
काठमाडौं । वितरण कम्पनी सेभेन सिजले निर्माण गरिरहेको पहिलो कथानक फिल्म ‘पूर्णबहादुरको सारंगी’को पहिलो चरणको छायांकन सकिएको छ । अभिनेता विजय बरालले सुरुवाती छायांकन टुंगिएको उल्लेख गरेका छन् ।
पहिलो चरणको छायांकन ओखलढुंगा जिल्लाको रुम्जाटार क्षेत्र आसपासमा ३६ दिन लगाएर पूरा गरिएको जनाइएको छ । जेठ २४ गतेबाट छायाकंन सुरु गरेर ३६ दिनमा पहिलो चरणको सेड्युल पूरा गरिएको र बाँकी छायांकन काठमाडौंमा गरिने उल्लेख छ ।
दोस्रो तालिकाको छायांकन दशैंपछि गरिने निर्मातामध्येका एक विनोद पौडेलले जनाए । पहिलो चरणको छायांकन सकिएसँगै उत्साहित रहेको बताउँदै निर्माता पौडेलले आम दर्शकका लागि ‘पूर्णबहादुरको सारंगी’ विशेष हुने बताए ।
उनले भने, ‘वर्षातको समयमा घामपानी नभनी धेरै दुःख गरेर पहिलो चरणको सेड्युल पूरा गरियो । यो फिल्मका लागि स्क्रिप्टको चरणदेखि नै मेहनत गरेर आफैं सेटमा ३६ दिनसम्म खटिएर काम गरियो ।’
सेभेन सिजका अमेरिका वितरक प्याट्रिक सुवेदी पनि यसका लगानीकर्ता हुन् । फिल्ममा विजय बरालसहित मुकुन भुसाल, प्रकाश सपुत र अञ्जना बराइलीको मुख्य भूमिका छ । सहायक भूमिकामा जान्भी पौडेल र स्वयम केसी, विनोद न्यौपाने, भोलाराज सापकोटा, बुद्धि तामाङ, माओत्से गुरुङ र देशभक्त खनाल छन् ।
गायन र वाद्यवादन पेशा अँगाल्दै आएको गन्धर्व समुदायको सामाजिक कथावस्तुको फिल्मको निर्देशन सरोज पौडेलले गरिरहेका छन् । पौडेल र प्याट्रिक सुवेदी फिल्मका लगानीकर्ता हुन् । कार्यकारी निर्माता रमेश चौलागाईं र हरि श्रेष्ठ हुन् ।
फिल्ममा प्रशान्त सिवाकोटीको संगीत र हेमन्त कान्छा रसाइलीको सारंगीवादन छ । ‘भ्वाइस अफ नेपाल’ सिजन ४ का प्रतिस्पर्धी सिवाकोटीले फिल्मको संगीतमा डेब्यु गरेका छन् । सिवाकोटीसहित मेलिना राई र पुष्पन प्रधानले गीतमा स्वर दिनेछन् ।
२०८२ सालमा फिल्म रिलिजको लक्ष्य राखिएको छ ।
प्रतिक्रिया 4