+
+

६ किलो कोकिन लिएर आएकी मलेसियाली महिला ठमेलबाट पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ३० गते १९:५७

३० असार, काठमाडौं । मलेसियाकी ४७ वर्षीया बाथुमलाई ओडिवलु १३ जुलाई (२९ असार) मा मलेसियाबाट लाओसको यात्रामा निस्किन्छन् । लगत्तै त्यसै दिन उनी लाओसबाट थाइल्याण्डको बैंकक आइपुग्छिन् ।

२९ असारकै राति ११ : २५ बजे उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिन्छिन् । त्यहाँबाट पहिल्यै बुक भएको ठमेलस्थित एक होटलमा पुग्छिन् । काठमाडौं महानरपालिका–२९ स्थित ठमेलको एक होटलबाट ओडिवलुलाई प्रहरी वृत्त सोह्रखुट्टे र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले ३० असारको बिहान पक्राउ गरेको छ ।

उनको साथबाट ५ किलो ८२० ग्राम लागु औषध कोकिन बरामद भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी वसन्त रजौरेका अनुसार उनले विद्यार्थीहरुले बोक्ने किसिमको स्कुल ब्यागमा फल्स बटम बनाएर ल्याइएको थियो ।

‘पाँच वटा झोलामा फल्स बटम बनाएर ल्याएको अवस्थामा हामीले लागु औषध कोकिन बरामद गरेका हौं’, एसएसपी रजौरेले भने । बरामद कोकिनको अवैध बजार मूल्य २० करोड ३७ लाख हुने प्रहरी अधिकारीहरु बताउँछन् ।

अनुसन्धान अधिकृतका अनुसार पक्राउ परेकी महिलाले ह्वाट्स एपमार्फत कुराकानी गर्ने गरेको र कुराकानीको विवरण हेर्दा बरामद कोकिनको गन्तव्य भारत हो ।

नेपाल आइसकेपछि उक्त कोकिन भारत पठाउने र भारतमा क्रिस्टोफर नाम गरेका व्यक्तिले कोकिनको व्यवस्थापन गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । ‘पक्राउ परेकी महिलाको ह्वाट्स एपको म्यासेजबाट क्रिस्टोफर नाम गरेको व्यक्ति यसमा संलग्न रहेको देखिएको छ । तर उनी को हुन्, उनको वास्तविक नाम के हो भन्ने अनुसन्धान हुन बाँकी नै छ’, एक अनुसन्धान अधिकृतले भने ।

पक्राउ परेकी महिला भरिया मात्रै भएको खुलेको छ । उनले कोकिन नेपालसम्म ल्याउने जिम्मा पाएको अनुसन्धान अधिकारीहरु बताउँछन् । काठमाडौं आइसकेपछि अर्को व्यक्तिले उक्त कोकिन जिम्मा लिने र त्यसलाई भारतसम्म पुर्‍याउने गरेको खुलेको छ ।

कोकिन काठमाडौं ल्याइपुर्‍याएर जिम्मा लगाएपछि ती महिला १९ जुलाईमा मलेसिया फर्कने तयारीमा रहेको पनि खुलेको छ । त्यसका लागि हवाइ टिकटसमेत उनले काटिसकेको पाइएको छ ।

उनी यसभन्दा अघि ५ पटक काठमाडौं आइसकेको देखिएको एसएसपी रजौरेले बताए । पक्राउ परेकी महिलाले अंग्रेजी नबुझ्ने भएकाले अनुसन्धानमा समस्या रहेको प्रहरी अधिकारीहरु बताउँछन् ।

पक्राउ परेकी महिलाविरुद्ध प्रहरीले लागुऔषध नियन्त्रण तथा ओसारपसार ऐन अन्तर्गत अनुसन्धान सुरु गरेको छ । प्रहरी वृत्त सोह्रखुट्टेबाट लागु औषधको कसुरमा उनीविरुद्ध थप अनुसन्धान हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?