+

सलाइन पानी कस्तो अवस्थामा दिइन्छ ?

२०८१ असार  ३० गते १८:३३ २०८१ असार ३० गते १८:३३
सलाइन पानी कस्तो अवस्थामा दिइन्छ ?

अस्पतालमा भर्ना भएका प्राय: बिरामीलाई सलाइन पानी दिइरहेको देखिन्छ । यो किन अनिवार्य जस्तै बिरामीलाई दिइरहेको हुन्छ ? भन्ने जिज्ञासा धेरैको मनम उब्जिन सक्छ ।

सलाइन पानी भनेको बिरामीलाई उपचारको सुरुवाती चरणमा दिइने औषधि हो । सिकिस्त बिरामीलाई औषधिका रुपमा सलाइन पानी दिने गरेको पाइन्छ । कतिपय घाइते भएर औषधि सेवन गर्न नसक्ने बिरामीलाई पनि सलाइन पानी चढाउने गरिन्छ ।

कस्तो अवस्थामा दिइन्छ सलाइन पानी ?

कुनै पनि अवस्थामा शरीरमा पानी वा नुनको मात्रामा कमी आउँदा बिरामी कमजोर हुन्छ । त्यस्तो अवस्थामा सलाइन पानी दिने गरिन्छ । जब कुनै बिरामीले मुखबाट खानेकुरा, पानी वा आवश्यक कुरा खान सक्दैन, उनीहरूलाई रक्तनली मार्फत सलाइन पानी दिइने गरिन्छ । बेहोस भएका, निरन्तर बान्ता गरिरहने, खाना पेटमा नअडिने, औषधि खाँदा पनि बान्ता हुने भएमा सलाइन पानी दिनु जरुरी हुन्छ ।

शरीरमा पानीको अभाव भएका, अत्यधिक रक्तस्राव भएका, इमर्जेन्सीमा भर्ना भएका बिरामीलाई तुरुन्तै सलाइन पानी दिइने गरिन्छ । त्यस्तै झाडापखालाले असहज बनाएका, शल्यक्रियाको तयारी गरिरहेका र पेट खाली राख्नुपर्ने अवस्थाका बिरामीलाई पनि सलाइन पानी दिइन्छ ।

उपचारका क्रममा रगत खेर जाने जोखिम भएका बिरामीलाई सलाइन दिइन्छ । लगातार नसाबाट औषधि दिनुपर्ने भएकालाई पनि सलाइन दिइन्छ ।

सबै बिरामीलाई एकै प्रकारको सलाइन पानी चढाइन्छ ?

सलाइन बाहिरबाट हेर्दा सबै एउटै जस्तो देखिएपनि बिरामीको अवस्था हेरेर विभिन्न किसिमको सलाइन पानी प्रयोग गरिएको हुन्छ । धेरैजसो प्रयोग गरिने सलाइन पानीहरू यस प्रकार छन् ।

रगतमा नुनको कमी भएका नर्मल सलाइन (एनएस) दिइन्छ । यसमा सोडियम र पानी हुन्छ । रगतमा नुनको मात्र धेरै कम छ भने तीन प्रतिशत नर्मल सलाइन दिइन्छ । सामान्यतयाः रगतमा सोडियमको मात्रा १३५ देखि १४५ मिलिईक्विभ्यालेन्ट्स प्रतिलिटर हुनुपर्छ । तर रगतमा १२६ वा सो भन्दा कम छ भने तीन प्रतिशत एनएस सलाइन दिनुपर्छ । तर एकैचोटि दिनुहुँदैन बिस्तारै समय मिलाएर दिइन्छ ।

रगतमा थोरै मात्र नुनको कमी भए हाफ नर्मल सलाइन दिइन्छ । शरीरमा नुन कति मात्रामा आवश्यक छ त्यही अनुसार सलाइन दिइन्छ । तर बिरामीले मुखबाट खान सक्छ भने सलाइन पानी दिनु आवश्यक हुँदैन ।

हाइपोग्लाइसेमिया (रगतमा सुगरको कमी) भएकालाई डेक्सट्रोज सलाइन दिइन्छ । रगतमा सुगरको मात्रा कमी हुने बेला यस्तो सलाइनको प्रयोग गरिन्छ । शरीरमा कुनै कारणवश रगतमा सुगरको कमी भएर बेहोस वा अचेत अवस्थामा हुँदा यस्तो सलाइन दिइन्छ । किनभने यसमा सुगर हुन्छ । बिरामीको सुगर लेभल अनुसार फरक–फरक प्रतिशतको डेक्सट्रोज सलाइन दिइन्छ । जस्तै- पाँच प्रतिशत, १० प्रतिशत, २५ प्रतिशत, ५० प्रतिशत डेक्सट्रोज हुन्छ ।

झाडापखाला र तारन्तार बान्ता भएका बिरामीमा डेक्सट्रोज नर्मल सलाइन (डीएनएस) दिइन्छ । यसमा सुगर, सोडियम, पोटासियम र पानी हुन्छ । पोटासियमको कमी भएमा रिंगल ल्याक्टेट (आरएल) दिने गरिन्छ ।

यसबाहेक सलाइन विभिन्न रोगअनुसार दिइन्छ । जस्तै- कुनै बिरामीको रगत जाँच गर्दा झाडापखाला, बान्ता भएको छ भने त्यस्ता बिरामीलाई डीएनएस र आरएल सलाइन दिइन्छ । यसबेला शरीरमा पानी, सुगर, नुन, पोटासियम सबै कम हुन्छ ।

यसले शरीरमा कसरी काम गर्छ ?

शरीरमा पानीको अभावबाट हुनसक्ने समस्याबाट बचाउन सलाइन पानी आवश्यक पर्छ । जसले शरीरमा रक्तसञ्चार कायम राखी महत्वपूर्ण अंगलाई हुने हानिबाट जोगाउन मद्दत गर्छ । यसले शरीरमा पानीको मात्रा परिपूर्ति गरिदिन्छ ।

सलाइन पानीको कुनै साइड इफेक्ट हुन्छ ?

बिरामीको अवस्थाअनुसार उसलाई दिने सलाइन पानीको मात्रा र प्रकार नमिलेको खण्डमा बिरामीमा विभिन्न प्रकारको साइड इफेक्ट हुनसक्छ । जस्तो- कुनै बिरामीलाई आवश्यक भन्दा बढी मात्रामा सलाइन पानी चढाइयो भने पानीको मात्रा बढी भएर फोक्सोमा जम्ने सम्भावना हुन्छ ।

सलाइन पानी सिधै रक्त नसामा इन्जेक्सनको माध्यमबाट दिइने हुनाले साइड इफेक्ट सुई लगाएको ठाउँमा दुख्ने, घाउ हुने, सुन्निने, रातो हुने, चिसो लाग्ने, ज्वरो आउने, रक्तचाप कमी हुने हुन्छ । त्यस्तै घाउमा संक्रमण भएर रगतको माध्यमबाट संक्रमण छिर्न सक्छ ।

डा. अनिल महर्जन सलाइन पानी

धेरै कमेन्ट गरिएका

लेखक
डा. अनिल महर्जन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय