+
+
सिमलताल घटना :

आफन्तको आक्रोश : बाँसका भाटाले खोजेर बस भेटिन्छ ?

‘माछा मारेजस्तो छेउ छेउमा खोजेर कहाँ पाइन्छ, बाहिर भेटेका शव पनि प्रशासनले भेटेको हैन, जनताले देखेपछि खबर गरेको हो’, रौतहट कटहरीका सतिलाल दासले भने, ‘पानीको वहाव यति धेरै छ, घटनास्थलमा बस खोजेर भेटिन्छ ?’

सुवास पण्डित सुवास पण्डित
२०८१ असार २९ गते २०:४०

२९ असार, चितवन । नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका– २९ सिमलतालमा असार २८ गते राति आएको पहिरोमा परेर त्रिशूली नदीमा हराइरहेका दुईवटा बसको खोजी कार्य जारी छ ।

घटनास्थलमा दुबै बसमा रहेका यात्रुका आफन्तहरु केही नयाँ सूचना आउँछ कि भनेर बिहानदेखि राति अबेरसम्म यताउता गरिरहेका छन् । शुक्रबार भन्दा शनिबार बेपत्ताका आफन्त र सर्वसाधारणको उपस्थिति घटनास्थलमा बाक्लो बन्दै गएको छ ।

केही यात्रुका आफन्त घटना भए लगत्तैदेखि आएका थिए भने कतिपय शनिबार आएका छन् । बेपत्ता यात्रुका आफन्तले आफ्नो विवरण घटनास्थल नजिकै प्रहरीले राखेको डेस्कमा टिपाएका छन् । पहिरोमा परेर त्रिशूलीमा डुबेको बस फेला पर्छ कि भन्ने आशा उनीहरुमा छ ।

नारायणी नदी किनारका विभिन्न स्थानमा शवहरु फेला पर्न थालेका छन् । फेला परेका शवका तस्वीरहरु हेर्ने, कतै आफ्नै मान्छे पो हो कि भनेर सशंकित हुने गर्दछन् ।

केही नयाँ खबर आए झुण्ड झुण्डमा बसेर हेर्ने, छलफल गर्ने गर्छन् । कहिले नदी तिर हेर्दै टोलाउँछन् भने कहिले पहिरो झरेको खोल्सातिर ओत लाग्छन् । उनीहरुका लागि मनकारी दाताहरुले पानी र खाजाको बन्दोबस्त गरेका छन् । तर आफन्त बेपत्ता भएका उनीहरुको रुचि त्यसमा देखिँदैन ।

शुक्रबार बिहान बीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको बागमती प्रदेश ०३२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस मुग्लिन नारायणगढ सडक खण्डमा माथिबाट खसेको पहिरोले बगाउँदा त्रिशुलीमा खसेर बेपत्ता भएका थिए ।

वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बसमा ७ जना भारतीयसहित २४ जना र काठमाडौंबाट रौतहट जाँदै गरेको बसमा २७ जना यात्रु सवार रहेको टिकट काउन्टरको विवरणबाट देखिन्छ । तर बीच बाटोबाट थप यात्रु पनि चढेको अनुमान गरिएको छ ।

यी बस पहिरोले बगाउने क्रममा ३ जना यात्रु भागेर बाँच्न सफल भएका छन् भने अरु बेपत्ता भएका थिए । बेपत्तामध्ये शनिबार बिहान भरतपुर महानगरपालिका- २८ गोलाघाटमा नारायणी नदीमा भेटिएको शव काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बसका यात्रु भारतीय नागरिक ऋषि पाल साहको भएको पुष्टि भएको छ ।

शनिबार दिउँसो नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका- ७ स्थित नारायणी किनारमा २ जनाको शव भेटिएको छ । उनीहरु सोही दुर्घटनामा बेपत्ता भएका यात्रु रहेको हुन सक्ने अनुमान गरिएको छ । ती शवहरु भरतपुर आएका बेपत्ताका आफन्तलाई देखाएर पहिचान गरिने प्रहरीले जनाएको छ ।

घटना भएको दुई दिन बित्दासमेत शव र आफ्नो प्रियजनको पत्तो नभएपछि उनीहरुमा निराशासँगै आक्रोश पनि बढेको छ । हिजोसम्म शान्त रहेका यात्रुका आफन्तहरु शनिबार भने सशस्त्र प्रहरी बल र नेपाली सेनाले गरिरहेको खोजी कार्यप्रति असन्तोष ब्यक्त गरिरहेका छन् ।

उनीहरुले यति धेरै मान्छेहरु एकै ठाउँमा खस्दासमेत राज्यले गम्भीर भएर खोजतलास नगरेको गुनासो पोखे । रौतहटको कटहरिया नगरपालिका–१ का बुधन दासका छोरा त्रिशुलीमा खसेका बसको यात्रु थिए । उनलाई अब छोरा जिउँदै फर्कने आशा छैन, तर सुरक्षाकर्मीले गरेको खोजतलासले कुनै उपलब्धि हात नलाग्ने उनलाई लाग्न थालेको छ । ‘हिजोसम्म त गर्दैछन् भन्ने लागेको थियो, हिजो र आज उस्तै छ’, उनले भने, ‘कति दिनसम्म यसरी नै खोज्ने ?’

कटहरीकै सतिलाल दासले सेना र प्रहरीको खोजीबाट आफू सन्तुष्ट नभएको बताए । ‘माछा मारेजस्तो छेउ छेउमा खोजेर कहाँ पाइन्छ, बाहिर भेटेका शव पनि प्रशासनले भेटेको हैन, जनताले देखेपछि खबर गरेको हो’, दासले भने, ‘प्रशासनले देखावटी मात्रै गरिरहेको छ । पानीको वहाव यति धेरै छ, घटनास्थलमा बस खोजेर भेटिन्छ ?’

बाँसका भाटा बोकेर, र्‍याफटिङमा चढेर कसरी बस भेटिन्छ भनेर दासले प्रश्न गरे, ‘यसले हामीलाई झनै दुःखी बनायो ।’ उनले राज्यको क्षमता साह्रै कमजोर भएकामा दुःख लागेको बताए ।

बीरगञ्जबाट काठमाडौं जाँदै गरेको बसमा यात्रारत भाइ रैजुल आमलको खोजीमा आएका पर्साको सखुवाप्रसौनीका मिराज मन्सुरीले सुरक्षा निकायले गरिरहेको खोजी र उद्दारको अहिलेको अवस्थाले कुनै नतिजा नदिने ठोकुवा गरे ।

‘हामीले २ दिनदेखि यहाँ बसेर हेरिहेका छौं, बाँसका भाटाले खोजेको छ, केही गोताखोरहरु भित्र पसेको पनि देखिन्छ तर कुनै उपलब्धि छैन’, मन्सुरी भने, ‘नेपालमा जनशक्ति र स्रोत साधन छैन भने विदेशबाट भए पनि ल्याउनुपर्छ, यतिका मान्छे यहीँ हराएका छन् तिनलाई खोज्नु सरकारको दायित्व हो ।’

उनले रातिमा समेत टेन्ट टाँगेर बत्ती बालेर प्रहरीहरु बसेर खोजी गरे आफूहरु पनि बस्न तयार भएको बताए । ‘प्रहरी गएपछि हामी मात्रै यहाँ के गरेर बस्ने, विहान ८ बजे आउँछन् खोजेजस्तो गर्छन, ६ बजेतिर जान्छन्, हामी पो के गर्ने ?’, मन्सुरीले भने, ‘भारत वा बंगालदेश कताबाट हुन्छ गोताखोर र उपकरणहरु ल्याएर खोजी गर्न पर्छ ।’ मिराजका भाइ रैजुल जापान जाने भन्दै साथीहरुसँगै परीक्षा दिन काठमाडौं जाँदै गर्दा पहिरोमा परेका थिए ।

मिराजको जस्तै आक्रोश छ ओमप्रकाश ठाकुरको पनि । उनको भाइ जयप्रकाश ठाकुर काठमाडौंबाट रौतहट आउँदै गर्दा गणपति डिलक्स चढेका थिए । दुई दिनदेखि आफन्तहरूसहित घटनास्थलमा रहेका ठाकुरले सुरक्षा निकायले गरिरहेको खोजीले कुनै उपलब्धि हासिल नहुने गुनासो गरे ।

सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालयका एसपी जनक पुरीले बस खसेको ठाउँमा अत्यधिक पानीको बहाब, धमिलो पानी भएकाले कारणले गोताखोरहरुले बसको अवस्था पत्ता लगाउन नसकेको बताए ।

बेपत्ताका आफन्तको तर्फबाट गुनासो गर्नु स्वभाविक भएको भन्दै उनले खोजीलाई निरन्तरता दिइने बताए । बंगालदेश, भारत लगायतका देशका गोताखोरले पनि सफा पानी र जमेको पानीमा खोजी गर्न सक्ने तर यस्तो धमिलो पानी र तीब्र प्रवाह भएको पानीमा असहज हुने एसपी पुरीले बताए ।

नेपालमा उपलब्ध भएका सबै किसिमका प्रयास आफूहरुले गरिरहेको भन्दैं उनले केही समय संयमता र धैर्यता राख्न यात्रुका आफन्तहरुलाई अनुरोध गरे ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?