+
+

त्रिशूलीमा हराएको बससँगै रौतहटको दुई परिवारका ४-४ जना बेपत्ता

गौतम श्रेष्ठ गौतम श्रेष्ठ
२०८१ असार २९ गते १५:५७

२९ असार, रौतहट । नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा शुक्रबार भएको बस दुर्घटनामा रौतहटको बौधिमाई नगरपालिका वडा नं. ३ मटिअर्वाका एकै परिवारका चार जना बेपत्ता भएका छन् ।

त्यस्तै गरुडा नगरपालिका-९ सिसवाका पनि एकै परिवारका ४ जना बेपत्ता भएका छन् ।

बौधिमाई नगरपालिका, मटिअर्वाका ५८ वर्षका परशुराम साह श्रीमती मीना देवी, माइलो छोरा सरोज, छोरी रिंकु र ज्वाई नरेश साहलाई लिएर २६ असारमा काठमाडौं गएका थिए । कान्छो छोरा कृष्णनन्दन साह नेपाली सेनाको ९ महिने तालिम पश्चातको पासआउट समारोहमा सहभागी हुन परशुराम परिवारजनका साथ काठमाडौं गएका थिए ।

गाउँबाट नै काठमाडौं जाने गणपति डिलक्स बसमा गएका साह २७ गते सोही बसबाट फर्किदै थिए । ‘कान्छो भाइको तालिम सकिए पछिको पासआउट कार्यक्रममा सहभागी भएर बुवा, आमा, माइलो भाइ सरोज, दिदी रिंकु र भिनाजु नरेश साह काठमाडौंबाट फर्किदै हुनुहुन्थ्यो’, परशुरामका जेठा छोरा सुकनकुमार साहले भने, ‘बस चढेपछि बुवाले हामी बिहान घर आइपुग्छौ भनेर फोन गर्नुभएको थियो । तर बिहान सबेरै बस दुर्घटनामा परेको खबर आयो ।’

परिवारका ५ जनामध्ये सरोज साह भने दुर्घटनामा जोगिएका छन् । दुर्घटनाबाट जोगिने ३ जनामध्ये एक हुन सरोज । ‘हिजो काकाकी छोरीको बिहे थियो । बुवाले भतिजीको बिहेमा हामी सबै जना आइपुग्छौं भन्नुभएको थियो’ फोनमा भएको कुरा सम्झदै सुकन भन्छन् ‘हाम्रो परिवार माथि बज्रपात भयो । बुवा, आमा, दिदी, भिनाजुको कुनै अतोपत्तो छैन अहिलेसम्म ।’

एकै घरका चार जना बेपत्ता भएपछि आफन्तजन शोकमा छन् । खबर थाहा पाएर शनिबार आफ्नो घर भारतबाट माइत आएकी परशुरामकी अर्की छोरी सञ्जिता शोकाकुल छिन् । उनलाई सम्हाल्न जाने गाउँका महिलाहरुले पनि सान्त्वना दिन सकेका छैनन् ।

शुक्रबार बिहान मुग्लिन नारायणगढ सडक खण्डको सिमलतालमा माथिबाट खसेको पहिरोले बगाउँदा दुईवटा बस त्रिशूलीमा खसेर बेपत्ता भएका छन् । त्यहाँ कम्तीमा ५० यात्रु रहेको अनुमान छ ।

गरुडाको सिसवामा पनि शोक

बस दुर्घटनामा जोगिने अर्का एक व्यक्ति हुन गरुडा नगरपालिका– ९ सिसवाका ५० वर्षका जुगेश्वर राय यादव । २७ वर्षकी छोरी अमृता यादव, ७ वर्षका छोरा अशोक यादव र ३ वर्षका नाति शिवशंकर यादव र डेढ वर्षको नातिनीलाई लिएर उनी २० असारमा काठमाडौं गएका थिए ।

जुगेश्वरको ७ बर्षका छोरा अशोकलाई पेट दुख्ने समस्या थियो । गरुडा र चन्द्रपनिगाहपुरमा उपचार गराउँदा अशोकको पेट दुख्ने समस्या समाधान नभएपछि उनले छोरालाई काठमाडौंमा उपचार गराउन लगेका थिए ।

बुवा काठमाडौं जाने भएपछि छोरी अमृता पनि आफ्नो ढाड दुख्ने समस्या जाँच गराउन सँगै काठमाडौं गएकी थिइन् । उपचारका लागि गएका उनीहरु सवार बस पहिरोले त्रिशूलीमा बगाउँदा बेपत्ता छन् ।

बस दुर्घटनाको खबर सुनेपछि जुगेश्वरकी श्रीमती उमादेवी यादव मूर्छा परेकी छन् । ‘दुर्घटनामा बुवा जोगिनुभएको छ तर दिदी, भाइ र भाञ्जाभाञ्जी कहाँ छन् भन्ने अझै थाहा छैन’, जुगेश्वरका छोरा सन्तोष भन्छन् ‘हाम्रो परिवार नै उजाडिएको छ । मनलाई कसरी बुझाउने, सम्झाउने थाहा छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?