+
+

नगरपालिकामा के होला ?

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ३१ गते ८:१३

भोटे ग्याङ काठमाडौं महानगरपालिकाको ढोकैमा पुग्यो । पत्रकार र अन्य मानिसको लावालस्कर पनि पुग्यो । बाँकी मानिसलाई कर्मचारीले बाहिरै रोके । पत्रकार र भोटे ग्याङ भित्र पस्यो । मानिसहरू कराए, ‘हामीले यो मिटिङ लाइभ हेर्न पाउनुपर्छ ।’ हूलमा कसैले भन्यो, ‘नगरपालिकाको बैठक त लाइभ गर्छन्, यो मिटिङ किन लुकाउलान् र !’ ढोकैमा अबिर लिएर बसेका कर्मचारीले सबैको निधारमा सानो टीका लगाइदिए । शहर नै हल्लाइदिने अम्रिकाने काशीको भोटे ग्याङ । सानो स्वागत हुने त कुरै भएन ।

सभा हलमा छिरे सबै । परिचय शुरु भयो । भोटे टोलीले पनि मान्छेकै सिको गरे । काठमाडौं र ललितपुर दुवै ठाउँका मेयर सँगै छन् ।

काठमाडौंका मेयर आज पनि उही सिग्नेचर लुकमा छन् । उही चश्मा, उही कोट । भोटे ग्याङ कम छ र ! उनीहरू पनि मेयरलाई टक्कर दिने गेटअपमा छन् । टिपटप चश्मासहित । चश्मा पनि मेयर ब्रान्ड । मेयरले एक नजर दौडाए भोटेग्याङतिर । सबका सब हिपहप, टिपटप । ‘आइच, दाम्मी छ त !’ वाला लुक दिए मेयरले । ललितपुरका मेयर अलि परिपक्व छन् । उनले पनि सबैलाई मायाले हेरे ।

पशुपक्षीलाई केको साँध, सीमा ! यसैले दुवैतिरका पशुपक्षीको हितका लागि दुई जिल्लाकै मेयर सँगै बैठकमा छन् ।

एकछिन हल शान्त भयो । ‘लौ त मिटिङ शुरु गरौं !’, काठमाडौं का मेयर आफैं अघि सरे । सरदार बाले थपे, ‘ल गरौं गरौं !’ प्रकाश सपुतको ‘गलबन्दी च्यातियो तिम्ले तानेर’ गीतको टोनमा शुरु भयो मिटिङ । काठमाडौंका मेयरले काशीतिर हेरेर भने, ‘काशीजी के कमाल गर्दै हुनुहुन्छ । शहर त तपाईंकै चर्चाले तातेको छ । एकै दिनमा नेपालमा वर्ल्ड फेमस भइदिनुभयो ।’ मेयरले जिस्कँदै तारिफ फर्माए । मेयरको तारिफ सुनेर काशी लजायो । अरू मख्ख परे । जोगिन्दरले कुर्सीबाट फुस्केको पुच्छर बटार्‍यो । पुच्छरको जुरो बनायो । भुसीले चश्मामिलाई । लाखेले टोपी यताउता गर्‍यो । नारदलाई कमिजको बटन मिलाउनैको हैरान । नयाँ कमिजको बटन किन फुस्किन परेको होला । सुफीर सरदार बामु सुमुसु गरे, एकअर्कालाई हेरेर । नगरपालिकाका कर्मचारी पज भएर बसेका छन् । पत्रकारहरू आँखा चिम्ले कुरो चैट् होला जस्तो गरी तैनाथी अवस्थामा छन् ।

ढिलो गरी मिटिङमा आएका भैरव टोलका वडा प्रमुख पनि दङ्ग छन् । आफ्नो वडामा यस्तो बुद्धिमान कुकुर काशी छ । उनको वडा नै शानदार भएको महसुस भइरहेछ प्रमुखलाई ।

काशीले आफ्नो परिचय दियो । आफ्नो भोटे ग्याङको बारेमा सुनायो । कसरी बन्यो भोटे टोली, त्यो कुरा पनि सुनायो । भैरव टोलका कुकुर, बिराला र बाँदरहरूको अवस्था बुझायो । भैरव टोलमात्र होइन, काठमाडौंमै पशु र पक्षीको हराउँदै गएको ठाउँबारे सबैलाई सतर्क गरायो । हराउँदै गएका रुखहरू र रुखको डालीमा गीत गाउने पक्षीहरूको कथा बतायो । ‘हिजैमात्र भक्तपुरमा ठूलो रुख ढालेछन् । रुखको गुँडमा बसेका पक्षीहरू पनि सडकमा पछारिएर छट्पटाएछन् । साना-साना बचेराहरूले प्याकप्याक गर्दै प्राण फाले । मान्छेको संसारमा दया कता हरायो ?’

यति कुरा सुनाएपछि उसले फेरि अम्बाको बोटको कहानी सुनायो । त्यसपछिको सबै हालबेहाल बतायो । सडकमा कुटिएका सुत्केरी कुकुर, पोलमा बाँधिएर पिटीपिटी मारिएका कुकुरहरूको मनै आत्तिने घटना पनि सुनायो । थापाथलीमा खानेकुरा र पानी नपाएर प्याकप्याक परेका बाँदरहरूको व्यथा अलग्गै छ । काशीको कुरा सकिएपछि हल शान्त भयो । सबैका आँखा रसाए । ‘हामी संसारमा आफ्नो ठाउँ खोज्दै हिंड्छौं । यो संसार सबैको हो भन्ने बिर्सन्छौं ।’ ललितपुरका मेयरले यतिमात्र बोले । हल फेरि निकै बेर शान्तभयो ।

ललितपुरका मेयर फेरि बोले, ‘अम्बाको बिरुवा जहाँ काटियो, त्यही ठाउँमा आजै रोपिदिनू । परेको म बेहोर्छु ।’ उनको कुरा सकिएपछि काठमाडौंका मेयरले शुरु गरे, ‘जनावर पार्कको कुरा निकै सिरियस छ । हामीले काठमाडौंभरि पार्क बनाउने विचार गरेका छौं । अब कुनै कुनै पार्क जनावर स्पेसल नै भनेर योजनामा राख्नेछौं । हाम्रो योजना मान्छेबाहेक केही नदेख्ने भइसकेछ । अब हामीले दृष्टिकोण बदल्ने बेला भयो । जनावरलाई पनि बच्चा पाउनुपर्छ । स्याहार चाहिन्छ । परिवार चाहिन्छ । चराहरूको गुँड चाहिन्छ । शहरबाट चराको गीत हराइसक्यो । गाडीको प्वाँप्वाँमात्र सुनेर हिंडेको छ मान्छे । यी सबै कुरा अब योजनामै पार्नेछौं । मान्छेका लागिमात्र होइन, पशुपक्षीका लागि पनि बजेट छुट्याइनेछ । पार्कका लागि जमिन खोज्ने काम आजैबाट शुरु गर्छौं ।’ मेयरले धाराप्रवाह बोले । उनको कुरा सकिएपछि हलमा परर्र ताली बज्यो !

काशीको कुरा देशको सबैभन्दा ठूलो महानगरपालिकामा पुग्यो । उसले रोएको, पिटाइ खाएको, दुःखको आज कति ठूलो मूल्य भयो । मुस्ताङको बाटोमा भेटेर सुफीले टिपेर ल्याएकी । सुफीको जिन्दगीको मायाहो काशी । आज सबैको अघि उसले मानसम्मान पायो । आफ्ना लागि मात्र सोचेन, पृथ्वीकै लागि सोच्न सक्ने भयो । सुफीले काशीलाई हेरिरहिन् । उसको मनमा माया उम्लियो, कराहीमा दूध उम्ले जस्तो । पेम्बाको अनुहार हेर्न लायक छ । यो शहरको साथी, उसको काशी । पेम्बा त खुशीले रुनमात्र सकेको छैन ।

भुसी त्यसै मख्ख छे । जोगिन्दरको त लामो पुच्छर फुस्केर नाच्लाजस्तो भइसक्यो । यति लामो मिटिङमा ऊ कसरी धैर्य गरेको होला । कुरा निकै महङ्खवको छ नि त ! धैर्य नगरेर भयो । मिटिङमा यत्रो कुरा भइरहँदा मुरली भने झुलेर बसेको छ । कति नै पार्टीमा जानेजस्तो गरी मख्ख पर्दै आएको थियो । बाटोमा पेम्बाको ढाडमा बस्दा पनि दङ्ग थियो । मिटिङ शुरु भएपछि उसले हाई काढ्न थाल्यो । मुरलीलाई गफगाफमा फिटिक्क रुचि छैन । काशीले बोलेको, मेयरले बोलेको सबै कुरा पत्रकारहरूले रेकर्ड गरे । के-के हेडलाइन हालेर समाचार बनाउने हुन् !

ढिलो गरी मिटिङमा आएका भैरव टोलका वडा प्रमुख पनि दङ्ग छन् । आफ्नो वडामा यस्तो बुद्धिमान कुकुर काशी छ । उनको वडा नै शानदार भएको महसुस भइरहेछ प्रमुखलाई । लाइभ मिटिङ भयो । संसारले हेरे यो छलफल । पत्रकारहरूले काशीलाई धेरै दुःख दिएनन् । अन्तर्वार्ता लिन पनि खोजेनन् । काशीलाई बोल्न हैन, काम गर्न मनपर्छ । यो कुरा उनीहरूले थाहा पाइसके । ‘मिडियाहरूमा पशुपक्षी स्पेसल रिपोर्टर हुनपर्ने !’, एक जनाले यसै भने । मान्छेको संसारभित्र अरू कति संसार छन् ! अरू संसारका कति थरी कथा छन् । आज दुनियाँले चाल पायो होला ।

(बुकहिलद्वारा प्रकाशित सरला गौतमको उपन्यास अम्रिकाने काशीको पुस्तकअंश)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?