+
+

आँबुखैरेनी अस्पतालले छिट्टै शल्यक्रिया सेवा सुरु गर्दै

रासस रासस
२०८१ असार २९ गते १९:०७
आँबुखैरेनी अस्पतालमा शल्यक्रिया कक्ष निर्माण गरिँदै ।

२९ असार, दमौली (तनहुँ)। तनहुँको आँबुखैरेनी अस्पतालले आगामी आर्थिक वर्षदेखि शल्यक्रिया सेवा सुरु गर्ने भएको छ । दुई वर्ष अगाडि स्वास्थ्यचौकीबाट स्तरोन्नति भएको अस्पतालमा शल्यक्रिया कक्ष निर्माण भइरहेको अस्पतालका प्रमुख डा. डिबी क्षेत्रीले जानकारी दिए ।

गण्डकी प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको सहयोगमा शल्यक्रिया कक्षका लागि आवश्यक बत्ती, शय्या र इलेक्ट्रोकाउट्री मेसिन प्राप्त भएको छ । क्षेत्रीले भने, ‘केही थप औजार उपकरण, रक्तसञ्चार सेवा र व्यवस्थापन भएपछि आगामी आर्थिक वर्षको सुरुमै शल्यक्रिया सेवा सुरु गर्नेछौँ ।’

लामो समयको प्रयासपश्चात अस्पतालमा अब शल्यक्रिया सेवा सुरु हुने चरणमा पुगेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए । ‘अस्पतालमा शल्यक्रिया सुरु गर्ने लामो समयको प्रयासले अब सार्थकता पाउँदैछ’, उनले भने । अस्पतालले प्रसूति, हर्निया, एपेन्डिक्स, हाइड्रोसिलको शल्यक्रिया सेवा सुरु गर्ने तयारी गरेको उनले जानकारी दिए ।

चार प्रकारका शल्यक्रियाका लागि जनशक्ति रहे पनि उपकरण अभावमा सेवा सुरु गर्न ढिलाइ भएको चुमानले बताए । ‘अस्पतालमा हामीसँग तत्काल शल्यक्रिया सेवा सुरु गर्न जनशक्ति तयारी अवस्थामा छ, तर उपकरण अभावले सेवा सुरु गर्न सकेका थिएनौं’, चुमानले भने ।

विसं २०७९ मङ्सिर १ गतेदेखि आँबुखैरेनी स्वास्थ्यचौकीमा स्तरोन्नती भएको यो स्वास्थ्य संस्थाले तनहुँको आँबुखैरेनी गाउँपालिकासँगै बन्दीपुर गाउँपालिका र गोरखाको पालुङटार नगरपालिका, शहीद लखन गाउँपालिका र चितवनको इच्छाकामना गाउँपालिकाका बासिन्दालाई सेवा दिइरहेको छ ।

अस्पतालबाट चौबीसै घण्टा आकस्मिक सेवा, आधारभूत प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे, इसिजी, फार्मेसीलगायत सेवा प्रवाह भइरहेको छ । अस्पतालमा एकजना एमडिजीपी, तीनजना मेडिकल अधिकृत र १३ नर्स कार्यरत छन् ।

गाउँपालिकाले वडा कार्यालय भवन, गाउँपालिकाको सभाहलमै अस्पताल सञ्चालन गरेको हो । गाउँपालिकाले यस क्षेत्रमा ट्रमा अस्पताल बनाउने लक्ष्य राखेको छ ।

आँबुखैरेनी गाउँपालिका–१ स्थित सत्रसयमा सार्वजनिक र मित्रता माध्यमिक विद्यालयको समेत गरी करिब दुई सय रोपनी जग्गामा अस्पताल बनाउन सकिने अध्यक्ष चुमानले बताए । ‘तनहुँको दमौलीबाट पूर्व लागेपछि ५० किमी दूरीमा एउटा पनि सरकारी अस्पताल छैन, कुनै दुर्घटना भयो भने उपचारका लागि चितवन वा काठमाडौँ दौडिनुपर्छ । राष्ट्रिय ट्रमा सेन्टरमा रहेका आवासीय चिकित्सक ल्याउन सकिए धेरै जनाको ज्यान बचाउन सकिन्छ’, उनले भने ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?