+
+

सन्दीपको कथा : हाँस्न पैसा लाग्दैन यार

कुरा सुनेर सन्दीप एकछिन अलमलमा परे । उनी अलमलमा यसकारण परे कि, ‘मलाई किन पैसा दिने कुरा गरिरहेको छ । बोल्न दिए भइहाल्यो नि ।’ सन्दीपलाई त के लागेको थियो भने आफूले त्यहाँ बोल्न पाए बापत पैसा दिनुपर्ने हो । तर उल्टै आफूलाई पैसा आउँछ भनेपछि उनले मनमनै आफैंलाई सोधे, ‘अरे, पैसा चाहिं किन दिन्छु भनिरहेका छन् ?’

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ३० गते १८:४४

काठमाडौं । वीरगञ्जबाट काठमाडौं आउँदै गर्दा सन्दीप क्षेत्रीलाई लागेको थियो, ‘काठमाडौंले मलाई नै पर्खिरहेको छ ।’

त्यसबेला एफएम रेडियोको उल्कै क्रेज थियो र उनले वीरगञ्ज एफएममा ‘भोकल टेस्ट’ पास गरेका थिए । त्यसमाथि उनी बोलक्कड । विद्यालयमा हुने वादविवाद प्रतियोगितामा सधैं प्रथम हुने । सन्दीप कल्पिंदै थिए, काठमाडौं ओर्लिनासाथ कान्तिपुर एफएम जानेछु । अनि सोझै हेडफोन लगाएर भन्नेछु, ‘नमस्कार कान्तिपुर एफएम ९६ प्वाइन्ट १ मा तपाईंलाई स्वागत छ । म हुँ ……।’

कान्तिपुर एफएम सर्वाधिक प्रिय थियो, त्यसबखत । कान्तिपुरका आरजे सेलिब्रेटी सरह मानिन्थे । सन्दीपलाई त्यस्तै आरजे बन्नु थियो र त्यस्तै लोकप्रियता आर्जन गर्नु थियो । उनी आलोकाँचो जोश बोकेर कान्तिपुर एफएमको कार्यलय पुगे । स्टेसन म्यानेजर गोपाल झालाई भेटेर फूर्तिसाथ आफ्नो बखान गरे ।

गोपाल झाले शान्त हुँदै जवाफ फर्काए, ‘अहिले यहाँ ठाउँ छैन । कुनैबेला भ्याकेन्सी खुल्न सक्छ । त्यसबेला तपाईंलाई बोलाउँला ।’

सन्दीपको फूर्ति एकाएक सेलायो । उनी लुरुक्क फर्किए ।

केही समय बित्यो । साथी रञ्जितलाल श्रेष्ठले खबर गर्‍यो, ‘कान्तिपुरमा भ्याकेन्सी खुलेको छ । छिटो गएर आवेदन दिनु ।’ उनी पूर्ववत् उत्साह बोकेर पुल्चोकस्थित एफएमको कार्यालयतर्फ लम्किए । उनलाई लागेको थियो, ‘यसपालि आवेदन दिनासाथ मलाई छनोट गर्नेछन् ।’

जसै उनी दमकल चोकमा पुगे, आवेदन दिन बसेको पंक्ति देखेर झस्किए । एफएमको गेटबाट लम्बिएको पंक्ति दमकल चोकसम्मै थियो । जम्माजम्मी चार जनाका लागि माग भएको आवेदनमा २२ सय जनाले आवेदन दिएका रहेछन् ।

जसोतसो उनी २२ सयलाई उछिनेर २० जनामा छनोट भए । २० बाट चार जनामा छनोट गर्नका लागि उनलाई अन्तर्वार्तामा बोलाइयो । उनी पूर्ण विश्वासका साथ अन्तर्वार्ताका लागि उभिए ।

‘तिमी किन आरजे बन्न चाहन्छौं ?’ व्यवस्थापनले प्रश्न गर्‍यो ।

सन्दीपले फराकिलो छाती बनाएर जवाफ फर्काए, ‘मलाई यहाँ आरजे मात्र बन्नु छैन । म मिडिया पर्सन बन्न चाहन्छु ।’

नतिजा आयो, अस्वीकृत ।

अब उनी साँच्चै रन्थनिए । वीरगञ्ज छँदा आफूलाई उनी भयंकर प्रतिभाशाली ठान्थे । काठमाडौं आएपछि उनले आफ्नो औकात थाहा पाए । उनी उदास थिए ।

यत्तिकैमा उही साथी रञ्जितलालले भने, ‘रेडियो सिटी भन्ने एफएममा भ्याकेन्सी खुलेको छ, गइहाल ।’

उनी हारिसकेका थिए । थाकिसकेका थिए । आकाश छुँला झैं गरेर अग्लिएको आत्मविश्वास बेपत्तासँग ढलेको थियो । सानो मन बोकेर, झिनो आशा पालेर उनी रेडियो सिटीको कार्यालयमा पुगे । त्यहाँ एक युवती थिइन्, जसले आवेदन पुनः फिर्ता गर्न लागेकी । उनैको आवेदन सन्दीपले किने । त्यसबेला उनलाई के लाग्यो भने, ‘मलाई भाग्यले साथ दिएको छैन । अरुको भाग्य आफ्नो पोल्टामा पर्न सक्छ ।’

आवेदन दिएपछि स्वर परीक्षण भयो, लिखित परीक्षण भयो । नतिजा आयो । उनी छानिए ।

संयोग कस्तो भने, त्यसबेला उनको आमाको जन्मदिन । यता जीवनकै पहिलो जागिर पाउनु र उता आमाको जन्मदिन पर्नु सुखद् संयोग थियो । सन्दीपले उमंगसाथ आमालाई फोन गरे, ‘म आरजेमा छनोट भएँ ।’

एउटी आमाको लागि सन्तानको खुसी नै सर्वप्रिय कोसेली हुन्छ । आमा खुसीले गद्गद् भइन् । ‘आमालाई के लागेछ भने मानौं म अमिताभ बच्चन नै भएँ,’ सन्दीप सुनाउँछन्, ‘उनी त्यति धेरै खुसी भइन् ।’

उनी दंग परेर कार्यकारी निर्देशककहाँ पुगे । कार्यकारी निर्देशकले भने, ‘ल बधाई छ । तर हाम्रो ठूलो एफएम होइन । हामीसँग ठूलो कारोबार छैन । त्यसैले तपाईंलाई पारिश्रमिक चाहिं थोरै दिनेछौं ।’

कुरा सुनेर सन्दीप एकछिन अलमलमा परे । उनी अलमलमा यसकारण परे कि, ‘मलाई किन पैसा दिने कुरा गरिरहेको छ । बोल्न दिए भइहाल्यो नि ।’ सन्दीपलाई त के लागेको थियो भने आफूले त्यहाँ बोल्न पाए बापत पैसा दिनुपर्ने हो । तर उल्टै आफूलाई पैसा आउँछ भनेपछि उनले मनमनै आफैंलाई सोधे, ‘अरे, पैसा चाहिं किन दिन्छु भनिरहेका छन् ?’

****

सानो छँदा सन्दीप भनिरहेका हुन्थे, ‘आमा म हिरो बन्छु । हिरोइनलाई बाइकको पछाडि चढाएर लैजान्छु अनि तपाईंलाई साडी ल्याएर आउँछु ।’

आमाबुवालाई थाहा थियो, ‘छोरालाई हिरो बन्नमा रुचि छ ।’ साथीभाइलाई थाहा थियो, ‘यो अरुको नक्कल गर्न, अभिनय गर्न खप्पिस छ ।’ घरगाउँ सबैलाई थाहा थियो, ‘फलानो कलाकार बन्न चाहन्छ ।’

आजको स्थानसम्म उनी आफैं मात्र आइपुगेका होइनन् । घरपरिवार, साथीभाइले उनलाई धकेल्दै ल्याएको हो । ‘पशुपतिनाथमा उभिएको मान्छे हिंड्नुपर्दैन नि, अरुले धकेल्दै मन्दिरको ढोकासम्म पुर्‍याउँछ,’ सन्दीप भन्छन्, ‘त्यसरी नै मलाई पनि कहिले आमाबुवा, कहिले साथीभाइले ठेल्दै, धकेल्दै कलाकार बनाए ।’

उनलाई खानलाउनको दुःख थिएन । बस्नका लागि अभाव थिएन । वीरगञ्जबाट पढ्नका लागि भन्दै काठमाडौं आउँदा पनि सबै बन्दोबस्ती थियो । जब सबैकुरा पुग्छ, गुनासो गर्ने ठाउँ हुँदैन । जहाँ गुनासो गर्ने ठाउँ बाँकी रहँदैन, त्यहाँ केही गर्नैपर्ने दबाब रहन्छ ।

‘मास्टर्स पढ्न काठमाडौं आइयो, एक हिसाबले म दबाबमा थिएँ,’ सन्दीप भन्छन्, ‘मैले केही त गर्नैपर्थ्यो ।’ यद्यपि त्यो दबाब उनी आफैंले सिर्जना गरेका थिए, बुवाआमाले होइन । बुवाआमा त उनका लागि कहिले सहयोगी र कहिले सारथी बनिरहे ।

आमाबुवाले सकेसम्म उनको आत्मविश्वास ढल्न दिएनन् । जस्तो, एकपटक उनी विद्यालयको परीक्षामा तेस्रो भए । लाज र डरसँगै उनी बुवाको अघिल्तिर उभिए । अनि मसिनो स्वरमा भने, ‘म थर्ड भएँ ।’

उनका बुवा दुःखी भएनन्, बरु खुसी भए । ‘मैले थर्ड मात्र भएँ भनी सुनाउँदा बुवा किन यति धेरै खुसी भएका हुन्,’ सन्दीपलाई सन्देह जाग्यो, ‘कतै बुढाले गतल त सुनेनन् ?’

सन्दीपले अलि जोड दिएर स्पष्ट पार्न खोजे, ‘बुवा म थर्ड भएको हुँ, तपाईं किन खुसी हुनुभयो ?’ बुवाले स्वभाविक लयमा भने, ‘ठीकै छ । तेरो कक्षामा कति जना विद्यार्थी छन् ?’

सन्दीप, ‘३० जना ।’

‘हेर् तँ बाँकी २७ जनाको लागि त फर्स्ट नै हो नि,’ बुवाले हार्दिकतापूर्वक भने, ‘अरु दुई जनाको लागि पो थर्ड हो त ।’

बुवाआमा त उनीप्रति सकारात्मक र प्रेरक हुने नै भए, साथीसंगत पनि त्यस्तै भयो । दौंतरीहरु उनलाई कुनै न कुनै रुपमा सहयोग गरिरहेका हुन्थे । कक्षा ६-७ मा पढ्दाका उनै साथीहरु काठमाडौं आएर स्नातकोत्तर गर्दासम्म एकढिक्का थिए । र, विद्यालयमा छँदादेखि काठमाडौंमा बस्दासम्म उनीहरुले भनिरहे, ‘तैंले केही चाहिं गर्नैपर्छ ।’

विद्यालयमा उनी अरुको नक्कल गर्थे, क्यारिकेचर गर्थे, वादविवादमा भाग लिन्थे । पढाइमा उनी जति होसियार थिए, कला-मनोरञ्जनमा उत्तिकै लगनशील पनि । साथीहरुसँग उनी भनिरहेका हुन्थे, ‘म काठमाडौं जान्छु, कलाकार बन्छु ।’

****

केही दिनअघिको कुरा । सन्दीप पारिवारिक यात्रामा थिए, आमाबुवासँगै । साथमा छोरी र श्रीमती पनि । आफूले गाडी चलाएर बबरमहलको बाटो हुँदै अगाडि बढिरहेका थिए । ठीक त्यही बखत उनलाई पुरानो दिनको याद आयो । उनले आमातर्फ फर्केर भने, ‘हेर्नु आमा, यही बाटो हो जहाँ म फनफनी घुमिरहेको हुन्थें । न्युरोडदेखि बबरमहल, बानेश्वर हुँदै फेरि माइतीघर, थापाथली, टेकु, वसन्तपुरको फन्को लगाएर पैदल हिंड्दै न्युरोड पुग्थें ।’

भर्खरै काठमाडौं आएको बेलाको कुरा हो त्यो । उनी एउटा निजी कम्पनीमा काम गर्थे । कार्यालय थियो, न्युरोडमा । न्युरोडबाट काममा निस्कन्थे, पैदल हिंड्दै । काठमाडौं फन्को लगाएर फर्कंदा पनि कार्यालय छुट्टी हुने समय भएको हुँदैनथ्यो ।

‘आज मसँग जे छ, त्यो मेरो आमाबुवाको आशीर्वाद हो,’ सन्दीप भन्छन्, ‘उहाँहरुले जहिले पनि मेरो लागि खुसी चाहनुभो ।’ आशीर्वादले आत्मबल बढ्छ । आत्मबलले दुःख र अभावसँग जुध्ने शक्ति दिन्छ । त्यही शक्तिले मान्छेलाई लक्ष्यसम्म पुर्‍याउँछ ।

सन्दीपलाई लाग्दैन, आज उनी सर्वेसर्वा भएका छन् । उनी यश ऐश्वर्यले परिपूर्ण छन् । तर विरलै मिल्ने खुसी र सन्तुष्टि उनीसँग छ । यसको अविरल स्रोत हुन्, उनका बुवाआमा । उनका परिवार ।

‘बिहान म हाँसीखुसी घरबाट निस्कन्छु,’ सन्दीप भन्छन्, ‘दिनभर कामव्यवहारले व्यस्त हुन्छु । यसक्रममा धपेडी हुन्छ, तनाव हुन्छ । तर जसै म राति घर फर्किन्छु, फेरि मेरो खुसी पनि फर्किन्छ । किनभने घरमा सधैं खुसीको माहौल हुन्छ ।’

घरबाट निस्कनुअघि उनी बुवाआमाको चरणस्पर्श गर्छन् । यसले घरपरिवारमा हार्दिकता र शान्ति महसुस हुन्छ । ‘परिवार सुख सर्वोच्च सुख रहेछ,’ सन्दीपको अनुभव छ, ‘त्यसैले मलाई जहिले पनि हाँस्न र रमाउन प्रेरित गर्छ ।’

****

हाँसो–ठट्टा, मनोरञ्जन नै उनको जीवनको लय बन्यो । कमेडियनको रुपमा उनले आफ्नो फराकिलो चिनारी बनाए । यश कमाए, देश परदेश फन्को लगाए । तर करिअरको यो बिन्दुसम्म आइपुग्न उनका लागि सरल बाटो मात्र थिएन । त्यसमा थुप्रै आरोह–अवरोह पार गर्नुपर्‍यो ।

रेडियो सिटी एफएममा ६-७ वर्ष काम गरे । त्यहाँ उनी हास्य मनोरञ्जनका कार्यक्रम चलाउँथे । अर्को कार्यक्रम थियो, गुरुमन्त्र । गुरुमन्त्र फोन इन कार्यक्रम थियो, जहाँ स्रोताहरुले आफ्नो समस्या राख्थे र सन्दीप त्यसको तात्तातो जवाफ फर्काउँथे ।

त्यसपछि उनी नेशनल टेलिभिजनमा काम गर्न थाले । त्यहाँ नीर शाह, दुर्गानाथ शर्मा, विजयकुमार पाण्डे जस्ता दिग्गजको संगत र मार्गदर्शन पाए । नेसनल टेलिभिजन बन्द भयो । उनी कान्तिपुर टेलिभिजनको चक्कर लगाउन थाले । तर एक वर्षसम्म रिसेप्सनमा बस्दा पनि कतैबाट ‘नोटिस’ नभएपछि टीटीभी (तराई टेलिभिजन)मा पुगे ।

टीटीभी उनका लागि एउटा प्लाटफर्म थियो, आफ्नो प्रतिभालाई खुलेर देखाउने । अन्ततः त्यहाँ काम गर्दागर्दै उनलाई कान्तिपुर टेलिभिजनमा अवसर मिल्यो । कान्तिपुर टेलिभिजनबाटै सन्दीपले आफूलाई थप निखार्ने, चिनाउने मौका पाए ।

****

अक्सर मान्छेहरु सोध्ने गर्छन्, ‘मान्छे रुवाउन सजिलो हुन्छ, हँसाउन गाह्रो हुन्छ । तपाईं के भन्नुहुन्छ ?’

त्यसमा सन्दीपको जवाफ छ, ‘न रुवाउन गाह्रो छ, न हँसाउँन । सबैभन्दा गाह्रो त मन छुन हो । यदि मन छोइयो भने हाँसिरहेका मान्छेहरु पनि डाँको छाडेर रुन्छन् । यदि मन छोइयो भने रोइरहेका मान्छेहरु पनि खित्का छाडेर हाँस्छन् । हँसाउँन वा रुवाउन गाह्रो होइन । मन छुन गाह्रो छ क्या ।’

हाँसो र रुवाइको एउटा समानता के छ भने यी दुवै एकअर्कामा हस्तान्तरण हुन्छ । कुनै भीडमा एक जना हाँस्यो भने अरु पनि हाँस्न थाल्छन् । कुनै भीडमा एक जना रोइरहेका छन् भने अरुको आँखा पनि रसाउँछ । सन्दीप भन्छन्, ‘त्यसैले जतिसक्यो हाँसो बाँडौं । आफू हाँसौं, अरुलाई पनि हँसाऔं ।’

तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?