने भ्रममा छौं । प्रविधि, सम्पर्क, मञ्च तथा सञ्जालहरू वाह्वाहीको प्रायोजनस्थल बनिरहेका छन् । हामीहरू मानिरहेका छौं– यसले हामीहरूलाई स्थापित गर्छ, जीवनको अर्थवत्ता फिंजाउँछ । तर वास्तविकता ठीक विपरीत बाहिर स्थापित हुन खोज्दा आफैंबाट विस्थापित छौं, खोक्रो बन्दैछौं । यो केवल अभिनय हो ।

यस दशककी विषालु (टक्सिक) गायिका ब्रिटने स्पेयर्स जति प्रचारित को भए होलान् र ? एउटा जमात उनको आलोचनाको ‘अ’ पनि सुन्न चाहँदैनथ्यो । उनको आत्मकथा ‘म भित्रकी नारी’ मा कल्पना नगरिएका उनका छोपिएका दुःखद् पाटाहरू आफैंले बाहिर ल्याएकी छन् ।

यसलाई अरूले भनेको भए कसले विश्वास गर्थ्यो ? विख्यात सेलिब्रेटी सङ्गीत साधकको सार्वजनिकत्वले उनलाई यति खेदेको रहेछ कि उनी आफ्नै सत्यबाट बाहिरिएकी रहिछन् । परिवार स्वर्ग बनेनछ, स्वतन्त्रतालाई सेलेब्रेसनको साङ्लोले बाँधेछ । यस्तै छोपिएका ठूला कथाहरू माइकल ज्याक्सन, ब्राड पिट, मार्लिन मुनरो, सुुशान्त सिंह राजपूत, प्रत्युसा बनर्जी, तुनिशा शर्मा, नीतिन देशाई, भैरव अर्याल, जर्ज स्याण्डर्स, डाना प्लाटोहरूका छन् ।

ख्याति, वाह्वाही, छवि र प्रचारको लागतले जीवनलाई भत्काउन, खुसीलाई च्यातचुत पार्न सक्दोरहेछ । शून्य आनन्द र संन्यास शान्ति खोज्ने भिक्षुु–भिक्षुणी, आचार्य दार्शनिक, अरूका जीवनलाई मार्गदर्शन गर्छु भनेर लागेका नेता, अभिनेताहरू प्रचारबाट मूल्य खोजिरहेका छन्, प्रतिष्ठाको तृष्णामा छन् । त्यसैले जीवनको अर्थ उनीहरूबाट बाहिरिएको छ । भनौं उनीहरू जीवनबाट बाहिरिएका छन् ।

हामीहरूमध्ये धन सम्पत्तिलाई जीवनको अर्थमा राखेर निराश हुनेहरू धेरै छौं । लोभ, धन र खुसी समानान्तर नभएको चाहिं भुलिरहेका छौं । भनिएला, सम्पत्तिले सामर्थ्य र स्वतन्त्रता किनिदिन्छ । तर स्वतन्त्रताको अर्थ आत्मिक खुसी हो, निजत्वको आनन्द हो । यस अर्थमा दिनभरि ज्यालामा पसिना बेच्ने श्रमिक खर्बपति भन्दा खुसी देखिन सक्छ ।

बम्बै बान्द्राका अर्बपति भन्दा खुसी धरावीको गल्लीमा दिनभरि मजदूरी गर्नेले पाएको छ । उसका सपना साना छन्, जसलाई पूरा गर्न पसिना चुहाउँछ । दिनभरिको मजदुरीले सानाखुसी सन्तानसँग बाँड्न पाउने पवित्रताले, निश्छलताले, मायाले ऊ खुसीले गद्गद् हुन्छ । साना खुसी जीवनका रङ्गीन फूलहरू हुन्, जसको उनाइमा सुन्दर माला बन्छ । त्यो माला नै सुन्दर संसार हो । जीवनको अर्थ हो ।

जीवनका अर्थ खोज्ने बहानामा मानिसहरू लिएर रमाउन खोज्छन्, दिएर दुःखी हुन्छन् । तर दिएर आउने आनन्द जति लिएर कहाँ पाइन्छ र ? नोवेल पुरस्कार पाएर रमाउनेभन्दा कैयन् गुुणा खुसी भएका भए अल्फ्रेड नोवेल हुनेथिए । आमा घर कि दिलशोभाको दिल दीनदुःखीलाई दिएर खुसी छ ।

जीवनको अर्थ खोज्न कोही महत्वाकाङ्क्षामा उग्र छन् त कोही स्वैरकल्पनामा मनभित्रको उडानमा विन्दास छन् । महत्वाकाङ्क्षा बुन्दै जाँदा अहम्को उकालो रोज्नेहरू अहम्ले जन्माएको शत्रुप्रति सावधान छैनन् । अहम् उसैलाई सक्ने उसैले हुर्काएको दुश्मन हो । उग्रमहत्वाकाङ्क्षाले उग्र अहम् जन्माउँछ, र उसलाई समाज र मानवीय संवेगबाट अलग्याउँछ । अर्थको खोजीमा हिंडेको मानिस दम्भले जाकिन्छ । अहम्लाई स्वीकार्य सीमामा राख्दा त्यो ऊर्जा हो, व्यग्रतामा भने आफैंलाई सक्ने दुश्मन ।

उता स्वैरकल्पनामा आफैंभित्र अभिव्यञ्जित विन्दासहरू मनभित्र रमाउँछन्, अहम् र इर्ष्या राख्दैनन् । तर स्वैरकल्पनाको विशाल वयेलीले उसलाई नभएको संसारमा पुुर्‍याउँछ । धरातलबाट हुत्याउँछ । रम्ने रमाउने न कल्पनाको वयेली ठीक न उग्रआकाङ्क्षाको दम्भ । दुवै जीवनको खोजमा खोक्रा छन् । सन्तुुलनको धरातलमा ल्याउने बाटोले जीवन सिकाउँछ, कर्म र मानवता सिकाउँछ ।

हो, विश्वास र साहसको आन्तरिक सीमा हुँदैन । नसक्नु त छँदैछ, सकिन्छ भन्ने विश्वासले पनि अर्थ दिन्छ । अर्थ लिने सामर्थ्य बढाउँछ । सकिंदैन भनेर खुम्चिनेहरू आफ्नै सीमाका साङ्लोमा बाँधिन पुुग्छन् । विश्वविद्यालयको अनुुहार नै नदेखेका स्टीभ जब्स आफैंभित्र उमारिएका आशामा संसारभरिका युवालाई आशा जगाउन सफल भए ।

उनले प्रमाणित गरिदिए कि छरिएका स–साना विन्दु जोडेर लामो रेखा बनाउन सकिए जस्तै मानिसहरू आफ्ना आशामा आफ्नै भविष्य बनाउन सक्दा रहेछन् । यसो गर्न उनीहरूसँग मनको भावना र मस्तिष्कको प्रयोगशाला छ । जेफ विजोसको दिमागी नतिजा अमेजनमा बहुुआयामिक भएको छ, किताब राख्ने झिक्ने ठाउँ नभएकालाई किन्डलले बेकिताबको किताब दिएको छ । फायर फोनमा बेजोसको सपना दुर्घटनमा नपरेको भए अहिलेको पुस्ताको हातहातमा थ्रीडी प्रविधि हुनेथियो ।

सकिंदैन भनेर बसेका भए न एलोन मस्क वा आइस्टाइन, साम अल्टम्यान, जुकर वर्ग, सत्य नादेला, साफ्रा काज, सुन्दर पिचाई, टिम कूकहरू पनि आफैंभित्र खुम्चिने थिए । तर उनीहरूको उत्साहको उत्पादनले अरूको जीवनलाई अर्थपूर्ण बनाउन सघाएको छ । उनीहरू उत्साहको मूल्य स्वरुप आनन्दिएका छन्, हामीहरू उनीहरूका उत्पादनका उपभोक्ता बनेर रमाएका छौं । उनीहरूले आफ्ना सपना, सोच र मनका भावना मस्तिष्कको प्रयोगशालामा मथे र सिर्जना दिए । उनीहरूले प्रमाणित गरिदिए कि युुवाहरूमा रहने सोच, सपना र सामर्थ्यले समाज, संस्कार र सभ्यताको निर्माण हुन्छ ।

दिमागमा रचिएको विम्बले नै संसार बनाउने हो, सामाजिक प्रजननशीलता ल्याउने हो । जीवनको अर्थ यस अर्थमा लगातारको प्रयत्न र प्रवर्तन हो । तर यसले अस्वस्थ उछिनपाछिनले फेरि मानिसलाई जलाउन सक्छ । तृष्णाको अन्त्य कहाँ छ र ?

जीवनको अर्थ भेटिएन, उपलब्धि भेटिएन भनेर कोही निराश बन्नु अर्थबाट झनै टाढिनु हो । जीवनलाई झनै बेअर्थी बनाउनु हो । जीवन सरलरेखीय यात्रामा हिंड्दैन । दुःख विपत्तिहरू स्वाभाविकतामा स्वीकारेर नै जीवनलाई रसपूर्ण बनाउन सकिन्छ ।

अघिल्तिरका अवरोधबाट किन आत्तिनु, पाइलाहरू आफूलाई चाहिने बाटो बनाउन आफैं सक्षम छन् । जीवनलाई प्राप्ति, समयलाई सामर्थ्य र परिस्थितिलाई अवसर भनेर रमाउनेहरू जीवनका अर्थमा छन् । अर्थ सबै ठूला हुन्छन्, स्वाद सबै मीठा हुन्छन् । जस्तो सोच त्यही परिणाम हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?