+
+

‘अर्थमन्त्री र गभर्नरबीचको सम्बन्ध राम्रो बनाएँ’

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ३० गते १६:५६

३० असार, काठमाडौं ।  अर्थमन्त्री वर्षमान पुनले विगतमा अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका गभर्नर बीचमा रहेको दुरी आफ्नो कार्यकालमा घटेको दाबी गरेका छन् ।

अर्थ मन्त्रालयमा आइतबार आयोजित बिदाइ कार्यक्रममा अर्थमन्त्री पुनले अर्थ मन्त्रालय र राष्ट्र बैंक एक अर्काका प्रतिस्पर्धी नभई समन्वयमा काम गर्नु पर्ने भए पनि विगतमा विविध कारणले त्यसो हुन नसकेको बताए । यसपटक यस्तो अनुभव गर्नु नपरेको उनको भनाइ छ ।

अर्थसचिव मधुकुमार मरासिनी र गभर्नर महाप्रसाद अधिकारीको समन्वयमा केही समयअघि राष्ट्र बैंकले गरेको तेस्रो त्रैमासिक समीक्षाको नतिजा आउन थालेको उनले बताए ।

मौद्रिक नीतिको समीक्षामार्फत गरिएका सुधारले घरजग्गा चलायमान भएको र पूँजीबजार परिसूचकले डेढ वर्ष अगाडिको बिन्दुमा छोएको उनको भनाइ थियो ।

‘अर्थ मन्त्रालय र राष्ट्र बैंकको सहकार्यबाट पछिल्लो नीतिका कारण यो सम्भव भएको हो’, उनले भने ।

आफू १२ वर्षअघि अर्थमन्त्री हुँदा अधिकारी डेपुटी गर्भनर रहेको, ऊर्जामन्त्री हुँदा अधिकारीसँग लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतका रुपमा सँगै काम गरेको र अहिले मन्त्रालयमा आउँदा गभर्नरका रुपमा सहकार्य भएका कारण पनि काममा सहजता आएको उनले बताए ।

‘यो पटक विगतको जस्तो अवस्थामा नआओस् भनेर सुरुदेखि नै सचेत थिएँ । बजेट बनाउने बेलामै सहकार्य भयो । असाध्यै सुमधुर ढंगले पोलिसीहरू बनेका छन् । अहिलेसम्म हामीबीच भएका छलफलका आधरमा वित्तीय नीतिअनुसार मौद्रिक नीति बन्नेमा म विश्वस्त छु । अर्थ मन्त्रालय र राष्ट्र बैंकका बीचमा अनावश्यक प्रतिस्पर्धा हुने स्थिति रहेछ । सोच र कार्यशैलीमा सामान्य फरक हुँदा एक र अर्को निकायबीच समन्वय नहुने स्थितिको अन्त्य भएको छ’, उनले भने ।

आफूहरु दुवै जना एकअर्काको स्वभाव, क्षमता र कार्यशैलीबारे परिचित भएकाले पनि समन्वय गर्न सहज भएको अनुभव उनले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?