+
+

सिमलताल घटना : थप एकजनाको सनाखत

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ३० गते ८:४१

३० असार, चितवन । सिमलतालमा पहिरोमा बस परेर मृत्यु भएकामध्ये थप एक जनाको शव सनाखत भएको छ । सनाखत गरिएको शव चितवनको माडी नगरपालिका-१ का विकास परियारको भएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

वीरगञ्जबाट काठमाडौं जाँदै गरेको एन्जल्स बसमा चढेका विकासको शव पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका-७, नारायणी नदी किनारमा शनिबार दिउँसो भेटिएको थियो ।  मृतकका दाइ विजय परियारले शवको सनाखत गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए ।

बिहेको भिडियो खिच्न भन्दै विकास आफ्ना एक साथी जनासहित भरतपुरबाट काठमाडौं जान बस चढेका थिए । विकासकी ७० वर्षीया हजुरआमा हरिमाया परियार नातिको खोज्न शनिबार घटनास्थल सिमलताल पुगेकी थिइन् ।

विकासका दुवै दाजुभाइ भिडियो तथा फोटोको काम गर्छन् । उनीहरु माडीबाट भरतपुर आएर बस्दै फोटो/भिडियोको काम गर्थे । विकासका अर्का साथीको अवस्था भने अज्ञात छ । हिजो गैंडाकोटमा भेटिएको अर्को शवको पनि सनाखत भइसकको छ । उक्त शव सर्लाही बरहथवा नगरपालिका–३ बस्ने वर्ष १९ को रमित कुशर माझीको भएको प्रहरीले बताएको छ ।

रमितका वुवा रविन्द्र कुशर माझीले शवको सनाखत गरेका हुन् । अहिलेसम्म पहिरोमा परेका तीन जनाका शव भेटिएको थियो ।

भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रबार बिहान करिब ३ बजे लेदोसहितको पहिरोले २ वटा यात्रुबाहक बस त्रिशूलीमा हुलेको थियो । वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बसलाई लेदोसहितको पहिरोले बगाएको थियो ।

बस व्यवसायी कम्पनीमा दर्ता भएको यात्रु टिकट चलानी अभिलेखअनुसार गणपति डिलक्स बसमा २७ जना र एन्जल डिलक्स बसमा २४ जना यात्रु सवार थिए । तर बीचमा कति यात्रु ओर्लिए या चढे भन्नेबारे अझै यकिन भइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?