+
+

चित्लाङ–चन्द्रागिरी सडक खण्ड २० साउनसम्म बन्द

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ३० गते १३:२९

३० असार, हेटौंडा । चित्लाङ–चन्द्रागिरि–थानकोट सडक खण्डमा आगामी साउन २० गतेसम्म सार्वजनिक यातायात सञ्चालनमा रोक लगाइएको छ ।

सडक मर्मत जारी रहेकाले साउन २० गतेसम्म बिहान १० बजेदेखि साँझ ५ बजेसम्म यातायात अवरुद्ध हुने सडक डिभिजन कार्यालय काठमाडौंका डिभिजन प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिएका छन् ।

वर्षातको समयमा सडक मर्मतको काम भइरहेकाले सार्वजनिक यातायात सञ्चा गर्दा जोखिम बढ्ने भन्दै साउन २० सम्म आवागमन बन्द गरिएको भण्डारीले बताए ।

सडक डिभिजन काठमाडौंले चित्लाङ–चन्द्रागिरि–थानकोट खण्डको सेतो पहरो क्षेत्रमा उच्च ग्रेड कम गर्न र सडकको चौडाइ कम भएको ठाउँमा ‘ब्याक कटिङ’ तथा ‘ग्रेड डाउन’ गर्ने काम गरिरहेको छ ।

कडा चट्टानका कारण ‘ब्याक कटिङ’ कार्यमा कठिनाइ भएको डिभिजन प्रमुख भण्डारीले बताए । धेरै घुम्ती, साँघुरो मोड, ओरालो उकालो सडकका कारण सेतो पहरो यस खण्डको सबैभन्दा जोखिम क्षेत्र हो । यहाँ अत्याधिक मात्रामा सवारी साधन दुर्घटना हुने गरेका छन् ।

यसैगरी, अविरल वर्षाका कारण पहिरो जाँदा हेटौंडा–काठमाडौं जोड्ने छोटो मार्गहरु निरन्तर अवरुद्ध हुने गरेका छन् । हेटौंडा–कुलेखानी–सिस्नेरी मार्ग शनिबार अपरान्ह ४ बजेदेखि मात्र सञ्चालनमा आएको थियो ।

प्रहरीले हेटौंडा–काठमाडौं यात्रा गर्नका लागि छोटो मार्ग प्रयोग गर्नेहरुलाई भीमफेदी–कुलेखानी–फाखेल र कुलेखानी–मातातीर्थको सडक प्रयोग गर्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?