+

अर्जेन्टिना र कोलम्बिया पहिलो पटक कोपाको फाइनलमा भिड्दै

२०८१ असार  ३० गते १६:४५ २०८१ असार ३० गते १६:४५
अर्जेन्टिना र कोलम्बिया पहिलो पटक कोपाको फाइनलमा भिड्दै

३० असार, काठमाडौं । विश्वकै पुरानो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता कोपा अमेरिका २०२४ को उपाधिका लागि अर्जेन्टिना र कोलम्बिया भिड्दैछन् ।

खेल नेपाली समय अनुसार सोमबार बिहान ५ः४५ बजे मायामीस्थति हार्ड रक स्टेडियममा सुरु हुनेछ ।

पहिलो पटक १६ टोलीले प्रतिस्पर्धा गरेको ४८औं संस्करणको फाइनलमा पहिलो पटक नै अर्जेन्टिना र कोलम्बिया भिड्न तयार भएका हुन् ।

साविक विजेता तथा सर्वाधिक १५ पटकको विजेता अर्जेन्टिनाले सेमिफाइनलमा तुलनात्मक रुपमा कमजोर टिम क्यानडालाई २–० ले पराजित गर्दै फाइनल पुगेको हो ।

कोलम्बियाले २३ वर्षपछि पहिलो पटक फाइनल पुग्ने क्रममा अर्जेन्टिना समान १५ पटक उपाधि जितेको उरुग्वेलाई १–० ले पराजित गरेको थियो ।

कोलम्यबाले पछिल्लो पटक सन् २००१ मा कोपाको फाइनल खेल्दा उपाधि नै जितेको थियो । यस पटक कप्तान जेम्स रोड्रिग्वेजको प्रेरणादायी प्रदर्शनमा कोलम्बियाले उत्कृष्ट प्रदर्शन गरिरहेको छ र अर्जेन्टिनालाई स्तब्ध पार्दै दोस्रो पटक च्याम्पियन बन्ने लक्ष्यमा छ ।

उता अर्जेन्टिना अहिले आफ्नो फुटबल इतिहासमै लयमा छ ।

सन् २०२१ मा ब्राजिलमा भएको कोपा अमेरिकाको उपाधि जित्दै २८ वर्षको उपाधि खडेरी तोडेको अर्जेन्टिनाले लगत्तै अर्को वर्ष कतारमा फिफा विश्वकपको उपाधि जित्यो । अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप जितेको थियो ।

अर्जेन्टिना लगातार दोस्रो पटक कोपा तथा समग्रमा तेस्रो मुख्य उपाधि जित्ने लक्ष्यमा छ । त्यसो भएमा अर्जेन्टिनाले तीन मुख्य उपाधि लगातार जित्ने युरोपियन राष्ट्र स्पेनको कीर्तिमान बराबरी गर्नेछ ।

स्पेनले सन् २००८ र २०१२ मा युरो कप तथा २०१० मा विश्वकपको उपाधि जितेको थियो ।

साविक विजेता अर्जेन्टिनाले यस संस्करणमा सबै क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ । अर्जेन्टिनाले क्वाटरफाइनलमा इक्वेडरविरुद्ध १ गोल मात्र बेहोरेको थियो । त्यस खेलमा गोलकिपर इमिलियानो मार्टिनजेल सुटआउटमा दुई पेनाल्टी बचाएका थिए ।

अर्जेन्टिनालाई सन् २०२१ मा कोपा र २०२२ मा विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेलेका मार्टिनजेल पोस्टमा पर्खाल जस्तै छन् ।

यस्तै सम्भवत आफ्नो अन्तिम कोपा खेलिरहेका सुपर स्टार लिओनल मेसीको उपस्थिति पनि अर्जेन्टिनाका लागि प्रेरणा बन्न सक्छ । चोटका बावजुत पनि मेसीले अर्जेन्टिनाको दुवै नकआउट चरणका खेल खेलेका थिए । मेसीले सेमिफाइनलमा गोल समेत गरेका थिए ।

यस्तै सर्वाधिक ४ गोल गरेका लाउटारो मार्टिनेजसँगै जुलियन अल्भारेज रोड्रिगो डे पउल एन्जल डि मारियाजस्ता खेलाडी अग्रपंतिमा छन् भने क्रिस्टियन रोमेरो गोन्जालो मोनिटेल नाहुल मोनिला जस्ता खेलाडी डिफेन्समा छन् ।

अर्कोतर्फ कोलम्बिया सन् २००१ को इतिहास दोहोर्‍याउने लक्ष्यमा छ ।

अर्जेन्टिनाकै प्रशिक्षक नेस्टोर लरेन्जोको प्रशिक्षणमा कोलम्बियाले गज्जबको प्रदर्शन गरिरहेको छ । कोलम्बिया पनि अहिले आफ्नो उत्कृष्ट लयमा छ र लगातार २८ खेलसम्म अपराजित छ । त्यसमध्येको ५ खेल यही कोपामा थियो । जहाँ कोलम्बियाले ४ खेल जित्दा १ खेल बराबरी खेलेको थियो ।

कोलम्बिया हार्ड रक स्टेडियममा अर्जेन्टिनालाई टक्कर दिन तयार छ ।

एकै संस्करणमा सर्वाधिक ६ असिस्ट गर्ने कीर्तिमान बनाएका जेम्स रोड्रिग्वेज पनि उत्कृष्ट लयमा छन् ।

अर्जेन्टिना कोपा अमेरिका कोलम्बिया
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय