+
+

नेपाली चिकित्सक टिमले पाए कलेजो प्रत्यारोपणमा छैटौं सफलता

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ३० गते १७:०३
कलेजो प्रत्यारोपणमा सहभागी

२९ असार, काठमाडौं । नेपाली चिकित्सकको मात्र संलग्नतामा नेपालभित्र छैटौं व्यक्तिको कलेजो प्रत्यारोपण सफल भएको छ ।

त्रिवि शिक्षण अस्पतालमा विदेशी चिकित्सकको सहयोगमा समेत गरेको कलेजो प्रत्यारोपण संख्या १५ पुगेको छ ।

अस्पतालका कलेजो प्रत्यारोपण सर्जन डा. रमेशसिंह भण्डारीका अनुसार पछिल्लो पटक नेपाली चिकित्सकको मात्र संलग्नतामा ३० वर्षका पुरुषको कलेजो प्रत्यारोपण भएको छ । उनलाई उनकै पत्नी २७ वर्षीया महिलाले कलेजो दान गरेकी हुन् ।

‘यो नेपाली सर्जनहरुको टोलीले मात्रै त्रिवि शिक्षण अस्पतालमा गरेको छैटौं प्रत्यारोपण हो । सम्रगमा त्रिविले १५ औं कलेजो प्रत्यारोपण हो’, डा. भण्डारीले भने, ‘कलेजो प्रत्यारोपणमा आत्मनिर्भरतातर्फको पाइला अगाडि बढ्यो ।’

उनले अहिले अंग लिने र दिने दुवैजनाको स्वास्थ्य अवस्था राम्रो रहेको बताए ।

गत २७ पुसमा पहिलो पटक स्वदेशी चिकित्सकहरुको समूहले मात्रै त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण गर्दा त्यसअघि विदेशी चिकित्सकको सहयोगमा १० वटा प्रत्यारोपण भइसकेको थियो । त्यसयताको छ महिनामा नेपाली चिकित्सक टोलीले ६ वटा प्रत्यारोपणमा सफलता हासिल गरेको छ ।

नेपालमा पहिलो पटक २०७३ मंसिर २२ गते मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा दक्षिण कोरियाबाट आएका प्रत्यारोपण शल्य चिकित्सकसहित टिमले कलेजो प्रत्यारोपण गरेको थियो ।

त्रिवि शिक्षण अस्पतालमा भने डा. भण्डारी अष्ट्रेलियाबाट कलेजो प्रत्यारोपणसम्बन्धी अध्ययन गरेर आएपछि २०७६ जेठ १७ मा पहिलो कलेजो प्रत्यारोपण भएको थियो । २०७७ फागुनमा नेपालमै ११ महिनाको बालकमा पनि कलेजो प्रत्यारोपण भइसकेको छ ।

यो उपलब्धिमा त्रिवि शिक्षण अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मीदेखि कर्मचारीहरुको ठूलो साथ र सहयोग रहेको डा. भण्डारीले बताए ।

नेपाली चिकित्सकले नै सफल प्रत्यारोपण गरेसँगै कलेजो प्रत्यारोपणको लागि भारत जानुपर्ने बाध्यता अन्त्य हुने भएको छ । भारतमा ५० देखि ७० लाख रुपैयाँ खर्च लाग्ने कलेजो प्रत्यारोपण नेपालमा २५ लाख रुपैयाँमा सम्भव हुनेछ ।

भण्डारीले स्वदेशी टिम सक्षम बनेपछि महिनामा एउटा प्रत्यारोपण नियमित हुँदै आएको र यसलाई बढाउँदै लानुपर्ने देखिएको बताए ।

अंग प्रत्यारोपणमध्ये कलेजो प्रत्यारोपणलाई बढी जटिल मानिन्छ । नेपालमा वार्षिक २०० हाराहारी कलेजो प्रत्यारोपण गर्नुपर्ने बिरामी रहेको अनुमान छ । प्रत्यारोपण सेवालाई दिगो बनाउन नसके नेपालमा समस्या बढ्दै जाने स्वास्थ्य क्षेत्रका जानकारहरु बताउँछन् ।

शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण हुन्छ भन्ने सन्देश बिरामीमाझ नपुग्नु, पुगे पनि नेपाली विशेषज्ञ टिमको क्षमतामा विश्वास स्थापित हुन नसक्नुलगायत कारण पनि सेवा विस्तारमा बाधक बनेको विज्ञ बताउँछन् ।

यस्तै त्यसबाहेक कलेजो लिने–दिने व्यक्तिको रक्तसमूह, कलेजोको आकार, शरीरको बनावट, कानुनले निर्धारण गरेको पारिवारिक नाता नमिलेका कारण पनि कलेजो प्रत्यारोपण विस्तार हुन नसकेको उनीहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?