+
+

विपद् मूलप्रवाहीकरणमा चुकेका हामी

हामीले गर्दै आएका विकास निर्माणका क्रियाकलाप र विपद् व्यवस्थापनका परियोजनाहरूमा प्राविधिक र अप्राविधिक पक्षलाई फरक–फरक योजनाको रूपमा अगाडि बढाइनु विपद् व्यवस्थापन मूलप्रवाहीकरणका लागि चुनौती बन्ने गरेका छन् ।

सुमन चापागाई सुमन चापागाई
२०८१ असार ३० गते ९:०४

भनिन्छ, विपद् बाजा बजाएर आउँदैन तर नेपालमा भौगर्भिक तथा जलजन्य विपद्का घटनाहरू प्रत्येक वर्ष हुने गरेका छन्। जुलाई २०१९ देखि जून २०२३ सम्मको ५ वर्षको अवधिलाई हेर्ने हो भने नेपालमा २८ सय भन्दा बढी घटनामा ८०० बढीले ज्यान गुमाएका छन्। त्यस्तै ३ हजार बढी पूर्वाधार तथा अर्बौं रुपैयाँ बराबरको क्षति भएको देखिन्छ। यस आँकडामा, विपद्का कारण भएका अप्रत्यक्ष क्षतिहरू जस्तै- जीविकोपार्जन र रोजगारी गुमाई परिवारमा भएको आर्थिक हानि, विपद्का कारण अनुत्पादक क्षेत्रमा गर्नुपरेको लगानी आदिको वित्तीय मूल्याङ्कन भने गणना भएका छैनन्।

क्षति न्यूनीकरण, विपद् व्यवस्थापन र उत्थानशीलताका लागि काम गर्ने साझेदार निकायहरू धेरै संख्यामा भएतापनि यसरी विगत दशौं वर्षदेखि वार्षिक रूपमा ठूलो क्षति हुनुले हामीले विपद् जोखिम न्यूनीकरणलाई मूलप्रवाहीकरण गर्न अझै विवेकशील भएर लाग्नुपर्ने देखाउँछ।

अधिकांश प्रकोप प्राकृतिक रूपमा सिर्जना हुने तर विपद् नितान्त मानवीय कारणले हुने कुरा संयुक्त राष्ट्रसंघको विपद् जोखिम न्यूनीकरण हेर्ने कार्यालयले बताउँदै आएको छ। हामीले गरेका विकासका क्रियाकलापहरूकै कारण प्रकोपले विपद्को रूप लिएको हुनसक्छ। यसर्थ, समुदायस्तरमा हुने विकासका क्रियाकलापहरू जोखिमसंवेदन तथा व्यक्तिहरू जोखिमजानकार हुन जरुरी छ।

हामीले यस्ता क्रियाकलापहरू सञ्चालन गर्नु अगाडि विभिन्न प्रश्नहरूको उत्तर दिन सक्षम हुनपर्छ। के हामीले गर्ने क्रियाकलापहरूले प्रकोप सिर्जना गर्न सहयोग गरिरहेका त छैनन् ? के हामीले गर्ने क्रियाकलापहरूले स्थानीय साना प्रकोपहरूको प्रभावलाई बढाइरहेका त छैनन् ? के हामीले क्रियाकलापहरू सञ्चालन गर्दैगर्दा सम्भावित विपद् आकलन र तिनको न्यूनीकरण वा अल्पीकरण पनि गरेका छौं त ? वा, के हामीले सञ्चालन गर्ने क्रियाकलापहरू स्थानीय आवश्यकता अनुरूप उचित रहेका छन् त ?

विपद् व्यवस्थापनमा प्राविधिक तथा अप्राविधिक दुवै दक्षताको आवश्यकता रहेको हुन्छ। विपद्को सिर्जना प्रायः प्राविधिक रहने गरेको छ भने त्यसको न्यूनीकरण, अल्पीकरण र पुनर्लाभमा भने प्राविधिक र अप्राविधिक पक्षलाई विचार गर्नुपर्ने हुन्छ। हामीले गर्दै आएका विकास निर्माणका क्रियाकलापहरू र विपद् व्यवस्थापनका परियोजनाहरूमा प्राविधिक र अप्राविधिक पक्षलाई फरक–फरक योजनाको रूपमा अगाडि बढाइनु विपद् व्यवस्थापन मूलप्रवाहीकरणका लागि चुनौती बन्ने गरेका छन्।

नेपालमा हाल परियोजनाहरू निर्माण गर्दा दुई भिन्न प्रक्रियाबाट हुने गरेका छन्। एक- समुदायका आवश्यकताको आकलनका आधारमा, र दुई- संस्थागत उद्देश्यको आधारमा। समुदायका आवश्यकताको आकलनका आधारमा उचित क्रियाकलापहरूको पहिचान गरी परियोजना निर्माण गर्दा विपद् व्यवस्थापनसँग सम्बन्धित परियोजनाहरूमा तुलनात्मक रूपमा विपद् व्यवस्थापनको मूलप्रवाहीकरण हुने गरेका छन्। तर संस्थागत उद्देश्यको आधारमा निर्माण हुने परियोजनाहरूमा संस्थागत बाध्यताका कारण विपद् व्यवस्थापनलाई मूलप्रवाहीकरण गर्न कठिनाइहरू रहने गरेका छन्।

देशको हिमाली तथा पहाडी भेगमा हामीले बनाएका सडकका कारण थुप्रै पहिरो सिर्जना भएका छन्, । नेपालको भूगोल भौगर्भिक रूपमा समेत जोखिम अवस्थामा रहेको हुँदा, जुनसुकै ठाउँमा बाटो खन्नु अगाडि भौगर्भिक अध्ययनलाई संवेदनशील रूपमा सूक्ष्म अध्ययन गर्नु जरुरी रहेको छ।

त्यस्तै, देशको दक्षिणी भाग वर्षेनि बाढीबाट प्रभावित हुने गरेको छ। तटीय क्षेत्रमा रहेका न्यून आयस्रोत भएका भूमिहीन समुदायहरूले बाढीको कारण उच्च क्षति बेहोर्दै आएका छन्। बाढी जोखिमको नक्सांकन हुँदैन। समुदायको जोखिम न्यूनीकरणका सफल अभ्यासहरू वार्षिक योजनामा समावेश हुँदैनन्। जोखिममा रहेका समुदायहरू संकटासन्न जीविकोपार्जनमा निर्भर हुनु तथा त्यस्ता क्षेत्रहरूमा उत्थानशीलताको अभ्यास गरिने योजनाहरूमा प्रमुख तथा आधारभूत क्रियाकलापको रूपमा प्रकोप, संकटासन्नता, सम्मुखता र जोखिमको अध्ययन समावेश नगरिनु नै विपद् व्यवस्थापनको मूलप्रवाहीकरण नहुनुको कारक रहने गरेका छन्।

मूलप्रवाहीकरण आफैंमा एक जटिल प्रक्रिया हो जसले उच्च स्रोतको खपत र बृहत् दक्षताको माग गर्दछ। प्रकोप र विपद्को आकलन, संकटासन्नता र सम्मुखताको लेखाजोखा र जोखिमको मूल्याङ्कनका लागि सूक्ष्म अध्ययन गर्न चाहिने मानवीय तथा गैरमानवीय स्रोतका पहिचान हुन जरूरी छ। वर्तमान समयमा मानवीय दक्षता देश–विदेशमा पर्याप्त रहेकाले सेवा लिन समस्या नरहने देखिन्छ। तर विपद् व्यवस्थापनका लागि गैरमानवीय स्रोतको भने सीमित हुने कारण समुचित प्रयोग गर्नुपर्ने देखिन्छ। विपद् व्यवस्थापनका लागि तीन तहकै सरकारले बजेट व्यवस्थापन गर्न शुरू गरेका छन्। विपद् व्यवस्थापन ऐनमा प्रावधान गरिए अनुसार तीनै तहमा विपद् व्यवस्थापन कोषहरू स्थापना गरिएका छन्। सो कोषहरूको रकम फ्रिज नहुने र वार्षिक विनियोजनले कोष अझ ठूलो हुँदै जाने अवस्था छ।

तर बारम्बार हुने साना-ठूला प्रकोपका कारण राहतको लागि सो कोषको रकम प्रयोग गर्नुपर्ने बाध्यताले कोषको आकार खासै बढेको पाइँदैन। कोषको रकम विपद् पूर्वतयारीमा लगानी गर्दा प्रतिकार्य र राहतका लागि रकमको अभाव हुनसक्ने सम्भावित परिदृश्यले सरकारलाई चुनौती सिर्जना गरेको देखिन्छ। यिनै चुनौतीका कारण विपद् व्यवस्थापन कोषको रकमलाई मूलप्रवाहीकरणमा परिचालन गर्नु थप चुनौतीपूर्ण रहेको छ। यसर्थ, विपद् व्यवस्थापनलाई मूलप्रवाहीकरण गर्न विपद् व्यवस्थापन कोषमा मात्र निर्भर नरहेर नियमित रूपमा हुने निर्माण तथा सेवाका कार्यहरूमा समेत समाविष्ट गरिनुपर्ने देखिन्छ।

लेखक प्राक्टिकल एक्सनका ‘नलेज एण्ड रिसर्च अफिर’ हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?