+
+

भोलि नै मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ३० गते १५:०६

३० असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने सरकारलाई भोलि नै पूर्णता दिने तयारी भइरहेको छ ।

राष्ट्रपतिको कार्यालयले आइतबार साँझ ५ बजेपछि मात्र ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने भएकाले सोमबार बिहान ११ बजे शपथ समारोह राख्ने तयारी चलिरहेको छ ।

ओलीले आफूले शपथ लिँदा मन्त्रिपरिषदलाई पूर्णता दिन चाहेका छन् । ‘सकेसम्म भोलि नै मन्त्रिपरिषदलाई पूर्णता दिइनेगरी छलफल भइरहेको छ’, ओली निकट स्रोतले भन्यो ।

ओलीले एकैपटक सबै मन्त्री नियुक्त गर्न चाहेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले त्यसैअनुसार छलफल गरिरहेका छन् । ‘ओलीजीले भोलि सबै मन्त्री नियुक्त गर्नुपर्छ भनेपछि पार्टीभित्र र बाहिर छलफल भइरहेको छ । भरे रातिसम्म मन्त्रीहरुको टुंगो लाग्छ’, देउवा निकट एक नेताले भने ।

उनका अनुसार, आइतबार रातिसम्म सम्भव नभए पनि भोलि बिहानसम्म मन्त्रीहरु टुंगो लगाउने गरी देउवा लागिपरेका छन् । साना दलहरु पनि आइतबार नै मन्त्री टुंगो लगाउन छलफलमा छन् ।

पार्टीभित्र आकांक्षी सांसदहरुको संख्या धेरै रहेकाले पनि भोलि एकैपटक मन्त्रिपरिषद पूर्णता दिन लागिएको एमालेका एक नेता बताउँछन् । ‘मन्त्री बन्न योग्य सांसदहरु धेरै हुनुहुन्छ । तर थोरै संख्याबाट मिलाउनुपर्ने भएकाले पनि एकैपटक मन्त्रिपरिषद् विस्तार गर्नुपर्छ भन्नेमा नेताहरु पुग्नुभएको छ’, उनी भन्छन् ।

सरकारमा सहभागी हुने साना दलहरुलाई दिएर बाँकी रहेको मन्त्रालय आधा–आधा गर्नेगरी देउवा र ओलीबीच छलफल भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?